खरानीबाट पुनः जन्मिँदै ‘नक्सा र नाम’ : तुलसीपुर र घोराही मालपोतले पाउँदै पुनर्जीवन
दाङ । असोजको चर्को घाममा दाङको तुलसीपुरस्थित मालपोत कार्यालयको पुरानो भवन अझै पनि धुवाँको गन्ध बोकेर उभिएको छ । पर्खालहरू कालो, फाइलका कोराहरू आधा जलेका, रेकर्डका अक्षरहरू मेटिँदै गएर पनि अझै बोलिरहेका छन्-“यहाँ कहिल्यै थामिएन काम, केवल रूप फेरियो ।”
आगोले खरानी बनाएको कार्यालय अहिले पुनः जीवन फिर्ता पाउँदैछ, नष्ट भएका श्रेष्ता पुनः कायम गर्ने अभियान सुरु भइसकेको छ ।
आगलागीपछि मेटिएको विश्वास
गत भदौको ‘जेन–जी आन्दोलन’ को रौद्र रूपले देशभरका सरकारी संरचनामा गहिरो घाउ छोड्यो । त्यस आगलागीको सबैभन्दा ठूलो दाग पर्यो मालपोतका अभिलेखहरूमा-जहाँ नागरिकको जीवन, जग्गा र पहिचानका कथा सुरक्षित हुन्थे ।
तुलसीपुर मालपोत कार्यालयका सूचना अधिकारी शान्तराज गौतमको स्वर अझै न्यानो छ तर आँखामा त्यो दिनको धुवाँ स्पष्ट देखिन्छ, “हाम्रो कार्यालयमा ४० हजारभन्दा बढी जग्गाधनीका अभिलेख जलेर नष्ट भए । ती फाइलहरू केवल कागज थिएनन्, नागरिक र राज्यबीचको भरोसाको प्रमाण थिए ।” एकै दिनमा हजारौँ जग्गाधनीको कानुनी अस्तित्व ‘खरानी’ बन्यो। मानौँ, एक क्षणमा देशका हजारौँ मान्छे ‘अदृश्य’ भए ।
नक्सा हराए पनि सम्बन्ध बाँकी
आगलागीले कागज मेटायो, विश्वास होइन । त्यसै विश्वासका आधारमा अहिले घोराही र तुलसीपुरका मालपोत कार्यालयहरूले ‘श्रेष्ता पुनः निर्माण’ अभियान सुरु गरेका छन् ।
कार्यालयले सूचना जारी गरी जग्गाधनीहरूलाई सकल जग्गाधनी प्रमाण पुर्जा, नागरिकताको प्रतिलिपि, चालु वर्षको रसिद र यदि रोक्का जग्गा हो भने सम्बन्धित निकायको सहमति लिएर उपस्थित हुन आग्रह गरेको छ ।
गौतम भन्छन्, “जग्गाधनीको कागज र हाम्रो एलआरएमआईएस प्रणाली भिडाएर नयाँ श्रेष्ता तयार गर्दैछौं । फरक परेमा डिएमएस वा तामेलीको अभिलेख हेर्छौं । अन्ततः सबै प्रमाण मिलाएपछि मात्र नयाँ श्रेष्ता प्रमाणित हुन्छ ।” यो केवल प्राविधिक काम होइन, यो स्मृतिको पुनर्जीवन हो । नक्सा हराए पनि मानिस र माटोबीचको नाता अझै बाँकी छ ।
खरानीमाथि फेरी अंकुर
आगलागीपछि कार्यालयका दुवै भवन प्रयोगयोग्य छैनन् तर काम रोकिएको छैन । अधिकारीहरू जलेका टेबलमाथि नयाँ कागज राख्छन्, झुन्डिएका तारबीच फ्यान चलाउँछन् र जनतासँगको भरोसा पुनः लेख्दै छन् ।
घोराही मालपोतका एक कर्मचारी भन्छन्, “हामी कागज होइन, जनताको विश्वास पुनः निर्माण गर्दैछौं । अब हरेक डेटा सुरक्षित हुनुपर्छ। आगोले कागज जलायो तर डेटा जल्न पाउनुहुन्न ।” भवनको एउटा कोठा अस्थायी सेवा केन्द्र बनेको छ-त्यहीँ फाइलका छेउमा ‘नयाँ श्रेष्ता’ प्रिन्ट हुँदैछन् ।
खरानीबाट सिकाइ : डिजिटल नेपालको चेतना
यो घटना केवल दुःखद याद होइन, एउटा ‘सजगताको सन्देश’ पनि हो । अझै पनि देशका धेरै मालपोत कार्यालयमा डिजिटल प्रणाली अपूर्ण छन् । कतै डेटा ब्याकअप छैन, कतै सर्भर कहिले चालु, कहिले बन्द ।
स्थानीय प्रशासनका एक अधिकारी भन्छन्, “यदि सबै रेकर्ड क्लाउडमा सुरक्षित भएका भए, आगलागीले यस्तो क्षति गर्न सक्दैनथ्यो। अब हामीलाई डिजिटल मालपोत अपरिहार्य भएको स्पष्ट छ ।”
अब सरकारले पनि ‘फाइल होइन, फाइलको डेटा जोगाऊँ’ भन्ने नीति अवलम्बन गर्नुपर्ने आवश्यकता देखिएको छ। तुलसीपुरको मालपोत कार्यालयको गेटमा बिहानैदेखि मानिसहरूको भीड लाग्छ ।
हातमा जलिसकेको पुर्जाको टुक्रा, अनुहारमा थोरै डर र ठूलो अपेक्षा । ६५ वर्षिया भगवती चौधरी भन्छिन्, “कागज त जले तर मेरो जग्गा त मै हुँ। सरकार फेरि पुर्जा बनाइदिँदैछ, यही भरोसाले म हरेक दिन आउँछु ।” त्यस्ता सयौँ अनुहारमा एउटै कथा दोहोरिन्छ-राज्यप्रति आशा अझै मरेको छैन ।








