१८ बैशाख २०८१, मंगलबार

कांग्रेसको ‘गरिखाने अभियान’ बारे लुम्बिनी प्रदेशमा छलफल, गरिखाने वर्ग स्थापित हुनुुपर्नेमा जोड

प्रकाशित मिति :  25 April, 2021 12:27 pm


बुटवल ।

नेपाली कांग्रेसले सुरु गरेको गरिखाने अभियान बारे लुम्बिनी प्रदेशमा छलफल गरिएको छ । गरिखाने अभियान, यसका उपलब्धि तथा राष्ट्रव्यापी उद्यमशीलता विकास अभियानको नेतृत्व नेपाली कांग्रेसले लिनुपर्ने लगायतका विषयमा केन्द्रित भएर छलफल गरिएको हो ।

नेपाली कांग्रेस; लगानी, पूर्वाधार तथा रोजगारः दृष्टिकोण एवं दीगो परियोजना केन्द्रीत विशेष समितिले लुम्बिनी प्रदेशसँग भर्चुअल अन्तक्र्रिया कार्यक्रम गरेको हो । छलफलमा पार्टीका सदस्यहरु सहभागित थिए ।

कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले गरिखाने वर्गको निर्माणले मात्र मुलुकको आर्थिक रूपान्तरण सम्भव भएको बताएका छन् । राजनीतिमा पनि गरिखाने वर्गलाई स्थापित गर्दै लैजानुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू मान बहादुर विश्वकर्मा, देवेन्द्रराज कँडेल, हरिप्रसाद नेपाल लगायतले अर्थतन्त्र, उद्यमशीलता, रोजगारी र पूर्वाधार विकासलाई नेपाली कांग्रेसले प्रमुख एजेण्डा बनाउनुपर्ने धारणा राखे ।

नेपाली कांग्रेसले संघीय सांसद एवं उद्योगपति विनोद चौधरीको संयोजकत्वमा ‘लगानी, पूर्वाधार र रोजगार ः दृष्टिकोण एवं दीगो परियोजना केन्द्रित विशेष समिति’ गठन गरेको हो । समितिले गरिखाने अभियानमार्फत् हेटौंडा, झापा, वीरगञ्ज, धनकुटा, संखुवासभा, पोखरा, चितवन लगायत विभिन्न स्थानमा सम्भावित उद्यमीहरू पहिचान गरी उनीहरूलाई उद्यमशीलता विकासका लागि सघाइरहेको छ ।

सीप, पुँजी, प्रविधि तथा बजारसँगको पहुँच स्थापित गरी आकांक्षी युवाहरू र विदेशबाट फर्केकाहरूलाई समेत स्वदेशमै गरिखाने बनाउन यस अभियानको साझेदार संस्था ‘कर्मभूमि समाज’ले काम गर्दै आइरहेको कांग्रेसले जनाएको छ ।

कार्यक्रममा समितिका सल्लाहकार डा. प्रभु बुढाथोकीले गरिखाने अभियानको महत्व र यसले सिर्जना गर्ने रूपान्तरणका बारेमा प्रस्तुतीकरण गरेका थिए ।

कार्यक्रमको सुरुवातमा लुम्बिनी प्रदेशको संयोजक विमलप्रसाद ढकाल, पार्टीका वरिष्ठ नेताहरु, केन्द्रीय सदस्यहरू, क्षेत्रीय र जिल्ला सभापतिहरूले आआफ्नो धारणा राखेका थिए ।
कोभिडका कारण भर्चुअल गरिएको कार्यक्रम भाइरसको प्रभाव कम भएपछि भौतिक उपस्थितिमा गरिने कांग्रेसले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !