१४ बैशाख २०८१, शुक्रबार

अक्सिजन प्लान्ट किन्न अर्घाखाँचीका सबै पालिकाले रु.१०/१० लाख उठाउने,केन्द्रको रु. १.५ करोड सहयोग

प्रकाशित मिति :  18 May, 2021 8:07 pm


अर्घाखाँची । अर्घाखाँचीमा अक्सिजन प्लान्ट गर्न सबै स्थानीय तहले १०/१० लाख रुपैयाँ उठाउने निर्णय गरेका छन् ।

आज बसेको सबै ६ बटै स्थानीय तहले १०/१० लाख रुपैयाँ उठाउने निर्णय गरेका हुन् । अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या र मृतकको संख्या बढ्न थालेपछि स्थानीय तहले रकम उठाएर अक्सिजन प्लान्ट किन्ने निर्णय गरेका हुन् । अर्घाखाँचीलाई अक्सिजन प्लान्ट स्थापनाका लागि अर्थ मन्त्रालयले १ करोड ५० लाख रुपैयाँ छुट्टाएको छ ।

अक्सिजनको समस्या बढ्न थालेपछि सन्धिखर्क नगरपालिका प्रमुख कमलप्रसाद भुसालको संयोजकत्वमा आज बसेको बैठकले पहिलो चरणमा सबै स्थानीय तहबाट ६० लाख रुपैयाँ संकलन गर्ने निर्णय गरेको छ ।

जिल्लामा अक्सिजन र सिलिण्डरको समस्या पर्न थालेपछि यसअघि नेपाल पत्रकार महासंघले दाता खोजेर अर्घाखाँची जापान समाजको सहयोगमा इलेक्ट्रिकल अक्सिजन मेसिन किन्न ४ लाख ५० हजार रुपैयाँ दिएको थियो ।

केही दिन अघि अर्घाखाँची अस्पतालले अक्सिजन अभाव भएको भनेपछि पत्रकार महासंघको पहलमा युवा व्यावसायी दीपककुमार श्रेष्ठले ५० हजार रुपैयाँ सहयोग गरेका थिए ।

कोरोनाका कारण समस्या सुरु भएको गुनासो बढ्न थालेपछि काठमाडौंमा रहेको विभिन्न संघसंस्था, अमेरिका लगायत प्रवासी नेपालीले सहयोग जुटाउन सुरु गरेका थिए ।

दोस्रो चरणको कोरोना संक्रमण फैलिएपछि अर्घाखाँची अस्पतालमा बिरामीलाई उपचार गर्न अक्सिजन अभाव भएपछि जिल्ला अस्पताल अर्घाखाँचीका प्रमुख डा. कपिल गौतमले बुटवल र काठमाडौ पुगेर ३० वटा अक्सिजन र स्वास्थ्य सेवा विभागबाट स्वास्थ्य सामाग्री लिएका  थिए ।

पछिल्लो समयभने स्थानीय देखि केन्द्रसम्म सक्रिय बनेका छन् ।

अक्सिन प्लान्ट अनिवार्य बन्न थालेपछि आज उर्जा मन्त्री टोपबहादुर रायमाझी र स्थानीय सरकारको तर्फबाट सन्धिखर्क नगर प्रमुख कमलप्रसाद भुसालको नेतृत्वमा छ वटै पालिका प्रमुख, पत्रकार महासंघ, उद्योग वाणिज्य संघ , चेम्बर, रेडक्रस लगायत संघ संस्थाको बैठक बसेको थियो । उनीहरुले पालिकाले बजेट छुट्टाउनु पर्ने बताएका थिए ।

छलफलले अब तीन तहको सरकारबीच समन्यव गर्ने, प्लान्ट निर्माण गर्ने र कारोना नियन्त्रणमा तदारुकता देखाउने निर्णय गरेको छ ।



प्रतिक्रिया दिनुहोस !