७ बैशाख २०८१, शुक्रबार

कोभिड संक्रमणका कारण रोजगारी गुमाएकालाई उद्यमी बनाइने

प्रकाशित मिति :  4 January, 2021 1:21 pm


कोभिड १९ को सङ्क्रमणका कारण रोजगारी गुमाएका युवा युवतीलाई उद्यमी बनाउने उद्देश्यसहित कोष स्थापना गरिएको छ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) र वालिङ नगरपालिकाको आर्थिक सहयोगमा दियालो संस्थाद्वारा सञ्चालित कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजनाअन्तर्गत कोभिड प्रभावितका लागि स्थापित कोषमार्फत नगद प्रदान गर्न लागिएको हो ।

विदेशमा रोजगारी गुमाई फर्केका वा स्वदेशमा रोजगारीमा रहेका युवायुवतीलाई स्वरोजगार तथा आत्मनिर्भर बनाई उनीहरुको आयआर्जन वृद्धि गर्नका लागि ‘उद्यमशीलता व्यवसाय प्रवद्र्धन तथा नवप्रवर्तन केन्द्र सञ्चालन कार्यविधि २०७७’ निर्माण गरिएको छ । सोही कार्यविधिका आधारमा रहेर स्थापित कोषबाट आर्थिक सहयोग गरिने दियालो संस्थाका अध्यक्ष कविता तिवारीले दिए ।

कोभिड प्रभावित भई के गर्ने के नगर्ने अन्योलमा रहेका युवायुवतीलाई उद्यमशीलता तथा नवप्रवर्तन कोषमार्फत ‘स्टार्टअप’ कारुपमा नगद अनुदान दिन थालिएको हो । “व्यवसाय तथा उद्यम सञ्चालन सम्बन्धमा विविध विषयमा नयाँ आविष्कार गर्न मद्दत गर्न, युवामा भएको रचनात्मकतालाई उजागर तथा प्रोत्साहित गर्न प्रेरित गर्ने उद्देश्यले नवप्रवर्तन कोष स्थापना गरी सञ्चालन गरेका हौँ”, उनले भने, “उक्त कोषमार्फत विशेष राहत प्याकेज उपलब्ध गराई उनीहरुलाई उद्यमी बनाउने छौँ ।”

पहिलो चरणमा २० जना युवायुवती तथा समूहलाई जनही रु ५० हजारका दरले नगद उपलब्ध गराई नवप्रवर्तनमा ‘स्टार्टअप’ गराइने छ । वैदेशिक वा स्वदेशमा नै कोभिडका कारण प्रभावित हुनुभएका वालिङका नागरिकलाई उद्यमशीलतातर्फ लाग्न अभिप्रेरित गर्ने उद्देश्यले कोष स्थापना गरी सोहीमार्फत सहयोग गर्दै जाने नगर प्रमुख दिलीपप्रताप खाँणले जानकारी दिए ।

“व्यवसाय वा उद्यम गर्न चाहनेले नगरपालिकामा आर्थिक सहयोग माग गरेका आधारमा सहयोग गर्ने नीति बनाएका छौँ”, उनले भने, “शुरुआती चरणमा कोषको आकार सानो छ आगामी दिनमा कोष वृद्धि गर्दै जाने र अझै धेरैलाई समेट्दै जाने तयारीमा छौँ ।” विशेष गरी उत्पादन तथा नवप्रवर्तनका सोँच राख्नुभएका युवायुवतीलाई उक्त कोषमार्फत अनुदान उपलब्ध गराउने प्रमुख खाँणले बताए ।

कोभिड– १९ का कारण बेरोजगारी समस्या बढ्दै गएकाले यसमा कमी ल्याई उनीहरुलाई उद्यमी बनाई आत्मनिर्भर बनाउन सकियोस् भन्ने हेतुले कोषमार्फत सहयोग गर्ने योजना अगाडि बढाइएको युएनडिपी नेपालका गण्डकी र लुम्बिनी प्रदेश प्रमुख सुदीप अर्यालले बताए ।

वालिङ नगरपालिका क्षेत्रभित्र रहेका कोभिड– १९ प्रभावित तथा बेरोजगारलाई उद्यमशील बनाई रोजगारका अवसर सिर्जना गरेर आर्थिक उन्नति गराउने, सानो पूँजीको परिचालनबाट आर्थिक उपार्जनतर्फ अगाडि बढाउने, उत्पादन र उत्पादकत्व बढाउनका लागि उत्प्रेरणा जगाउने, युवा, सीमान्तकृत, कोभिड– १९ का कारण रोजगारी गुमाएका तथा न्यून आय भएका व्यक्तिको जीवनमा परिवर्तन ल्याउने, राम्रो सोंचलाई व्यावसायिकतातर्फ उन्मुख गराउने, दीगो आर्थिक समृद्धिका लागि अग्रसर बनाउने, थोरै सहयोगमार्फत काम गरे सहयोग प्राप्त हुन्छ भन्ने वातावरण बनाउने, कोषमार्फत अनुदान तथा सहयोगका कार्यक्रम सञ्चालन गर्ने गरी उद्देश्य निर्धारण गरिएको जनाइएको छ ।
–––



प्रतिक्रिया दिनुहोस !