७ आश्विन २०८३, बुधबार

हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)

प्रकाशित मिति :  23 September, 2026 11:33 am


काठमाडौँ । काठमाडौँको ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको इन्द्रजात्रा पर्व हनुमानढोका दरबार परिसरमा विधिवत रुपमा इन्द्रध्वजा (लिङ्गो) ठड्याएसँगै औपचारिक रुपमा शुरु भएको छ ।

पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको शुभसाइतअनुसार बुधवार लिङ्गो ठड्याइएको हो । इन्द्रध्वजोत्थानको विशेष समारोहमा नेपाली सेनाको श्री शार्दूल जङ्ग गुल्मले तोप पड्काएर र बन्दुकको सलामी अर्पण गर्दै राजकीय सम्मान प्रदान गरेको थियो ।

लिङ्गोको टुप्पोमा नागदेवताको प्रतिकस्वरुप ध्वजा फहराइएको छ भने फेदमा अष्टमातृका र इन्द्र भगवानको सुनौलो प्रतिमा राखी विशेष पूजा गरिएको छ । भक्तपुर र काभ्रेको सिमानास्थित चित्तपोलको जङ्गलबाट धार्मिक विधिपूर्वक काटिएको रानी सल्लाको काठलाई विशेष पूजापाठ गरी नगर प्रवेश गराएपछि हनुमानढोका पु¥याइएको थियो ।

वर्षा र उर्वरताका देवता इन्द्रको सम्मान र विजयको प्रतिकका रूपमा मनाइने यो जात्राले काठमाडौंको जनजीवनलाई केही दिनका लागि उत्सवमय बनाउनेछ । जात्रा अवधिभर पुलुकिसी नाच, मजिपाः लाखे, महाकाली नाच, भक्कुनाच र दशअवतार नाटकजस्ता परम्परागत कला प्रदर्शन गरिनेछन् । साथै, आकाश भैरव, श्वेत भैरव र बाकादेय् भैरवका मूर्तिहरू सार्वजनिक दर्शनका लागि राखिने छन् ।

जात्राको मुख्य आकर्षण मानिने जीवित देवी श्री कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा असोज ९ गते शुक्रवार ‘क्वनेया’ (तल्लो टोल यात्रा) बाट शुरु हुनेछ । राष्ट्रप्रमुखको हैसियतमा राष्ट्रपतिले गद्दी बैठकबाट रथयात्रा अवलोकन गर्ने परम्परा छ । त्यसैगरी, असोज १० गते ‘थनेया’ (माथिल्लो टोल यात्रा) र असोज १३ गते महिलाहरूद्वारा रथ तानिने ‘नानीचा यात्रा’ पछि इन्द्रध्वजा ढालेर जात्रा समापन हुनेछ । विश्व सम्पदा सूचीमा रहेको वसन्तपुर दरबार क्षेत्रलाई झकिझकाउ पारिएको छ । ३१ वटा गुठी खलःको सहभागितामा भइरहेको यस पर्वले आन्तरिक तथा वाह्य पर्यटकलाई समेत लोभ्याउने गरेको छ ।
तस्बिरहरुः अनुप प्रधान–न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !