१५ चैत्र २०८०, बिहिबार

४०० केभी क्षमताको तामाकोशी–काठमाडौं प्रसारण लाइन निर्माण हुने

प्रकाशित मिति :  13 October, 2020 5:36 pm


काठमाडाैं, २७ असाेज । 

तामाकोशी करिडोर नेपालको जलविद्युत्का लागि परिचित क्षेत्र हो । सोही करिडोरमा यतिबेला राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् परियोजना निर्माण सकिने क्रममा छ । कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाबाट उत्पादित विद्युत् निकट भविस्यमा नै राष्ट्रिय प्रसारण प्रणालीमा जोडिँदैछ । सोही करिडोरमा १०० मेगावाट क्षमताको तामाकोशी पाँचौँको निर्माण शुरु हुनै लागेको छ । यस्तै झण्डै ८८० मेगावाट क्षमताको तामाकोशी तेस्रोलगायत अन्य आयोजनासमेत निकट भविष्यमा निर्माणमा जाने तयारी छन् ।

निजी क्षेत्रले निर्माण सम्पन्न गरेका र निर्माणमा जान लागेका आयोजनाको सङ्ख्या झण्डै एक दर्जनको हाराहारीमा रहेको छ । माथिल्लो तामाकोशीको बाँधस्थल लामाबगरभन्दा माथिल्लो तटीय क्षेत्रमा समेत थप दुई आयोजना अध्ययनको क्रममा छन् । त्यस्तै, दोलखा र रामेछापमा पनि अन्य आयोजना निर्माणाधीन तथा निर्माणमा जाने तयारी छन् । ती सबै आयोजनाबाट उतपादित हुने विद्युत्लाई राष्ट्रिय प्रसारण प्रणाली जोडेर बढी माग हुने क्षेत्रमा पु¥याउनका लागि सबैभन्दा महत्वपूर्ण हुन जान्छ प्रसारण लाइन ।

माथिल्लो तामाकोशीबाट उतपादन हुने विद्युत् रामेछापको न्यू खिम्ती सवस्टेशनबाट सिन्धुली, महोत्तरी हुँदै धनुषाको ढल्केबरमा पु¥याएर मात्रै राष्ट्रिय प्रसारण प्रणालीमा जोडिन्छ । प्रसारण लाइन तथा अन्य संरचनाको अभावमा विद्युत् घुमाउनु परेको छ ।यही अवस्थालाई मध्यनजर गरेर सरकारले ४०० केभी क्षमताको तामाकोशी–काठमाडौँ प्रसारण लाइन निर्माण गर्ने प्रक्रिया अगाडि बढाएको छ । नेपाल सरकार, नेपाल विद्युत् प्राधिरकण तथा एशियाली विकास बैंकको ऋण तथा अनुदान सहयोगमा उच्च क्षमताको प्रसारण लाइन निर्माण गर्न थालिएको हो ।

राष्ट्रिय प्राथमिकता प्राप्त तामाकोशी–काठमाडौं २२०÷४०० केभी क्षमताको प्रसारण लाइन आयोजनाले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनालगायत अन्य सार्वजनिक निजी क्षेत्रका आयोजनाबाट उत्पादित विद्युत् प्रवाह गर्नेछ । यस्तै रामेछाप, दोलखा र सिन्धुपाल्चोक जिल्लामा निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण प्राणलीमा जोडिने भएको छ । न्यू खिम्तीदेखि काठमाडौँसम्म कूल ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुनेछ ।रासस



प्रतिक्रिया दिनुहोस !