१८ बैशाख २०८१, मंगलबार

कांग्रेसद्वारा प्रतिनिधिसभा विघटनविरुद्ध १६५ निर्वाचन क्षेत्रमै प्रदर्शन

प्रकाशित मिति :  28 December, 2020 7:42 pm


काठमाडौं ।  नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध देशभर प्रदर्शन गरेको छ । कांग्रेस केन्द्रीय समितिको यही पुस ९ गतेको बैठकले १६५ सङ्घीय निर्वाचन क्षेत्रमा पार्टीका क्षेत्रीय कार्यसमितिको आयोजनामा एकसाथ प्रदर्शन गर्ने निर्णय गरेको थियो ।

काठमाडौंमा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये १ नंको नयाँ बानेश्वर चोकमा पूर्वमहामन्त्री प्रकाशमान सिंह, २ नंको कोटेश्वर चोकमा प्रवक्ता विश्वप्रकाश शर्मा, ३ नं को जोरपाटी चोकमा केन्द्रीय सदस्य पूर्वमन्त्री अम्बिका बस्नेत, ४ नं को नारायणचौर नक्सालमा प्रदेशसभा सदस्य नरोत्तम वैद्य र राधा घले तथा ५ नंको नारायणगोपालचोक महाराजगञ्जमा पार्टीका सहमहामन्त्री डा प्रकाशशरण महतले सम्बोधन गरेका थिए ।

यसैगरी निर्वाचन क्षेत्र नं ६ को मनमैजु लोकतान्त्रिक चोकमा पूर्वमन्त्री भीमसेनदास प्रधान र काठमाडौँ कांग्रेसका सभापति कृष्ण बानियाँ, ७ नं को बालाजु चोकमा नेताहरु मुकुन्द रिजाल र प्रमोदहरि गुरागाईँ, ८ नंको वसन्तपुर डबलीमा पूर्वमन्त्री नवीन्द्रराज जोशी, ९ नंको कलङ्की चोकमा पूर्वसांसद ध्यानगोविन्द रञ्जित र १० नं को कीर्तिपुर बजारमा निवर्तमान पूर्वमन्त्री राजेन्द्रकुमार केसीलगायतले सम्बोधन गरेका थिए ।

सबै क्षेत्रका विभिन्न स्थानबाट पार्टीका नेता तथा कार्यकर्तासहितको जुलुससभामा परिणत भएको थियो । निर्वाचन क्षेत्र नं १ को प्रदर्शनपछि विरोधसभालाई सम्बोधन गर्दै कांग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिंहले प्रधानमन्त्रीले आफ्नो पार्टीभित्रको आन्तरिक कलह व्यवस्थापन गर्न नसकेर संसद् भङ्ग गरेको आरोप लगाए ।

ओलीले दुई तिहाइ मतको कुरा गरे पनि जनप्रतिनिधिबाट विश्वासको मत लिने आँट गर्न नसकेको टिप्पणी गरे ।

सरकारले जनताले पाँच वर्षका लागि दिएको जनादेशानुसार काम गर्न नसकेको र भ्रष्टाचार पनि रोक्न नसकेको नेता सिंहको भनाइ थियो । रोल्पामा पनि नेपाली कांग्रेसले प्रर्दशन गरेको छ । एउटा मात्रै निर्वाचन क्षेत्र रहेको रोल्पामा नेपाली कांग्रेसले प्रर्दशन गरेको हो ।

प्रदर्शनमा सहभागी सबैलाई नेपाली कांग्रेसले बधाई तथा आभार व्यक्त गरेको छ । सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गर्दै संसद विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध नेपाली कांग्रेसले आज आयोजना गरेको विरोध प्रदर्शन देशभरिको संघीय निर्वाचन क्षेत्रमा व्यापक सहभागिता साथ सफलतापूर्वक सम्पन्न भएको उल्लेख छ ।

उनले विज्ञप्तिमा भनेका छन्, “प्रदर्शनले के.पी. शर्मा ओलीको नेतृत्वमा रहेकोे नेकपाको सरकारले गरेको संसद विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदम, सर्वसत्तावाद, कुशासन एवं भ्रष्टाचार विरुद्ध जनभावना अभिब्यक्त गरेको छ ।”



प्रतिक्रिया दिनुहोस !