६ कार्तिक २०८१, मंगलबार

चीनमा रहेका नेपालीलाई फागुन ३ गते काठमाडौं ल्याइने

प्रकाशित मिति :  12 February, 2020 9:42 am


२९ माघ, काठमाडौं ।
चीनमा रहेका नेपाली विद्यार्थीलाई फागुन ३ गते स्वदेश ल्याइने भएको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले फागुन ३ गते शनिबार चीनको कोरोना संक्रमित क्षेत्रमा रहेका नेपालीलाई स्वदेश फकाईने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।

वुहानमा रहेका १८० नेपाली विद्यार्थीले नेपाल आउनका लागि आवेदन दिएका छन्। उनीहरुलाई ल्याउनका लागि नेपाल एयरलाइन्सको जहाज पठाइने मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।

चीनबाट नेपाल ल्याइने विद्यार्थीलाई भक्तपुरको खरिपाटीमा राखिने छ । चीनबाट नेपाल ल्याइने नेपालीलाई राख्नका लागि १ सय ९९ वटा ‘क्वारेन्टाइन’ कोठाहरु तयारी अवस्थामा राखिएको छ ।

नेपालीलाई स्वदेश फर्काउनका लागि आवश्यक सबै तयारी पूरा गरिएको र पहिलो चरणमा १ सय ८५ जनालाई स्वदेश ल्याइन लागिएको स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले बताए ।

सरकारले चीनमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउनका लागि लामो समयसम्म छलफल गरेपनि राख्ने ठाउँको टुंगो लगाउन नसक्दा उनीहरुलाई स्वदेश ल्याउने मिति तय गर्न सकेको थिएन ।

चीनबाट फैलिएको कोरोना भाइरसको महामारीबाट विश्वभर मृत्यु हुनेको संख्या ११ सय नाघेको छ भने सङ्क्रमित हुनेको सङ्ख्या ४४ हजार ६ नाघेको अन्तराष्ट्रिय सञ्चारमाध्म सीएनएनले जनाएको छ ।

चीनबाट ल्याइने नेपालीको निगरानीका लागि ८६ जना स्वास्थ्यकर्मीलाई तालिम दिइएको छ।

सरकारले चीनमा रहेका नेपालीहरुले चीनमा हालसम्म सुरक्षित रहेको भन्दै चाँडो भन्दा चाँडो नेपाल सरकारले उद्दार गरोस् भन्ने आग्रह गर्दै
आएपनि ल्याउन ढिला गरेको भन्दै विद्यार्थीका अभिभावकले विरोध जनाउँदै आएका थिए।



प्रतिक्रिया दिनुहोस !