२९ बैशाख २०८१, शनिबार

चीनमा कोरोना भाइरसको प्रकोप : मानिसबाट मानिसमा सर्न थालेपछि नेपालमा पनि सतर्कता

प्रकाशित मिति :  21 January, 2020 3:52 pm


काठमाडौं, ७ माघ ।

चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण बेइजिङ र सेन्जेन हुँदै जापान, थाइल्याण्ड र दक्षिण कोरियासम्म विस्तार भएको छ । चिनियाँ पर्यटकहरुको मनग्गे आवागमन हुने नेपालमा पनि कतै त्यो कोरोना भाइरसको संक्रमण आइपुग्ने त होइन भन्ने आशङ्का पैदा भएको छ ।
अझ चिनियाँ नयाँ वर्ष नजिकिँदै गर्दा चीनमा समेत यसको संक्रमण अझ फैलन सक्ने चिन्ता व्यक्त गर्न थालिएको छ ।
चीनको राष्ट्रिय स्वास्थ्य आयोगले सो भाइरस मानिसबाट मानिसमा सरेको पुष्टि गरेको छ । प्रकोपबाट ३ जनाको मृत्यु भएको छ भने चीन, जापान र थाइल्याण्डमा गरी २ सय १० जनाको हाराहरीमा कोरोना भाइरसका संक्रमित भेटिएका छन् ।
मानिसबाट मानिसमा सहजै सर्ने भएको कारण नेपालमा पनि कोरोना भाइरस विभिन्न माध्यमबाट आउन सक्ने आशंका गरिन थालिएको छ ।यो आशंका यस अर्थमा पनि गरिन थालिएको छ कि नेपाल भ्रमण वर्ष २०२० मनाइरहदा चीन लगाएत अन्य राष्ट्रबाट नेपाल भ्रमणमा आउने पर्यटकको संख्या बढ्दो छ ।
चीनबाट हवाई मार्ग १ र स्थल मार्ग ८ स्थान गरी  ९ ठाउँबाट चिनीयाँ नागरिक नेपाल प्रवेश गर्न सक्छन् ।कोरोना भाईरसको संक्रमण फैलिने आशंकामा अमेरिकाले पनि विमानस्थलमा सुरक्षामा कडाई गरेको छ ।त्यसै गरी अन्य देशहरुमा पनि सर्तकता अपनाउन थालिएको छ ।



प्रतिक्रिया दिनुहोस !