१६ चैत्र २०८०, शुक्रबार

कोरोनाका कारण पाँचखाल लगानी सम्मेलन अन्योलमा

प्रकाशित मिति :  7 April, 2021 3:40 pm


काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिकाले गत आर्थिक वर्षको अन्त्यतिर गर्ने भनिएको लगानी सम्मेलन त्यतिबेला कोरोना भाइरस्को सङ्क्रमण उच्च जोखिम बढ्दै गएपछि रोकिएको थियो । रोकिएको लगानी सम्मेलन नगरले चालू आर्थिक वर्षमा गर्ने कार्यतालिका बनाए पनि पुनः कोरोना भाइरस्को सङ्क्रमण बढ्नसक्ने भएपछि रोकिएको छ ।

लगानी सम्मेलन गर्ने निर्णय गरी तयारीमा जुटेको नगर कार्यपालिकाको योजना कोरोना भाइरस् सङ्क्रमणका कारण योजनामै सीमित भएको देखिएको छ । कोरोना भाइरस् सङ्क्रमणको दोस्रो लहर बढ्दै सङ्क्रमण बढ्ने भएपछि स्थानीय प्रशासनको सार्वजनिक अपिलसँगै नगरका सम्पूर्ण कार्यक्रम स्थगित गरिएको जनाइएको छ ।

“यो आर्थिक वर्षमा गर्ने लक्ष्य राखेका थियौँ तर भाइरस् बढ्नसक्ने देखिएपछि प्रशासनको आग्रहमा नगरका सबै कार्यक्रम स्थागित ग¥यौँ”, नगरप्रमुख महेश खरेलले भने । खरेलका अनुसार कोरोना सङ्क्रमण शून्य भएपछि चालू आर्थिक वर्षको उपयुक्त समय हेरेर लगानी सम्मेलनको तयारी गर्ने योजना पुनः बनाइने योजना थियो । नगरले गत आर्थिक वर्षभित्र लगानी सम्मेलन गर्न प्रारम्भिक बजेटसमेत विनियोजन गरिसकेको थियो ।

यसअघि स्थानीय तहअन्तर्गत पहिलो पटक गत साल असोजमा रुपन्देहीको तिलोत्तमा नगरपालिकाले लगानी सम्मेलन गरी स्वेदेशीसहित विदेशी लगानीकर्ताबाट १५ अर्ब भन्दा बढीको लगानी प्रतिबद्धता दर्शाएका थिए ।

काभ्रेपलाञ्चोकको पाँचखाल तिलोत्तमापश्चात लगानी सम्मेलन गर्ने दोस्रो नगरपालिका हुने देखिएको थियो । पाँच खाल क्षेत्रको समग्र विकासका लागि चालू आवमा लगानीकर्ता तथा रोजगारदाताको सम्मेलन गर्न २५ लाख प्रारम्भिक बजेट छुट्याइएको खरेलले जानकारी दिए। “पाँचखालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विकासका काम शुरु भएको यस अवसरमा लागानी सम्मेलन फलदायी हुने अपेक्षामा छौँ,” नगरप्रमुख खरेलले भने ।

पाँचखालमा विशेष आर्थिक क्षेत्र (सेज)का लागि निर्माणकार्य शुरु गरिएको, वृहत सुनकोशी पाँचखाल खानेपानी आयोजनाको काम भइरहेको, राष्ट्रिय युवा परिषद्द्वारा निर्माण हुने ‘नेशनल यूथ इनोभेसन सेन्टर’ तथा एकीकृत तथा स्मार्ट सिटीका लागि पनि जमीन छुट्याइएकाले पनि थप लगानीकर्ता र रोजगारदाता आवश्यक रहेको जनाउँदै नगरले सम्मेलन गर्न लागेको थियो ।

कृषि तथा पशुपालन क्षेत्रमा आधुनिककीकरण, सौर्य ऊर्जा, प्रविधि र पर्यटकीयस्तरका ठूला होटल, उद्योग स्थापनार्थ सम्मेलनमा प्रस्ताव गरिने बताइएको छ ।

“स्थानीयवासीलाई रोजगार दिने उद्योग तथा परियोजनालाई करछुट दिन पनि छलफल गर्दैछौँ” नगरप्रमुख खरेलले भने। उनका अुसार पाँचखालमा विभिन्न ऐतिहासिकस्थल समेत रहेकाले पर्यटन र स्थानीय सांस्कृतिक क्षेत्र लक्षित आयोजनालाई समेत प्राथमिकतामा राखिनेछ ।

त्यसो त, ‘पाँचखाल नगर, कृषि शहर’ नारालाई सार्थक बनाउन नगरले पाँचखालको खेतीयोग्य जमीनलाई ‘प्लटिङ’ गर्न पूर्ण प्रतिबन्ध लगाएको छ । “आफूखुशी र व्यापारिक हिसाबले खेतीयोग्य जमीन प्लटिङ गर्न पूर्णतः रोक लगाएका छौँ, कृषि उत्पादनमा जोड दिइरहेका बेला खेतीयोग्य जमीन मास्न दिँदैनौँ,” खरेलले भने ।



प्रतिक्रिया दिनुहोस !