निर्णायक क्षणमा राष्ट्र र आन्दोलनको पक्षमा उभिन शंकर पोखरेलको आह्वान
काठमाडाैँ । नेकपा (एमाले) का वैचारिक नेता, महासचिव पदका उम्मेदवार शंकर पोखरेलले पार्टी, आन्दोलन र राष्ट्रको रक्षाका लागि आफूलाई विजयी बनाउन आग्रह गरेका छन् ।
समकालीन नेपाली राजनीतिमा स्थापित, वैचारिक रूपमा स्पष्ट र संगठनात्मक रूपमा सक्षम नेताका रूपमा परिचित पोखरेलले प्रतिनिधिहरुलाई आग्रह गर्दै लेखेका छन्, “पार्टी, आन्दोलन र राष्ट्रको रक्षाका लागि तपाईको अमूल्य मतको अपेक्षा राखेको छु ।”

सादा जीवनशैली, आर्थिक पारदर्शिता र निर्भीक अभिव्यक्तिका कारण छुट्टै पहिचान बनाएका पाेखरेल माक्र्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवाद (जबज) का कुशल व्याख्याता तथा व्यवहारिक कार्यान्वयनकर्ताका रूपमा पार्टीभित्र मात्र होइन, राष्ट्रिय राजनीतिमा समेत दूरदर्शी नेताका रूपमा हेरिन्छ ।
संघर्षबाट नेतृत्वसम्मको यात्रा
वि.सं. २०१९ फागुन १५ गते दाङको तुलसीपुर उपमहानगरपालिका–१९, हाडिमेमा जन्मिनुभएका पोखरेलले जनता संस्कृत माध्यमिक विद्यालय, बिजौरीबाट प्रारम्भिक शिक्षा हासिल गरेका थिए ।
मण्डले दमनका कारण नेपालमै एसएलसी दिन नपाई भारतको बनारस पुगेर प्राइभेट परीक्षार्थीका रूपमा एसएलसी उत्तीर्ण गर्नुभएको उहाँले बनारसबाट स्नातक तथा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर (एमबिए) उपाधि प्राप्त गरेका छन् ।
वि.सं. २०३५ बाट राजनीतिक यात्रामा होमिनुभएका पोखरेल २०३६ को विद्यार्थी आन्दोलनमा सक्रिय रहे । २०३७ देखि पटक–पटक जेल र हिरासत जीवन भोग्दै पनि उनको राजनीतिक प्रतिबद्धता कमजोर भएन ।
अखिल आन्दोलनको संस्थागत विकासमा अग्रणी भूमिका खेल्दै उनले अभानेस्ववियुको स्थापना गरी संस्थापक अध्यक्षको जिम्मेवारी सम्हाले । यही कालखण्डमा जननेता मदन भण्डारीसँगको प्रत्यक्ष सम्पर्क र मार्गदर्शनले उनको वैचारिक धार अझ परिपक्व बनायो।
विद्यार्थी आन्दोलनदेखि पार्टी नेतृत्वसम्म
अनेरास्ववियु वागमती अञ्चल कमिटीको अध्यक्ष हुँदै वि.सं. २०४५ मा त्रिभुवन विश्वविद्यालयको स्ववियु सभापति निर्वाचित पोखरेलले विद्यार्थी हक–अधिकार, शैक्षिक सुधार, प्राज्ञिक स्वतन्त्रता र राजनीतिक चेतनाको विस्तारमा उल्लेखनीय योगदान गरे । देशभरका स्ववियुहरूलाई एकीकृत गर्ने उद्देश्यसहित स्ववियु काउन्सिलको संस्थापक अध्यक्ष बनेर नेतृत्व गरे ।
२०४६ को जनआन्दोलनमा विद्यार्थी मोर्चाबाट निर्णायक भूमिका निर्वाह गरेका उनी अनेरास्ववियुको केन्द्रीय कोषाध्यक्ष, उपाध्यक्ष हुँदै २०४७ मा अध्यक्ष बने । अखिल आन्दोलनसँग जोडिएको पुस्ताका लागि उहाँ आज पनि प्रेरणाको स्रोत मानिन्छन् ।

पार्टी राजनीति : केन्द्रीय सदस्यदेखि महासचिवसम्म
वि.सं. २०५४ मा सम्पन्न नेकपा (एमाले) को छैठौँ राष्ट्रिय महाधिवेशनबाट शंकर पोखरेल केन्द्रीय सदस्यका रूपमा निर्वाचित भए । त्यसपछि सातौँ महाधिवेशनमा पनि केन्द्रीय सदस्यको जिम्मेवारी निरन्तरता दिँदै पार्टी संगठन र वैचारिक कामलाई मजबुत बनाउन सक्रिय रहे ।
आठौँ महाधिवेशनमा उनी केन्द्रीय सचिवमा निर्वाचित भई पार्टीको नीति निर्माण, संगठन व्यवस्थापन र वैचारिक दिशानिर्देशनमा महत्वपूर्ण भूमिका निर्वाह गरे ।
नवौँ महाधिवेशनपछि स्थायी समिति सदस्यका रूपमा जिम्मेवारी पाउँदै पार्टीको केन्द्रीय नेतृत्व तहमा रहेर निर्णायक भूमिकामा रहे ।
पार्टी स्कूल विभागको नेतृत्वमार्फत् वैचारिक प्रशिक्षण, कार्यकर्ता क्षमता अभिवृद्धि, नीति निर्माण र संगठन सुदृढीकरणमा उनको योगदान उल्लेखनीय रह्यो ।
लामो समयको राजनीतिक अनुभव, वैचारिक स्पष्टता र संगठनात्मक दक्षताको मूल्याङ्कन गर्दै वि.सं. २०७८ मङ्सिरमा सम्पन्न नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशनबाट शंकर पोखरेल सर्वसम्मत महासचिवमा निर्वाचित भएका थिए ।
संसदीय र सरकारी भूमिका
वि.सं. २०५१ मा दाङ क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित पोखरेलले निर्वाचनकै क्रममा विजौरी गोलीकाण्डजस्तो जटिल र पीडादायी परिस्थितिको सामना गरे । संसदमा जनसरोकारका विषयमा निर्भीक आवाज उठाउने सांसदका रूपमा उनी ‘पँजेरो सुविधा’ को प्रतिवाद गर्ने पहिलो सांसदका रूपमा चिनिन्छन् ।
प्रथम कम्युनिस्ट सरकार (मनमोहन अधिकारी) कालमा पार्टी प्रचार विभाग प्रमुखको जिम्मेवारी सम्हालेका पोखरेलले सशस्त्र द्वन्द्व उत्कर्षमा राप्ती अञ्चलमा शान्ति पदयात्राको नेतृत्व गरे ।
वि.सं. २०६६ मा सूचना तथा सञ्चार मन्त्री तथा सरकारका प्रवक्ताका रूपमा उनले नेपालको भू–उपग्रह (स्पेस) अधिकार फिर्ता गराउने ऐतिहासिक योगदान दिए । दूरसञ्चार विस्तार, सूचना महामार्ग अवधारणा र सञ्चार क्षेत्रको व्यवस्थापनमा उनको भूमिका उल्लेखनीय रह्यो ।
लुम्बिनी प्रदेशको संस्थापक मुख्यमन्त्री
२०७४ को निर्वाचनबाट दाङ २ (क) बाट प्रदेश सभा सदस्य निर्वाचित भई प्रदेश नं. ५ (हाल लुम्बिनी) का संस्थापक मुख्यमन्त्री बनेका पोखरेलले “समृद्ध प्रदेश, खुसी जनता” को स्पष्ट कार्यदिशा अघि सारे ।
प्रदेशको नाम र राजधानी सहमतिमा टुंग्याउने सफल नेतृत्व, पूँजीगत खर्च सतप्रतिशत र बेरुजु शून्य कायम गर्नु उनको कार्यकालका उल्लेखनीय उपलब्धि मानिन्छन् ।
वैचारिक र सिर्जनात्मक योगदान
मदन भण्डारीद्वारा विश्वास गरिएका जबजका प्रमुख व्याख्याता पोखरेलले वि.सं. २०५९ मा संविधानसभाबाट राजनीतिक निकासको प्रस्ताव अघि सार्दै राष्ट्रिय सहमतिको आधार निर्माणमा भूमिका खेले । गणतन्त्रको पक्षमा त्रिचन्द्र क्याम्पसबाट पहिलो सार्वजनिक आह्वान र नवौँ महाधिवेशनमा रूपान्तरणीय आर्थिक–सामाजिक विकास अवधारणाको नेतृत्व उनका महत्वपूर्ण वैचारिक योगदान हुन्।
संविधानसभा, राज्यको पुनःसंरचना र समावेशी लोकतन्त्र सहित युगलहर, सिमानापारिको हुँकार, राष्ट्रिय विकल्प, राष्ट्रिय सङ्कल्प र एक्काइसौँ शताब्दी जस्ता कृतिहरू मार्फत उनले नेपाली राजनीतिमा वैचारिक बहसलाई थप समृद्ध बनाएका छन् । पार्टी मुखपत्र नवयुग का प्रधान सम्पादकका रूपमा पनि उनको योगदान उल्लेखनीय छ।
पार्टी एकता, संगठन सुदृढीकरण र राष्ट्रको दीर्घकालीन हितका लागि स्पष्ट विचार र अनुभवी नेतृत्व आवश्यक रहेको सन्देश दिँदै पोखरेलले प्रतिनिधिहरूसँग दृढ समर्थनको अपेक्षा गरेका छन् ।









