१२ बैशाख २०८१, बुधबार

तुलसीपुर उपमहानगरपालिका : आगामी आवदेखि ‘खुल्ला सरकार कार्यक्रम’को अवधारणा

प्रकाशित मिति :  18 June, 2021 7:36 pm


दाङ । दाङको तुलसीपुर उपमानगरपालिकाले ‘खुल्ला सरकार कार्यक्रम’ को अवधारणा अनुसार काम गर्ने प्रतिबद्धता सहित आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

मेयर घनश्याम पाण्डेले आज आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै उपमहानगरपालिकाले खुल्ला सरकार कार्यक्रमको अवधारणा अनुसार काम गर्ने र उपमहानगरपालिकाले सञ्चालन गर्ने सबै कार्यक्रम, नीति, खर्च, सबै सार्वजनिक गरिने बताएका हुन् । उनले नियमित सार्वजनिक सुनुवाई र सामाजिक परीक्षण गर्ने व्यवस्था मिलाईने बताए ।

बार्षिक योजना क्यालेन्डर निर्माण गरी कार्य गर्दा पनि पुरा नभएका योजनालाई आगामी बर्ष पनि निरन्तरता दिइने उपमहानरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ ।

ढुङ्गा, गिट्टी, बालुवा, संकलन, ढुवानी र व्यवस्थापनलाई पारदर्शी, र दिगो बनाउनका लागि उच्च स्तरीय अनुगमन संयन्त्र बनाई आवश्यक कार्य गरिने पाण्डेले बताए । सबैखाले विभेदको अन्त्य गर्दै सामाजिक न्याय, सुशासन, र दिगो शान्ति र समतामुलक समाज निर्माण गर्न प्राथमिकता दिइने भनिएको छ ।

तुलसीपुर उपमहानगरपालिकालाई आगामी आर्थिक बर्षमा सहयोगापेक्षी सडक मानवमुक्त नगरको रुपमा घोषणा गर्नेगरी आवश्यक कार्य गरिने नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

२५ बर्षे दिर्घकालिन रणनीतिक योजनाले दिशाबोध गरेका स्मार्ट सिटी, जनशक्ती विकास केन्द्र स्थापना, सामुदायीक पुस्तकालय, मनमोहन गणेशमान विज्ञान तथा प्रविधि क्याम्पस, मेडिकल कलेज सञ्चालन, बाल अस्पताल सञ्चालन, मेट्रो हस्पिटल सञ्चालन, ज्येष्ठ नागरिक अस्पताल, क्रान्ति संग्रहालय, स्पोर्ट सिटी, तुलसीपुर चक्रपथ, पर्यटकीय गन्तव्यको शहर, औद्योगिक ग्राम, बेलझुण्डी ट्विन टावर, स्मार्ट स्याटेलाइट शहर र मेट्रो रेल सञ्चालनका काम सार्वजनिक, निजी साझेदारीका माध्यमबाट सम्पन्न गरिने उपमहनगरपालिकाको नीति तथा कार्यक्रममा समावेश  छ ।



प्रतिक्रिया दिनुहोस !