४ जेष्ठ २०८१, शुक्रबार

बाँकेमा ‘कैलाश मानसरोवर’ निर्माण शुरू

प्रकाशित मिति :  18 February, 2020 11:01 am


बाँके, ६ फागुन। बाँकेमा पर्यटन प्रवद्र्धनका लागि ‘कैलाश मानसरोवर’ निर्माण शुरू

बाँकेको बैजनाथमा पवित्र धार्मिकस्थल कैलाश मानसरोवरको प्रतीकात्मकस्थल निर्माणकार्य शुरु भएको छ ।
हिन्दूहरुको पवित्र धार्मिक गन्तव्य मानसरोवर कैलाश जान चाहने तर नसक्ने पर्यटकलाई मध्यनजर गर्दै प्रदेश नं ५ सरकारले बाँकेको बैजनाथ–६ लालपुरमा मानसरोवरको प्रतीकात्मकस्थल निर्माण प्रक्रिया शुरु गरेको हो ।

सोमबार प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले वनस्पति उद्यानसहितको कैलाश मानसरोवरको प्रतीकात्मकस्थलको शिलान्यास गरेपछि यस क्षेत्रका पर्यटन व्यवसायीसमेत उत्साहित भएका छन् । एक वर्षअघिदेखि नै निर्माणको प्रक्रिया चले पनि मुख्यमन्त्रीद्वारा शिलान्यास भएपछि मानसरोवर प्रतीकात्मकस्थल बन्नेमा आफू आशावादी भएको होटल व्यवसायी महासङ्घ प्रदेश नं ५ का अध्यक्ष भाष्कर काफ्लेले बताए ।

उनका अनुसार नेपालको बाटो हुँदै बर्सेनि हजारौँ पर्यटक तिब्बतमा पर्ने मानसरोवर कैलाशको भ्रमणमा जाने गर्दछन् तर धेरैले चाहना राख्दाराख्दै पनि जान सक्ने अवस्था छैन । बाँकेमै कैलाश मानसरोवरको प्रतीकात्मकस्थल निर्माण हुन सके आन्तरिक तथा बाह्य धार्मिक पर्यटक प्रवद्र्धन गर्न सकिने अध्यक्ष काफ्लेको भनाई छ ।

प्रदेश सरकार उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयबाट विनियोजित रकममध्येबाट डिभिजन वन कार्यालय बाँकेको आर्थिक वर्ष २०७६-७७ को वार्षिक बजेट कार्यक्रमअन्तर्गत वनस्पति उद्यानको योजना अगाडि बढेको छ ।

राज निर्माण सेवा नेपालगञ्जसँग एक करोड छ लाख आठ हजार २ सय ९१ मा २०७६ पुस २४ गते सम्झौता भई २०७७ असार २५ गतेसम्म निर्माण सम्पन्न हुने गरी निर्माण कम्पनीले काम शुरु गरेको डिभिजन वन कार्यालय बाँकेका डिभिजनल वन अधिकृत मोहन श्रेष्ठले बताए । हिन्दू धर्मअनुसार भगवान् शिव र पार्वतीको बासस्थान क्षेत्र भएकाले हिन्दूहरुले यो स्थानलाई पवित्र तीर्थस्थलका रूपमा लिएको पाइन्छ ।



प्रतिक्रिया दिनुहोस !