सरकारले बाढी र डुबानको समाधान योजना ल्याउने देउवाको प्रतिबद्धता
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी र डुबानको समस्यालाई दीर्घकालीनरुपमा समाधान हुनेगरी पहल गरिने बताएका छन् ।
शुक्रबार कैलालीको टीकापुर नगरपालिका–८ वनगाउँ क्षेत्रमा बाढीका कारण भएको क्षतिको निरीक्षण गर्ने क्रममा प्रधानमन्त्री देउवाले बाढी र डुबानको समस्या दीर्घकालीनरूपमा समाधान हुनेगरी योजना बनाएर काम गरिने बताएका हुन् ।
अहिले बाढी, पहिरो र डुबानका कारण ठूलो क्षति भएको छ । यो विपत्को समयमा तत्काल राहत, उद्धार र नागरिकलाई सहानुभूति आवश्यक छ । त्यसमा सरकार लागिसकेको बताउँदै प्रधानमन्त्री देउवाले भने “ त्यसपश्चात् दीर्घकालीनरूरुपमा राहतका लागि सरकारले योजना बनाएर अगाडि बढ्छ ।”
बर्सेनि कैलालीमा बाढी र डुबानको समस्या झेल्दै आएका नागरिकलाई दीर्घकालीनरुपमा व्यवस्थापन हुनेगरी सरकारले योजना बनाउने बताउँदै देउवाले बाढी र डुबानका कारण किसानले ठूलो क्षति व्यहोर्नुपरेकोले दीर्घकालीन राहत प्याकेजको सरकारले व्यवस्थापन गर्ने स्पष्ट पारे ।
प्रधानमन्त्री देउवा, अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले लगायतको टोलीले कैलालीको कैलारी गाउँपालिका, भजनी नगरपालिका, टीकापुर नगरपालिका र जानकी गाउँपालिकाका बाढी ग्रस्त क्षेत्रको निरीक्षण गरेको हो ।
कैलालीमा बाढीका कारण सबैभन्दा बढी प्रभावित भएको टीकापुर नगरपालिका र जानकी गाउँपालिकामा हजारौँ परिवार विस्थापित भएका छन् भने सयौँ बिघा क्षेत्रफलमा लगाइएको अन्न तथा तरकारी बाली पूर्णरूपमा नष्ट भएको छ ।
(रासस)








