इलाममा १ हजार ५०४ किलो गाँजासहित ट्रक बरामद
काठमाडौँ । इलाम प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय इलामका अनुसार इलाम नगरपालिका–९ भञ्ज्याङस्थित मेची राजमार्गबाट १ हजार ५०४ किलो गाँजासहित फुलबडी ट्रक नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार २०८३ असोज ६ गते साँझ करिब ६ः३५ बजे प्रहरी चौकी गोलाखर्कबाट खटिएको टोलीले राजदुवाली सडकको अवस्थाका कारण ठूला सवारीसाधनलाई कञ्चनजंघा सडकखण्डतर्फ डाइभर्सन गराउँदै थियो। सो क्रममा ना.४ ख ८९९६ नम्बरको ट्रक राजदुवालीतर्फ अघि बढेपछि प्रहरीले रोक्न खोजेको थियो।
प्रहरीले रोक्न सम्झाउने क्रममा चालकले ट्रक स्टार्ट अवस्थामै छाडेर फरार भएका थिए । प्रहरी निरीक्षक देवीदत्त मोतेको कमान्डमा खटिएको प्रहरी टोलीले ट्रक जाँच गर्दा फल्स बटम बनाएर त्रिपालले छोपिएको अवस्थामा बोराभित्र लुकाइएको गाँजा फेला पारेको जनाएको छ।
ट्रकलाई जिल्ला प्रहरी कार्यालय इलाममा ल्याएर तौल गर्दा ४१ वटा बोरामा १ हजार ५०४ किलो ६१० ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ।
बरामद गाँजा र ट्रक नियन्त्रणमा लिएर प्रहरीले फरार चालकको खोजी गरिरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।









