एनसेल ग्राहकलाई ट्रान्क्विलिटी स्पामा ‘बाइ वान गेट वान’सहित २५ प्रतिशतसम्म छुट
काठमाडौं, असोज २० । एनसेलका ग्राहकले ट्रान्क्विलिटी स्पाका विभिन्न स्पा तथा सौन्दर्य सेवामा ‘बाइ वान गेट वान’ अफरसहित २५ प्रतिशतसम्म छुट पाउने भएका छन्। एनसेल र ट्रान्क्विलिटी स्पाबीच भएको साझेदारीअन्तर्गत ग्राहकका लागि विभिन्न सुविधा सार्वजनिक गरिएको हो।
साझेदारीअनुसार ४९९ रुपैयाँ वा सोभन्दा बढी मूल्यको प्रिपेड प्याक वा पोस्टपेड प्लान खरिद गर्ने ग्राहकले ट्रान्क्विलिटी स्पाका सिग्नेचर मसाज, बडी स्क्रब, शिरोधारा र प्रिमियम केयर फेसियलमा ‘बाइ वान गेट वान’ अफर पाउनेछन्। यसअन्तर्गत एक जनाले तिरेको मूल्यमा दुई जनाले तोकिएका सेवा लिन सक्नेछन्।
यस्तै, तोकिएको प्याक वा प्लान प्रयोग गर्ने र एक्लै सेवा लिने ग्राहकले स्पा सेवामा २५ प्रतिशत तथा ब्युटी सेवामा २० प्रतिशत छुट पाउनेछन्। यी सुविधा नेपाली नागरिकका लागि मात्र उपलब्ध हुने एनसेलले जनाएको छ।
९९ रुपैयाँदेखि ४९९ रुपैयाँभन्दा कम मूल्यका प्रिपेड प्याक वा पोस्टपेड प्लान प्रयोग गर्ने ग्राहकलाई पनि साझेदारीअन्तर्गत छुटको व्यवस्था गरिएको छ। युवा तथा अन्य ग्राहकले स्पा सेवामा एकमुस्ट २० प्रतिशत छुट पाउनेछन्। त्यस्तै, पर्यटकले स्पा सेवामा १० प्रतिशत छुट लिन सक्नेछन्।
एनसेलका अनुसार ग्राहकले आफूले खरिद गरेको प्याक वा प्लानका आधारमा पाउने सुविधाको विवरण एनसेल एपमार्फत हेर्न सक्नेछन्। अफरको लाभ लिन एप खोलेर ‘पार्टनर्ड सर्भिसहरू’मा गई ट्रान्क्विलिटी स्पा छनोट गर्नुपर्नेछ। त्यसपछि आधिकारिक आउटलेटमा पुगेर एपमा उपलब्ध लाभ रिडिम गर्न सकिनेछ।
अफरका लागि योग्य नभएका ग्राहकले तोकिएको मूल्यको प्याक वा योजना खरिद गरेपछि सम्बन्धित सुविधा लिन सक्ने कम्पनीले जनाएको छ। यसबाट ग्राहकले आफ्नो मोबाइल सेवा प्रयोगका आधारमा स्पा तथा सौन्दर्य सेवामा छुट प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ।
एनसेल र ट्रान्क्विलिटी स्पाबीचको साझेदारी सम्झौता हालै एक कार्यक्रमबीच आदानप्रदान गरिएको थियो। एनसेलका प्रोडक्ट्स डाइरेक्टर ललित शारडा र ट्रान्क्विलिटी स्पाका चिफ अपरेटिङ अफिसर रनिल फैजुले साझेदारीसम्बन्धी सम्झौता आदानप्रदान गरेका थिए।
एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ताले कम्पनीको ग्राहक सेवा अब मोबाइल कनेक्टिभिटीमा मात्र सीमित नरहेको बताए। ग्राहकलाई दैनिक जीवनसँग सम्बन्धित विभिन्न सेवा तथा अनुभवमा थप मूल्य उपलब्ध गराउने उद्देश्यअनुसार साझेदारी विस्तार गरिएको उनको भनाइ छ।
“हाम्रो ध्यान कनेक्टिभिटीमा मात्र सीमित नभई ग्राहकहरूका लागि अर्थपूर्ण मूल्य सिर्जना गर्नमा केन्द्रित छ,” दत्ताले भने, “वेलनेस अनुभवहरूलाई एनसेलको इकोसिस्टममा ल्याएर लाभहरूलाई थप सान्दर्भिक र पहुँचयोग्य बनाउने लक्ष्य राखेका छौँ।”
उनका अनुसार ट्रान्क्विलिटी स्पासँगको सहकार्यले ग्राहक संलग्नता बढाउनुका साथै एनसेलका सेवासँग जोडिएका अतिरिक्त सुविधा विस्तार गर्न सहयोग गर्नेछ।
एनसेलले ग्राहकलाई मोबाइल सेवा प्रयोगसँगै विभिन्न व्यवसाय तथा सेवा प्रदायकका उत्पादन र सेवामा सुविधा उपलब्ध गराउने उद्देश्यले ‘पार्टनर इकोसिस्टम’ विस्तार गर्दै आएको जनाएको छ। कम्पनीका अनुसार ट्रान्क्विलिटी स्पासँगको सहकार्य पनि यही कार्यक्रमअन्तर्गत गरिएको हो।
यस साझेदारीबाट फरक–फरक मूल्यका प्याक तथा प्लान प्रयोग गर्ने ग्राहकलाई उनीहरूको योजनाअनुसार छुट तथा सेवा उपलब्ध हुनेछन्। स्पा, ब्युटी तथा वेलनेस सेवामा ग्राहकको पहुँच विस्तार गर्ने उद्देश्यले ल्याइएको यो योजनामा ग्राहकले एनसेल एपमार्फत आफ्नो उपलब्ध सुविधा पहिचान गरी सम्बन्धित आउटलेटमा प्रयोग गर्न सक्नेछन्।









