८ जेष्ठ २०८१, मंगलबार

सागमा पदक विजेता खेलाडीको पुरस्कार रकममा वृद्धि हुने

प्रकाशित मिति :  26 November, 2019 4:31 pm


काठमाण्डौं, मंसिर १० । सरकारले दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेता खेलाडीको पुरस्कार रकममा वृद्धि गर्ने भएको छ ।
मंगलबार काठमाडौंमा साग खेल्ने खेलाडीलाई सम्बोधन गर्दै अर्थमन्त्री युवराज खतिवडाले पुरस्कार रकम वृद्धि हुने बताउनुभएको हो । सागको पुरस्कार राशिमा उलेख्य वृद्धि हुने भन्दै यसका लागि खेलकुद मन्त्रीले प्रस्ताव गर्नुपर्ने उहाँले जानकारी दिनुभयो ।

अर्थमन्त्री खतिवडाले मन्त्रिपरिषदबाट पारित नभई यति रकम वृद्धि हुने भनेर भन्न नसकिने बताउनुभयो । यस अघि सरकारले १२ औं सागमा स्वर्ण विजेतालाई ३ लाख पुरस्कारबाट पुरस्कृत गरेको थियो । यस्तै रजत विजेतालाई २ लाख र कास्य पदक विजेतालाई १ लाखले पुरस्कृत गरेको थियो । अर्थमन्त्री युवराज खतिवडाले सरकारले सुबिधा सम्पन्न भलिवल कभर्डहल बनाउने जानकारी गराउनुभयो । सरकारले तीन वर्षअघि भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको थियो ।

तर, नेपालमा सुबिधा सम्पन्न कभर्डहल नहुदा खेलाडीले प्रशिक्षणमा समस्या भोग्दै आइरहेका छन् । त्यस्तै उहाले नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) लाई भ्रमण वर्ष २०२० को पूर्व अभ्यासको रुपमा सरकारले लिएको धारणा पनि राख्नुभयो ।
कार्यक्रममा खेलकुदमन्त्री जगत बिश्वकर्माले साग खेलका लागी पूर्वाधारको कमी नहुने बताउनुभयो । उहाले अव नेपालमा खेलकुद पूर्वाधारहरुको निर्माणले तिव्रता पाउने दाबी गर्नुभयो ।

यही मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं, पोखरा र जनकपुरमा हुने १३ औं सागमा नेपालका पाँच सय ९३ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । नेपालले सागमा समावेश सबै २८ खेलमा प्रतिस्पर्धा गर्दैछ ।यसअघि सन् १९९९ मा काठमाडौंमा आठौं दक्षिण एसियाली खेलकुद आयोजना हुदा नेपालले ३१ स्वर्ण पदकका साथ दोस्रो स्थान हासिल गरेको थियो । पदकको हिसाबले यो साग ऐतिहासिक हुने नेपाली टिम तयारी समितिको दावी छ ।



प्रतिक्रिया दिनुहोस !