२१ बैशाख २०८१, शुक्रबार

रोल्पाका पुराना कम्युनिष्ट नेता एवं पूर्वसांसद बरमन बुढाको पशुपति आर्यघाटमा अन्त्यष्टि

प्रकाशित मिति :  22 July, 2020 6:38 pm


काठमाडौं, ७ साउन ।

रोल्पाका पुराना कम्युनिष्ट नेता एवं पूर्वसांसद बरमन बुढाको पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ ।

आज बिहान उपचारका क्रममा ललितपुरको पाटन अस्पतालमा निधन भएका बुढाको विद्युतीय शवदाह गृहमा अन्त्यष्टि गरिएको हो । अन्त्यष्टि गर्नुअघि उपराष्ट्रपतिसहित विभिन्न दलका नेता तथा शुभचिन्तकहरुले अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

बुढाको पार्थिव शरिरमा उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ‘ले राष्ट्रिय झण्डा ओढाएका सम्मान व्यक्त गरेका थिए भने नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको झण्ड ओढाएका थिए ।

पूर्व सांसद बुढाको निधन प्रति विभिन्न दलका नेता तथा व्यक्तिहरुले दुःख व्यक्ति गरेका छन् । सभामुख अग्निप्रसाद सापकोटाले अग्निप्रसाद सापकोटाले पूर्व सांसद एवम् पुराना कम्युनिष्ट नेता बुढाको निधनले आफूलाई दुखित तुल्याएको बताएका छन् । सापकोटाले बुढाप्रति श्रद्धाञ्जली अपर्ण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट (पार्टी) नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक विज्ञप्ति जारी गर्दै दुःख व्यक्त गरेका छन् । उनले भनेका छन्, नेपाली मुक्तिकामी आन्दोलनका अविचलित र अथक योद्धा कमरेड बुढाको विशेष गरी रोल्पाली जनताको मुक्तिकामी आन्दोलनमा ऐतिहासिक योगदान रहेको छ । सामन्तवाद विरोधी नेपाली जनताको मुक्तियुद्धमा उहाँ जहिले पनि अग्रमोर्चामा रहनुभयो ।
अध्यक्ष प्रचण्डले बुढाको निधनले नेपाली मुक्तिकामी आन्दोलनले एक अभिभावक गुमाएको उल्लेख गरेका छन् ।

पूर्वसभामुख कृष्णबहादुर महराले एक विज्ञप्ति मार्फत श्रद्धाञ्जली व्यक्त गरेका छन् । महराले २०४८ सालमा संगै संसदमा निभएको भूमिका स्मरण गरेका छन् । बुढालाई आफूले सधै एक कम्युनिष्ट आदर्श तथा अडिक र निडर व्यक्तिको रुपमा सम्झिरहने उल्लेख गरेका छन् ।

रोल्पा निवासी पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक देवेन्द्र सुवेदीले पनि पूर्व सांसद बुढाको निधनप्रति दुःख व्यक्त गरेका छन् । रोल्पाबाट २०१५ सालमा सांसद निर्वाचित आफ्ना बुवा खडानन्द सुवेदीका पारिवारिक मित्र रहेको भन्दै बुढाको निधनप्रति पूर्व एआईजी सुवेदीले दुःख व्यक्त गरेका छन् । पूर्व एआईजी सृवेदीले बुढाले २०४८ सालमा चुनाव जित्दा आफ्ना दाजु नारायण सुवेदी चुनावी कमाण्डर रहेको समेत स्मरण गरेका छन् ।

बुढाको आज बिहान ९० वर्षको उमेरमा निधन भएको थियो । आन्द्राको क्यान्सर भएको एक वर्षअघि रोग पत्ता लागेपछि काठमाडौँमा बसेर उनले उपचार गराइरहेका थिए । केही दिनअघि रोगले च्यापेपछि थप उपचारका लागि पाटन अस्पतालमा भर्ना गरिएकामा आज विहान निधन भएको थियो ।



प्रतिक्रिया दिनुहोस !