४ बैशाख २०८१, मंगलबार

सौराहामा अपेक्षाभन्दा बढी आन्तरिक पर्यटक भित्रिन थाले

प्रकाशित मिति :  31 October, 2020 12:50 pm


चितवन, १५ कार्तिक ।

लामो समयदेखि सुनसान रहेको सौराहामा एक्कासी चहलपहल छाएको छ ।

लकडाउन र निषेधाज्ञापछि पर्व बिदा समेत परेकाले पर्यटकको चहलपहल बढेको हो । दशैँको टीकाको दिनयता राप्ती किनारका पबहरुमा आन्तरिक पर्यटक बढेका छन् भने होटल बुकिङ भईरहेका छन् । व्यवसायीले अपेक्षा गरेभन्दा बढी पर्यटक सौराहामा आइरहेका छन् ।

क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार ३० देखि ३५ प्रतिशत होटल बुकिङ भइरहेका छन् । सुनसान अवस्थामा एकाएक पर्यटक आएपछि बिदामा रहेका कर्मचारी डाकेर होटल सञ्चालकले व्यवस्थापन गरिरहेका छन् ।  काठमाण्डौं, पोखरा, वीरगन्ज, बुटवल, नेपालगञ्ज लगायतका क्षेत्रबाट पारिवारिक र समूहगत रुपमा युवाहरु यहाँ आएको भट्टराईको भनाइ छ ।

गएको चैत ११ गतेबाट बन्द रहेका सौराहाका होटलहरु बीचमा केही समय खुलेको भए पनि पर्यटक आएका थिएनन् । सौराहामा ११० होटल छन् जसमध्ये एक सय हाराहारीले सेवा शुरु गरेका छन् ।

पर्यटक आएसँगै दैनिक चितवन राष्ट्रिय निकुञ्जभित्र जीप सफारी, स्थानीय सामुदायिक वनमा हात्ती सफारी शुरु भएको छ । सौराहाबाट काठमाण्डौं आवतजावत गर्ने पर्यटक बस पनि सञ्चालनमा आएका छन् ।

 



प्रतिक्रिया दिनुहोस !