२७ असार २०८३, शनिबार

होल्डिङ सेन्टरमा बाढी पस्दा सुकुम्बासीको बिचल्ली, पीडित भन्छन्, ‘अब नदीमा हाम फाल्नुको विकल्प छैन’

प्रकाशित मिति :  11 July, 2026 7:52 pm


काठमाडौं। काठमाडौंका सुकुम्बासीलाई स्थानान्तरण गरी राखिएको कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बाढी पसेपछि त्यहाँ आश्रित परिवारहरूको बिचल्ली भएको छ।

१५ दिनभित्र स्थायी व्यवस्थापन गर्ने सरकारी प्रतिबद्धता तीन महिना बितिसक्दा पनि पूरा नभएको र असुरक्षित स्थानमा राखिएको भन्दै पीडितहरूले आक्रोश व्यक्त गरेका छन्। मध्यराति करिब १२ः४० बजेदेखि होल्डिङ सेन्टरमा बाढी पस्न सुरु भएपछि बालबालिका, ज्येष्ठ नागरिक र दीर्घरोगीहरू थप जोखिममा परेका छन्।

पीडित दलमर्दन कामीले सरकारले खाजाका नाममा एउटा मिठाइ बाँड्नुबाहेक कुनै राहत नदिएको आरोप लगाए। आफूहरूलाई पहिले बसेको स्थानमा समेत जान नदिएको भन्दै उनले बाढीका कारण रातभर जाग्राम बस्नुपरेको बताए।

कामीले भने, ‘यो खालको बर्बरता कहिलेसम्म ? हामी अब मर्ने बेला भइसक्यो, सेरिने बेला भइसक्यो, नदीमा हाम फाल्ने बेला भइसक्यो। निमोनियाका बिरामी, मिर्गौलाका रोगी आमा, दिदीबहिनीहरू हुनुहुन्छ। आफन्तलाई भेट्न पनि दिइएको छैन।’

स्थानीय पीडित कान्छीमाया घलानले सुतिरहेको अवस्थामा अचानक बाढी पसेपछि लुगाफाटा र खाद्यान्न जोगाउनसमेत मुस्किल परेको बताइन्। बाढीका कारण अधिकांशको ओढ्ने–ओछ्याउने तथा दैनिक उपभोग्य सामग्री पूर्ण रूपमा भिजेर नष्ट भएको उनले बताइन्।

घलानका अनुसार बाढी पसेपछि छाता र हातमा रहेको मोबाइलबाहेक अन्य सामान निकाल्नसमेत समय मिलेन्। सुरक्षाकर्मीहरू बिहान करिब ३ बजे मात्र उद्धारका लागि पुगेको उनले बताइन्। १५ दिनका लागि भन्दै घर भत्काएर ल्याइए पनि तीन महिना बित्दासम्म उचित व्यवस्थापन नभएको उनको गुनासो छ।

घलानले भनिन्, ‘हामीलाई पनि बाँच्ने इच्छा छ, हाम्रा पनि बालबच्चा छन्। हाम्रो ठाउँमा सरकार भएको भए थाहा हुन्थ्यो। सरकारले हाम्रो समस्या बुझेन। हामी कुकुर–बिरालो होइनौँ। हामी कसैको लालपुर्जा भएको जग्गा मिचेर बसेका थिएनौँ।’

अर्की एक पीडितले १५ दिनका लागि भनेर ल्याएर महिनौँसम्म उचित व्यवस्थापन नगरेको भन्दै सरकारको आलोचना गरिन्। सरकारले आफूहरूमाथि अन्याय गरेको र अहिलेको अवस्था राज्यकै लापरबाहीको परिणाम भएको उनको भनाइ थियो।

ती पीडितले भनिन्, ‘यो सरकारले गर्दा हाम्रो जीवन नै बर्बाद हुने भयो। सरकारमा भएकाहरू पनि एक दिन मर्नुपर्छ भन्ने हेक्का राखून्। हामीलाई ढाँटेर किन यस्तो गरियो ?’

अर्का पीडित डम्बर तामाङले बाढीका कारण करिब एक लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको बताए। चप्पलसमेत नभएकाले बालबालिका खाली खुट्टै हिँड्न बाध्य भएको उनको भनाइ छ।

तामाङले भने, ‘सामान निकाल्नसमेत पाइएन, सबै हिलोले पुरियो। सुरक्षाकर्मीहरू उद्धारका लागि समयमा आइपुगेनन्, हामी आफैँले ज्यान जोगायौँ।’

होल्डिङ सेन्टरमा मुटुरोगी, मिर्गौलाका बिरामी तथा दमका बिरामीसमेत रहेकाले चिसो र ओसिलो वातावरणका कारण उनीहरूको स्वास्थ्य अवस्था थप जोखिममा परेको छ। पीडितहरूका अनुसार १५ दिनका लागि भन्दै सारिए पनि तीन महिनासम्म स्थायी व्यवस्थापन हुन सकेको छैन। सुरक्षाकर्मीहरूले बाहिर निस्कनसमेत अवरोध गरेको र अमानवीय व्यवहार गरेको उनीहरूको गुनासो छ।

यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता ओजश्वीराज थापाले व्यवस्थापनमा केही प्राविधिक कमजोरी भएको स्वीकार गरे। प्रभावित परिवारका लागि खाना, डसना, ब्ल्याङ्केट र स्वास्थ्य सेवाको व्यवस्था भइरहेको उनले बताए।

थापाले भने, ‘बाढीले समस्या निम्त्याएको सत्य हो। राज्यले यसको जिम्मेवारी लिनुपर्छ। हामी अहिले तत्कालका लागि आधारभूत आवश्यकता पूरा गर्न र दीर्घकालीन व्यवस्थापनका लागि उपयुक्त स्थान पहिचान गर्न केन्द्रित छौँ।’

वर्षायाममा सुरक्षित आवासको अभाव झेलिरहेका सुकुम्बासी परिवारहरूले तत्काल सुरक्षित व्यवस्थापन र क्षतिको क्षतिपूर्ति माग गरेका छन्। सरकारले समयमै संवेदनशील भएर समस्या समाधान नगरे अवस्था अझ जटिल बन्न सक्ने उनीहरूको चेतावनी छ।

– न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !