९ आश्विन २०७८, शनिबार

दल फुटाउने अध्यादेश फिर्ता गराएर जसपा सरकारमा जाने

प्रकाशित मिति :  २८ भाद्र २०७८, सोमबार १४:४३


काठमाडौं । दल फुटाउने अध्यादेश फिर्ता गराएर जनता समाजवादी पार्टीले सरकारमा जाने निर्णय गर्ने भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेका नेता माधवकुमार नेपाल र जसपा नेता महन्थ ठाकुरलाई सरकार बनाउन सजिलो हुने गरी ल्याएको दल फुटाउने अध्यादेशबाट सत्ता साझेदार दल जनता समाजवादी पार्टीका नेता खुशी छैनन् ।

उनीहरूले देउवालाई दल फुटाउने अध्यादेश फिर्ता लिन भनेका छन् ।

दल फुटाउन धेरै सांसदको आवश्यकता नहुने भन्दै यो अध्यादेश फिर्ता भएपछि सरकारमा जाने निर्णय गरिने पार्टीका नेता मृगेन्द्रसिंह यादवले जानकारी दिएका छन् ।

देउवालाई सरकार चलाउन गाह्रो भएकाले दल फुटाउने अध्यादेश ल्याइएको थियो । त्यो राजनीतिक आवश्यकता थियो तर दलहरू जतिखेर फुट्न सक्ने अवस्थामा पुगेको उनले जनाए ।

चार जना सांसद चिया पिउँदा पिउँदै निर्णय गरे पार्टी फुटने अवस्था आएको छ ।त्यसैले सरकारले यो अध्यादेश फिर्ता लिए सरकारमा जाने उनले जनाए ।

देउवालाई सरकार बनाउन समर्थन दिने जनता समाजवादी पार्टी र नेकपा ( एकीकृत समाजवादी )को तर्फबाट सरकारमा सहभागिता जनाउन बाँकी रहेको छ ।

देउवाले अन्य दल सरकारमा सामेल गराउन बाँकी रहेकाले आफ्नो दलबाट पनि मन्त्री थप्न सकिरहेका छैनन् । आफू समेत पाँच जनाको मन्त्रिपरिषद् विस्तार गर्न देउवाले सकेका छैनन् ।



प्रतिक्रिया दिनुहोस !