१४ बैशाख २०८१, शुक्रबार

प्रथम कोदो दिवस मनाइयो, कोदो प्रवद्धनमा सराेकारवालाकाे जोड

प्रकाशित मिति :  30 July, 2021 10:35 pm


काठमाडौं । सीमान्त बालीका रुपमा लिइने कोदोको प्रवद्र्धनका लागि कोदो दिवस मनाउन थालिएको छ । केही वर्षदेखि कोदोको बहस गरिंदै आइएकोमा यो वर्षदेखि भने दिवसका रुपमा मनाउन थालिएको हो ।

राष्ट्रिय कृषक समूह महासंघ नेपाल र एसोसिएशन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्टस् (अनाज) को संयुक्त आयोजनामा सुक्रबार भर्चुअल माध्यम र काठमाडौंको टोखामा कोदो रोपेर दिवस मनाइएको हो ।

पोषणतत्वले भरिपूर्ण बाली भएर पनि यसको प्रवद्र्धन कम भएको अवस्थालाई मध्नजर गरेर कोदो बाली रोप्ने समय साउन १५ लाई दिवसको रुपमा मनाउन सुरु गरिएको महासंघ अध्यक्ष नवराज बस्नेतले बताए ।

कोदो दिवसको सुरुवात गर्दै आयोजित कार्यक्रममा बोल्दै सरोकारवाला तथा विज्ञहरुले कोदोको उत्पादन वृद्धिका लागि विशेष कार्यक्रम लागू गर्नुपर्नेमा जोड दिए ।

आर्थिक र स्वास्थ्यका दृष्टिकोणले पनि उत्कृष्ट बाली भएकाले कोदोलाई राष्ट्रिय बालीका रुपमा प्रवद्र्धन गर्न असार १५ मा धान दिवस मनाएजस्तै साउनको १५ वा अरु कुनै दिनलाई सरकारले कोदो दिवसका रुपमा मनाउनुपर्नेमा राष्ट्रिय किसान आयोगका अध्यक्ष डा. प्रेम दंगालले जोड दिए ।

दंगालले कोदो दिवस सरकारी तवरबाट मनाइनुपर्ने चर्चा गर्दै आयोगका तर्फबाट दिवसको औपचारिकता दिनका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा बोल्दै कृषि विज्ञ डा. कृष्ण पौडेलले गैर सरकारी क्षेत्रबाट कोदोको महत्व बुझेर दिवसकै रुपमा कार्यक्रम गर्नुले मात्र पनि कोदो प्रवद्र्धनमा कार्य गर्नुलाई सकारात्म रुपमा लिइएको तर यसको निरन्तरता आवश्यक रहेको बताए ।

खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले रैथाने बालीको संरक्षण तथा सम्वद्र्धनका लागि नेपाली किसान तथा सरोकारवालाको ध्यकनाकर्षण गराए ।

काठमाडाैं टोखा नगरपालिका वडा नं. १ को गैरीगाउँमा स्थलगत रुपमा कोदो रोपेर यस कार्यक्रमको उदघाटन गरिएको थियो ।
कार्यक्रममा बोल्ने अभियन्ता जोगराज गीरी, रक्षा शर्मा, छवि पौडेल लगायतका वक्ताले कोदो लाई ब्यवसायिक रुपान्तरण, महत्वको बारेमा जानकारी एवं औषधिय गुणको पहिचान र प्रसार आवश्यक रहेको धारणा व्यक्त गरे ।

कोदो बाली प्रवद्र्धनको लागि राष्ट्रिय नीतिको लागी यसलाई अभियानको रुपमा अगाडि बढाउन सबैले जोड दिईनु पर्ने मत ब्यक्त भएका छन् । राज्यका तर्फबाट गर्नुपर्ने पहल र उत्पादनको लागि किसानलाई अनुदानमा प्रोत्साहन साथै मुल्यको लागि प्रोत्साहन गरि उत्पादनको लागि बाताबरण बनाउन राज्यले अगुवाई दिन जरुरी रहेको र यसका लागि राष्टिय किसान आयोगले राष्टिय कृषक समुह महासंघले अगाडि बढाएको सिमान्त र गरिव किसानलाई लक्षित गरेका सवालमा साथ रहने र सहकार्य गर्ने कुरा बताउनु भएको छ ।



प्रतिक्रिया दिनुहोस !