१८ बैशाख २०८१, मंगलबार

नेपालको प्रचार गर्ने भन्दै पर्यटन बोर्डबाट एक करोड लिएर विदेशी फरार

प्रकाशित मिति :  14 January, 2020 7:05 am


काठमाडाैं, २९ पुस ।

नेपालको पर्यटन प्रचार गर्ने भन्दै पर्यटन बोर्डबाट एक लाख अमेरिकी डलर (एक करोड १३ लाख रुपैयाँ) लिएर एक विदेशी फरार भएका छन् ।

विश्वका चर्चित कलाकारलाई नेपाल घुमाएर प्रचार गर्ने भन्दै रकम बुझेपछि जर्मन नागरिक माइकल कोबाल्ड सम्पर्कविहीन भएका हुन् ।

उनले अमेरिकाबाट पुराना दमकल ल्याएर हिमाली जिल्ला पुर्‍याएर नयाँ शैलीमा प्रचार गर्ने कार्यक्रममा सम्झौता गरेका थिए । ‘नेपाल फायर ट्रक एक्सपिडिसन’ नामक उनको कार्यक्रमका लागि बोर्डले दुई लाख डलरमा सम्झौता गरेर एक लाख डलर सुरुमै दिएको थियो ।

सार्वजनिक खरिद ऐनअनुसार विनाप्रतिस्पर्धा यसरी सम्झौता गर्न मात्र होइन, सुरुमै आधा भुक्तानी गर्नसमेत मिल्दैन ।

घटनाको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ । माइकलसँगै बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीलगायतविरुद्ध उजुरी परेपछि आयोगले छानबिन थालेको हो । प्रारम्भिक छानबिनमै गम्भीर त्रुटि भेटिएपछि विस्तृत छानबिन थालिएको अख्तियारका एक अधिकारीले बताको नयाँ पत्रिका दैनिकमा समाचार छ ।



प्रतिक्रिया दिनुहोस !