२१ बैशाख २०८१, शुक्रबार

मोहनविक्रम जन्माउने त्यो ‘दरबार’

प्रकाशित मिति :  1 February, 2020 8:16 am


काठमाडौं, १९ माघ। 

आकर्षक कलाकृति र काठ प्रयोग गरेर बनाइएको भव्य घर । झट्ट हेर्दा तत्कालीन राजा र राणाहरूको दरबारजस्तो लाग्छ तर होइन । अधिकांश कम्युनिस्ट नेताका गुरु मानिने मोहनविक्रम सिंहका पिता खिमविक्रमले निर्माण गरेको घर हो यो, जसले तत्कालीन शासकलाई चुनौती दिएको थियो ।

कान्तिपुर दैनिकमा प्यूठानबाट गिरु भण्डारीले लेखेको आलेखमा अगाडि भनिएको छ;

दरबारजस्तै घर बनाएर खिमविक्रमले राजा र राणाहरूसँग प्रतिस्पर्धा गरेको अग्रज पुस्ताको भनाइ छ । उनले आफ्नो नामको पछाडि राजपरिवारकै जस्तो ‘विक्रम’ राखेको किस्सा सुनिन्छ । अहिले धन हुनेले ठूला घर बनाउनु र नामका पछाडि बहादुर, विक्रम, ध्वज लेख्नु सामान्य प्रचलन मानिन्छ । त्यसबेला यस्तो लेख्न र ठूला घर बनाउन स्वीकृति थिएन । त्यसैले खिमविक्रमले मुद्दा खेप्नुपरेको थियो ।

खिमविक्रम सम्पन्न थिए । मुद्दामामिला गर्न खप्पिस थिए । उनको नाम सुन्ने प्यूठान, गुल्मी, अर्घाखाँची, दाङ र रोल्पाका बासिन्दा मुद्दामामिलामा फसाउलान् भनेर डराउँथे । घर बनाउन गाउँलेले महिनौं बेठ (झारा) गरेका थिए । झिमरुक गाउँपालिका–४, कौछेमा वि.सं. १९९० मा उक्त घर बनाउन काठमाडौंबाट कालिगढ ल्याएका थिए । दुई वर्ष लगाएर निर्माण गरिएको घरबारे निकै चर्चा भयो । त्यसबेला दरबारकै नामले चर्चित भयो । खिमविक्रमको निधन भएको वर्षौं बिते पनि त्यो घर अझै उस्तै ठडिएको छ । अहिले घर हेर्न जाने बढेका छन् । वि.सं. १९६० मा जन्मिएका खिमविक्रमको २०२१ सालमा मृत्यु भएको थियो । उनी बाँचुन्जेल चर्चाको केन्द्रमा रहेको पुराना कम्युनिस्ट नेता खगुलाल गुरुङले बताए । खगुलाल मोहनविक्रमसँगै कम्युनिस्ट बनेका थिए ।

‘खिमविक्रम निडर स्वभावका सामन्ती थिए,’ खगुलालले भने, ‘उनी हाम्रो किसान आन्दोलनसँग मात्र डराए ।’ खिमविक्रम मुद्दा, लडाइँ, झगडामा जिल्लाभर प्रख्यात भएको गुरुङले बताए । ‘मच्छीमा भएको झगडामा उनको गर्धनमा खुकुरी प्रहार भएको थियो, ठूलो घाउ लागेको थियो तर बाँचे,’ खगुलालले भने, ‘आठ धार्नी घिउले सेकेपछि घाउ निको भएको हल्ला थियो ।’ गन्धर्वहरूले मच्छीको घटनाबारे ‘कालो बाख्रो काटीकाटी सारंगीलाई ताँती, जति काट्दा पनि नकाटिने खिमविक्रमको घाँटी’ भन्ने गीत गाउँदै हिँड्ने गरेकोगुरुङले सुनाए ।

ठूलो घर बनाउन उनले माटो पोलेर इँटा बनाउन लगाएका थिए । त्यतिबेला जिल्लामा कसैले पनि इँटाले घर बनाएका थिएनन् । बांगेसाल र दरभान क्षेत्रबाट बेठ (झारा) मार्फत काठ बोकाएर ल्याइएको थियो । तीनतले घरको माथिल्लो तलासम्म घोडा पुग्न सक्ने बनाइएको छ । माथिल्लो तलामा भान्छाघर छ । काठैकाठको भर्‍याङ अहिले पनि छ । गाउँ डुलेर आएपछि उनी त्यही भर्‍याङबाट घोडामै चढेर भान्छाकोठामा पस्थे । त्यो घरमा अहिले उनका ठाहिला छोरा महेन्द्रविक्रम बस्दै आएका छन् । राजा र राणा परिवार बस्नेजस्तो ५५ झ्याले दरबार बनाएको हल्ला त्यसबेला काठमाडौंसम्म फैलिएको थियो । दरबारमा उजुरी परेपछि उनले दुईवटा झ्याल हटाएका थिए । आफ्नो सान राज खानदानजस्तो बनाउन नामको पछाडि राजाहरूले जस्तै विक्रम लेख्न थाले । यसबापत लागेको मुद्दा हारेपछि उनले उतिबेला १ हजार ८४ रुपैयाँ जरिवाना तिरेका थिए । कारबाही भोगे पनि विक्रम लेख्न नछाडेको स्थानीय सुनाउँछन् । ठूलो रकम तिरेपछि उनलाई जुद्धशमशेरले विक्रम लेख्न छुट दिएको भनाइ छ । अहिले खिमविक्रमका शाखासन्तान सबैले विक्रम लेख्दै आएका छन् । माहिला छोरा मोहनविक्रमले त्यसैलाई निरन्तरता दिएका छन् । खिमविक्रमका चारवटी श्रीमती थिए । त्यसबेला उनको घरमा काम गर्नेहरू दर्जनौं थिए ।

‘उनको अघिपछि हिँड्ने सहयोगी निकै बलिया र लडाकु स्वभावका थिए,’ ७५ वर्षीय पूर्णबहादुर जीसीले बताए । गाउँमा बदमासी गर्ने र उनको भनाइ नमान्ने कोही देखे भने उनी नियन्त्रणमा लिइहाल्थे । ‘घरमा मान्छे थुन्ने छुट्टै कोठा बनाइएको थियो,’ पूर्णबहादुरले भने, ‘त्यो कोठा अझै छ ।’ कोठामा थुनी कोर्रा लगाएर मान्छेलाई ठीक पार्ने गरेको पूर्णबहादुरले बताए । खिमविक्रमका दुईवटा घरका बीचमा ठूलो आँगन छ । ‘त्यही आँगनमा उतिबेला कचहरी बस्थ्यो,’ उनले भने ।

शरण मागेर शासन

ओखरकोटका कीर्तिमान घर्ती क्षत्रीका दुई छोरामध्ये खिमविक्रम जेठा हुन् । ओखरकोटमा मुख्याली गर्दा स्थानीयलाई सताएपछि राजासँग गाउँलेले बिन्ती चढाए । त्यसपछि उनलाई आफ्नै दाजुभाइले गाउँनिकाला गरेका थिए । उनी बांगेमरोढको कौछेमा ठूलीआमाले दिएको जग्गामा शरण लिएर बसे । केही समयपछि यहाँ पनि मुख्याली समाले । त्यसबेला जिल्लाका बडाहाकिमसँग मिलेर उनले कौछे क्षेत्रमा सयौं रोपनी जग्गाजमिन जोडे । जिल्लाका ठूलाबडासँग मीत लगाउने, विवाह गर्ने गरेर सम्बन्ध राखे ।

गाउँमा राम्रो उब्जनी हुने खेतबारी सबैआफ्नो बनाए । चार/पाँच सय मुरी धान भित्र्याउँथे । उनको जग्गाजमिनमा खेतीपाती गर्न ओखरकोट, नारीकोट, बादीकोट, खुङबाट समेत मान्छे जम्मा हुन्थे । ‘सुरुमा शरणमा आएर पछि उनले गाउँमा शासन गरे,’ स्थानीय दिनबहादुर जीसीले भने, ‘उनका अगाडि त्यसबेला कोबोल्नू !’ २००९ सालमा गाउँले र खिमविक्रमबीच स्थानीय भ्याकुतेको खेतको स्वामित्व सम्बन्धमा विवाद हुँदा उनले पेस्तोल पड्काएपछि भागदौड मच्चिएको जीसीले सुनाए । उनका अनुसार खिमविक्रमसँग पेस्तोल र बन्दुकहरू प्रशस्त थिए । उनले धनसम्पत्ति भएकाहरूसँग मुद्दा लड्ने र आफ्ना पक्षमा उभिने गरिबलाई अन्नपात बाँड्ने गर्थे । गाउँमा बाटो खन्न स्थानीयलाई श्रममा लगाउँथे । आएनन् भने झारा तिराउँथे ।

खिमविक्रमको त्यो बेलाको सान बेग्लै थियो । जिल्लामा कसैको नभएको घर उनैको थियो । चाँदीको थालमा भात र चाँदीको कचौरामा तरकारी खान्थे । उनले प्रयोग गर्ने हुक्का पनि चाँदीकै थियो । मान्छे पस्न सक्ने जत्रा पानी राख्ने रोचे (ठूला गाग्री) दर्जनौं रहेको उनका छोरा महेन्द्रविक्रमले बताए । खिमविक्रमका चार श्रीमतीबाट आठ छोरा छन् ।

माहिला मोहनविक्रमलाई उनले काठमाडौं लगेर पढाएका थिए । सहरमा पढेर फर्किएपछि मोहनविक्रमले बुबासँगै विद्रोह गरे । घरमा रहेको भकारी फोरेर गरिबलाई अन्न बाँड्न थाले । मोहनविक्रम र खगुलालको अगुवाइमा जिल्लामा पहिलोपटक रातामाटामा कम्युनिस्ट पार्टीले श्रमशिविर चलायो । त्यस शिविरलाई भने खिमविक्रमको साथ रहेको मोहनविक्रम बताउँछन् । ‘बुबा सुरुमा सामन्ती हुनुहुन्थ्यो,’ उनले कान्तिपुरसँग भने, ‘त्यसैले मैले विद्रोह गरेँ । पछि प्रगतिशील हुँदै जानुभयो ।’ ६१ वर्षको उमेरमा क्यान्सर लागेर खिमविक्रमको मृत्यु भएपछि उनका छोराहरू अलग/अलग भएका थिए । ‘बुबाले प्रयोग गर्ने सामान हामी अलग हुँदा बाँडेर बिक्री गर्‍यौं,’ ठाहिला छोरा महेन्द्रविक्रमले भने, ‘केही अझै बाँकी छन् ।’ भान्छाकोठा बेग्लै थियो ।

खाना पकाउने पण्डित (बाहुन) राखेका थिए । ‘आमाहरूलाई काम गर्नुपर्ने थिएन,’ महेन्द्रले भने, ‘काम गर्ने नोकरचाकर धेरै हुन्थे ।’ खिमविक्रमकले मुद्दामामिला गरेर काठमाडौंबाट पाल्पाको बाटो हुँदै प्यूठान फर्कंदा गुल्मीबाट विवाह गरेर कान्छी श्रीमती भित्र्याएका थिए । ‘म मामाघरमा थिएँ,’ वसन्तकुमारी जीसीले भनिन्, ‘गाउँभरिका केटीहरू जम्मा गराएर मलाई रोजेर ल्याउनुभएको हो ।’ दुलही बनाएर बोकेर ल्याएको तामदान अझै सुरक्षित रहेको उनले बताइन् ।

८५ वर्षीया वसन्तकुमारी मच्छीमा छोरा हरिविक्रमसँगै बस्दै आएकी छन् । खिमविक्रमका माहिला छोरा मोहनविक्रमकी कान्छी श्रीमती दुर्गा पौडेल प्यूठानबाट संघीय सांसद छिन् । घाहिला छोरा राजेन्द्रविक्रमकी श्रीमती पवित्रा जीसी झिमरुक गाउँपालिकाको उपाध्यक्ष हुन् ।



प्रतिक्रिया दिनुहोस !