१९ मंसिर २०८२, शुक्रबार

एमाले अध्यक्ष ओलीको व्यङ्ग्य-देश जलाउने पनि तिनै, चलाउने पनि तिनै

प्रकाशित मिति :  9 November, 2025 4:37 pm


काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले नै देश जलाउने कार्य गरेको आरोप लगाउनुभएको छ ।

आइतबार काठमाडौँमा आयोजित राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ‘जेन–जी आन्दोलन’ को नाममा सडकमा उफ्रिनेहरुकै नेतृत्वमा देश जलाउने कार्य भएको बताए ।

उनले अहिले पनि ती व्यक्तिहरु नै राज्यसत्ता सञ्चालनमा पुगेको आरोप लगाउँदै त्यसलाई “देश जलाउने पनि तिनै, चलाउने पनि तिनै” भन्दै ‘तमासा’को संज्ञा दिए ।

अध्यक्ष ओलीले भने, “देश जलाउने पनि तिनै, चलाउने पनि तिनै एउटा तमासा देखिएको छ । जसले जलाउने, त्यसले चलाउने । यस्तो तमासा भईराखेको छ । जलाउनुका पछाडि पनि यिनै थिए । मैदानमा देखिएका थिए । मैदान एक–एक फिट माथि बुरुक्क उफ्रिएकै थिए । अहिले चलाउनेमा पनि कुर्सीमा विराजमान तिनै तत्वहरु देखिएका छन् ।”

उनले हालको सत्ता संयोजन संविधान र लोकतन्त्रविपरीत रहेको दाबी गर्दै युवाहरुलाई मुलुकलाई असाधारण संकटबाट जोगाउन अघि सर्न आह्वान गरे ।

अध्यक्ष ओलीले संविधान र लोकतन्त्रको रक्षाका लागि प्रतिनिधि सभा पुनःस्थापनाको मागसहित आन्दोलनमा जाने एमालेको निर्णय भएको पनि स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस !