१३ बैशाख २०८१, बिहिबार

मोबाइल व्यवसायीहरुलाई बदनाम गर्ने प्रयास भयो : मोबाइल व्यवसायी संघ

प्रकाशित मिति :  26 February, 2021 6:38 pm


काठमाडौं ।  ताम्राकार कम्प्लेक्समा आबद्ध र मोबाइल व्यवसाय गरिरहेका मोबाइल व्यवसायीहरुलाई बदनाम गर्ने गरेर विभिन्न सञ्चार माध्यमहरुमा प्रकाशित तथा प्रशारण भईरहेको भन्दै मोबाइल व्यवसायी संघले आपत्ति जनाएको छ ।

आज पत्रकार सम्मेलन गरेर संघले काठमाडौं ताम्राकार कम्प्लेक्समा व्यवसाय गरिरहेका मोबाइल व्यवसायीहरुलाई लान्छना लगाउने र उनीहरुले अबैध कारोबार गरिरहेको आरोप लगाउँदै समाचार सामाग्रीहरु आएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।

केहि दिनअघि प्रहरीले ताम्राकार कम्प्लेक्समा संचालनमा रहेका मोबाइल व्यवसायीहरुको पसलमा जबर्दस्ती प्रवेश गरि सामाग्रीहरु उठाएर लगेको र पसलमा कार्यरत कर्मचारीहरुलाई समेत पक्राउ गरि थुन्ने कार्य गरिएको संघको भनाई छ ।

महानगरीय जनसेवा प्रहरी कार्यालय विशालबजारबाट खटिएका सादा पोसाकका प्रहरीले हचुवाको भरमा मोबाइल व्यवसायीहरुको पसलबाट सामानहरु उठाएर लगेको र कर्मचारीहरुलाई थुनेको घटनालाई केहि संचारमाध्यमहरुले अतिरंजित गरि व्यवसायीहरुलाई नै आक्षेप लगाउने कार्य गरेको देखिएको संघको दाबी छ ।

संघले भनेको छ,“मोबाइल व्यवसायीहरुलाई आक्षेप लगाउने र अवैध कार्य गरेको भन्ने विषयप्रति हाम्रो गंभिर आपत्ति रहेको छ । हामीले कानूनीरुपमा दर्ता गरेर तथा सरकारी राजश्व बुझाउँदै आफ्नो व्यापार व्यवसाय गरिरहेको र हाम्रा पसलहरुमा बिक्री गरिने मोबाइल सेटहरु समेत बिल बिजकसहित बेच बिखन गर्ने गरेको जानकारी गराउँदछौं ।”

संघले गैर कानूनी र अवैधरुपमा प्रहरीले छापा हान्ने कार्य गरेर बिल नभएका मोबाइल सेटहरु जफत गरिएको भनेर सार्वजनिक गर्नु प्रहरीको अराजकता र कानूनी शासन विपरित भएको टिप्पणी गरेको छ ।

प्रहरीले गैरकानूनीरुपमा पसलबाट ग्राहकहरुले मर्मतका लागि पसलमा ल्याएर छोडेका मोबाइल फोन सेटहरु समेत हचुवाको भरमा उठाएर लगेको भन्दै ग्राहकहरुलाई त्यस्ता फोनहरु फिर्ता गराउन समेत कठिन संघको दाबी छ ।

संघले भनेको छ,“मर्मतका लागि छोडेका ग्राहकहरुको फोन लिन आउने समयमा उनीहरुलाई सो फोन दिन सक्ने अवस्था नभएको र त्यसले ग्राहकहरुको मोबाइल फोनमा रहेका विभिन्न डाटाहरु तथा व्यक्तिगत जानकारी समेत चोरी हुनसक्ने देखिएको छ । त्यसको जिम्मेवारी समेत प्रहरी प्रशासनले लिनुपर्नेछ ।”

हालका जनसेवा प्रहरीका डिएसपीको आदेशमा गैर कानूनीरुपमा ताम्राकार कम्प्लेक्सका मोबाइल व्यवसायीहरुलाई तर्साउने कार्य भएकोमा आफूहरु गम्भीर भएको संघका अध्यक्ष जगत साउदले उल्लेख गरे ।



प्रतिक्रिया दिनुहोस !