२३ मंसिर २०८१, आइतबार

१३औँ साग : फुटबल रङ्गशालामा १० हजार कुर्सी

प्रकाशित मिति :  29 November, 2019 10:47 pm


काठमाडाैं, १३ मंसिर

आसन्न १३ औँ दक्षिण एशियाली खेलकूद (साग) लाई लक्षित गरेर पोखरामा निर्माणाधीन फुटबल रङ्गशालाको प्यारापिटमा १० हजार सिट जडान गरिएको छ । सागअन्तर्गत महिला फुटबल यही रङ्गशालामा खेलाइने भएपछि मैदानको पूर्व र पश्चिमतर्फ प्यारापिटसहित सो सङ्ख्यामा सिट जडान गरिएको हो ।

गत वर्षको असार मसान्तभित्रमा रङ्गशाला तयार गर्ने गरी सोही वर्षको पुसमा ठेक्का सम्झौता भए पनि रङ्शालाको आधा काम सम्पन्न हुन अझै बाँकी छ । पछिल्लो समय साग नजिकिएसँगै हतार हतारमा काम गरेर भए पनि खेल सञ्चालन गर्न लागिएको छ । साधारण, विशिष्ट तथा अतिविशिष्ट गरी १८ हजार ५०० दर्शक क्षमताको प्यारापिट निर्माण गर्ने सम्झौतामा उल्लेख भए पनि अतिविशिष्ट प्यारापिट निर्माण गर्न बाँकी छ ।

खेलाडीले कपडा फेर्ने कोठा (चेन्जिङ रुम), खेलाडी कक्ष, मिडिया सेन्टर, प्रवेशद्धारसहित अन्तर्राष्ट्रियस्तरको पूर्वाधारसहितको रङ्गशाला तयार गर्न अझै चार महिना समय लाग्ने निर्माण कम्पनीका प्रबन्धक दीपक बरालले बताउनुभयो ।

सागअगाडि १० हजार दर्शक क्षमताको प्यारापिटसहित मैदान तयार गर्ने प्रतिबद्धताअनुसार काम सम्पन्न भएको उहाँको भनाइ छ । मैदानमा रोपिएको दुबो मरेपछि त्यसलाई विस्थापित गरेर नयाँ दुबो रोपेर मैदान खेल्न योग्य बनाइएको कम्पनीको भनाइ छ ।

रु एक अर्ब २८ करोड २२ लाख १८ हजार १७४ लागतमा १६ हजार ५०० दर्शक क्षमताको रङ्गशाला निर्माणका लागि राष्ट्रिय खेलकूद परिषद् र एम.ए.कन्स्ट्रक्सन तथा भारतीय ग्रेट स्र्पोट्स ईन्फ्रा(जेभी)बीच सम्झौता भएको थियो । पछि दुई हजार सिट क्षमता बढाउने सम्झौतासँगै लागत एक अर्ब ३० करोडसम्म पुग्ने अनुमान गरिएको छ ।

यही मङ्सिर १७ देखि २३ गतेसम्म हुने महिला फुटबल प्रतियोगितामा आयोजक नेपालसहित भारत, श्रीलङ्का र माल्दिभ्स सहभागी छन् । पहिलो दिनको खेलमा नेपाल र श्रीलङ्का तथा भारत र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ ।

त्यसैगरी १९ गते भारत र श्रीलङ्का तथा नेपाल र माल्दिभ्सबीच खेल हुनेछ । मङ्सिर २१ गते श्रीलङ्का र माल्दिभ्स तथा नेपाल र भारतबीच खेल हुनेछ । समूहको पहिलो र दोस्रोका बीच २३ गते स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने खेलतालिका रहेको छ ।

नेपाली टोलीको गोलकिपरमा एन्जिला तोम्बाफो सुब्बा, एन्जिला राना मगर र उषा नाथ छन् । त्यसैगरी डिफेन्डरमा गीता राना, पुनम जर्घा मगर, अमृता जैसी, हिराकुमारी भुजेल, कविता धिमाल, मनमाया लिम्बू र पूजा राना तथा मिडफिल्डरमा रेनुका नगरकोटी, दीपा राई, सरु लिम्बू, इन्दिरा राई, अनिता बस्नेत, मन्जलीकुमारी योन्जन, बिमल चौधरी छन् । फरवार्डमा सावित्री भण्डारी, निरु थापा र अनिता केसी छन् ।

प्रतियोगिताका लागि नेपाली टोलीले गत कात्तिक देखिनै यहाँका विभिन्न मैदानहरुमा अभ्यास गरिरहेको छ । नेपाली टोलीको मुख्य प्रशिक्षकमा हरि खड्का, सहायक प्रशिक्षकमा अरुणा गुरुङ र गोलरक्षक प्रशिक्षकमा अस्मिता खवास रहनुभएको छ । सागअन्र्तगत पोखरामा महिला फुटबलसहित महिला क्रिकेट, बिच भलिबल, ट्रायथोलन, भारत्तोलन, धनुकाँण (आर्चरी), ह्यान्डबल र ब्याटमिन्टन गरी आठ खेल हुनेछ ।

 



प्रतिक्रिया दिनुहोस !