१८ बैशाख २०८१, मंगलबार

रोल्पा अस्पताल निर्माणमा ढिलासुस्ती, निर्माण अनिश्चित बन्दा विशेषज्ञ सेवा शुरू भएन

प्रकाशित मिति :  8 November, 2021 9:44 am


उमा केसी- 

रोल्पा । रोल्पा जिल्ला अस्पताल निर्माणमा ढिलासुस्ती देखिएको छ । निर्माण आरम्भ भएको लामो समय वितिसक्दा पनि निर्माण सम्पन्न नहुँदा अस्पताल निर्माण अनिश्चित बनेको छ ।

निर्माण सम्पन्न गर्नुपर्ने सम्झाताको मिति नाघेको १५ महिना पार गरिसक्दा समेत निर्माण सम्पन्न भएको छैन। आर्थिक वर्ष ०७६÷०७७ को आषाढ मसान्तसम्म निर्माण गरिसक्नु सम्झौता रहेको छ ।

निर्माण व्यवसायीको लापरवाहीले अस्पताल भवन समयमा नबनेको सरोकारवालाहरुको आरोप छ । “सम्झौता अवधि सकिएको १५ महिना पार गरिसक्दा समेत भवन निर्माणको तदरुकता देखिँदैन, यसमा मुख्य जिम्मेवारी ठेकेदारकै छ,” रोल्पा अस्पताल विकास समितिका अध्यक्ष फविन्द्र आचार्यले भने ।

स्तरवृद्धी भई ५० शैया स्वीकृत सो अस्पताल भवन समयमै नवन्दा सेवा प्रवाहमा समस्या आउनुको साथै विरामीहरु पनि प्रत्यक्ष प्रभावित भएको अचार्यको भनाइ छ।

स्तरोन्नती गरिएके अस्पतालका लागि आवश्यक मेसिनरी सामान चिकित्सक, स्वास्थ्यकर्मी र अन्य जनशक्तिको समेत स्वीकृती भईसके पनि भवन अभावमा चिकित्सक रोल्पा आउन नसकेको उनले बताए ।

निर्माण व्यवसायी खगेन्द्र वुढामगरले निर्माणको काम गर्दै आएका छन् । निर्माण व्यवसायी वुढामगरसँग सम्पर्क गर्न प्रयास गर्दा फोन सम्पर्क हुन सकेन ।

सरोकारवालाहरुका अनुसार निर्माण व्यवसायी वुढामगरले फोन उठाउनै छाडेका छन् । २÷४ जना कामदार बाहेक साईटमा थप मजदुर परिचालन गरेका छैनन् ।

उपकरण, चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी लागि आवश्यक कार्यकक्ष र क्वाटर नबन्दा बोलाउन नसकिएको हो । “जिल्लामै पहिलो पटक एम.डी.को दरवन्दी स्वीकृत भई तिहार लगत्तै हाजिरी हुने भनिएपनि भवन अभावले एम.डी.आउने कुरा पछि थकेलिदियो,” आचार्यले भने ।

अस्पताल भवन ३३ करोडको लागतमा निर्माण गर्न थालिएको रोल्पा अस्पतालका सूचना अधिकृत कुलवहादुर डाँगीले जानकारी दिए ।

जिम्मेवारी लिएका अधिकारीहरुले ढिलासुस्ती गरिदिंदा संविधानले दिएको मौलिक हक समेत उपभोग नपाएको महिला अधिकारकर्मी तीर्था आचार्यको भनाई छ । “सामान्य स्वास्थ्योपार गर्न समेत जिल्ला वाहिर जानुपर्दा पैसा र समयको नोक्सानी व्यहोर्नुपरेको छ आचार्यले भन्नु भयो,” उनले भनिन्, “भवन निर्माण समयमै भए जिल्लावाटै विशेषज्ञ सेवाले जिल्लावासी लाभान्वित हुने थिए।”

“स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा निर्माण व्यवसायीले गरेको खेलवाड सामान्य हैन, निर्माण व्यवसायीहरुले कुनै न कुनै दलको फेरो समातेर दलीय सुरक्षा घेरामा बस्ने भएकाले यस्ता लापरवाही बढेको हो,” अध्यक्ष आचार्यको भनाइ छ ।

कारवाही गर्न मुख्यमन्त्रीको निर्देशन

मुख्यमन्त्री केसीले जिल्ला अस्पतालको भवन निर्माणमा भएको ढिलासुस्तीप्रति पनि चासो व्यक्त गरेका छन् ।

केही दिन अघि रोल्पामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले ढिलाई गर्ने निर्माण व्यवसायीलाई छानविनको दायरामा ल्याएर निर्माण कार्यलाई द्रुतता दिन प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन् ।

“रोल्पा अस्पतालको निर्माणमा भएको ढिलाई प्रति प्रमुख जिल्ला अधिकारीले तुरुन्त जाँचबुझ गरी तुरुन्त कारवाही प्रक्रिया अगाडि बढाउनुहोस्, राज्यकोले लिएको कार्यक्रमलाई नै छिटो रुपमा नै अगाडि बढाउनको पर्दछ, भवन निर्माणमा ढिलाई गर्नु हुँदैन जसलाई पनि कारवाही गर्नु पर्दछ” उनले भने ।

 



प्रतिक्रिया दिनुहोस !