सर्वोच्च र बार गतिरोध समाधान संवादबाट गर्न प्रधानन्यायाधीश राणाको आग्रह
काठमाडौं । सर्वोच्च अदालत र बार एसोसिएसनबीचको गतिरोध समाधान गर्नका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले दुई पृष्ठ लामो विज्ञप्ति निकालेर सवांदको आग्रह गरेका छन् ।
प्रधानन्यायाधीश राणाले उनलाई नै सर्वोच्च अदालत प्रवेशमा रोक लगाउन दिनदिनै धर्ना दिइरहेको नेपाल बारलाई संवादका लागि आह्वान गरेका हुन् ।
आज सोमबार सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले प्रधानन्यायाधीश राणाले जारी गरेको दुई पृष्ठ लामो विज्ञप्ति पढेर सुनाए ।
विज्ञप्ति राणाले गत बिहीबार बारको धर्नाका क्रममा भएको घटनाप्रति दुःख व्यक्त गरेका छन्।
‘आज न्यायपालिकाभित्र उत्पन्न भएको गतिरोधका कारण नागरिकका प्रश्नहरू हामीतर्फ नै सोझिएका छन् । जनताले विश्वासको शीरमा राख्दै आएको यस संस्थाको गरिमा र सम्मानलाई जोगाउनु न्यायपालिका भित्रका सबै अवयवहरूको साझा दायित्व हो,’ राणाले भनेका छन्।
प्रधानन्यायाधीश राणाले न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदनसहित विभिन्न समयमा न्यायपालिका स्वयंले गठन गरेका आयोगका प्रतिवेदनहरू कार्यान्वयन गर्ने सन्दर्भमा खुला हृदयका साथ अग्रसरता लिन आफू तयार रहेको उनले जनाएका छन्।
राणाको राजीनामा माग गर्दै विगत केही दिनदेखि वकिलहरूले आन्दोलन गरी आएका छन् ।








