१२ बैशाख २०८१, बुधबार

रोल्पामा नेतृ जयपुरी घर्तीको ‘नयाँ अभियान’

प्रकाशित मिति :  21 November, 2021 12:19 pm


काठमाडौं । रोल्पाकी नेकपा (माओवादी केन्द्र)की नेतृ जयपुरी घर्ती आइतबार रोल्पाको सुनिलस्मृति गाउँपालिकाका २ वटा वडा अधिवेशनको कार्यक्रममा देखिइन् ।

संघीय संसदको शिक्षा तथा स्वास्थ्य समिति सभापति समेत रहेकी घर्ती पूर्वी रोल्पाको ‘रणनीतिक राजनीतिक क्षेत्र’मा वडा सम्मेलनमा सहभागि भएकी हुन् । माओवादीको ‘आधार क्षेत्र’ रोल्पामा पछिल्लो समय केन्द्रीय नेताहरूले आफ्नो गतिविधि बढाउँदै लगेका छन् ।

वडा सम्मेलनकै अवसर पारेर जिल्ला दौडाहामा निस्किनेमा केन्द्रीय नेतामा भने घर्ती मात्रै हुन् । स्थानीय,प्रदेश र संघीय चुनावको ‘कल्याङमल्याङ्’ सुरु भइरहेका बेला सभापति घर्ती एक्लै रोल्पा यात्रामा निस्किएकी हुन् ।

उनले भने आफू एक्लै कार्यक्रममा भने ननिस्किएको बताइन् । उनले लुम्बिनी सञ्चारसँग भनिन्,“महरा सर (कृष्णबहादुर महरा)पनि जिल्ला जाँदै हुनुहुन्छ । मेरै गाउँपालिकाको कार्यक्रममा उहाँ जाने भएकाले पनि म रोल्पा आएको हो ।” तर वडा सम्मेलन नै पारेर भने महरा रोल्पा गएका थिएनन् ।

यसअघि रोल्पामा कार्यक्रम हुँदा घर्ती प्रायः रोल्पामा एक्लै कमै जाने गरेकी थिइन् । गृह जिल्ला जाँदा महरासँगै, वर्षमान पुन, पूर्वसभामुख ओनसरी घर्ती लगायतसँग समूहमै जाने गरेकी थिइन् । तर वडा सम्मेलनको अवसर पारेर घर्ती ‘सुटुक्क’ एक्लै निस्किएकी छन् ।

के असन्तुष्ट छिन् घर्ती ?

जनयुद्धकालदेखि नै घर्ती रोल्पाको चर्चित नेतामा पर्छिन् । छोटो समय (वि.सं. २०६८ साउन १६ – वि.सं. २०६८ भदौ १२ गते) सम्म महिला,बालबालिका तथा समाज कल्याणमन्त्री बनेकी घर्ती त्यसपछि कार्यकारी राजकीय पदको अवसर पाएकी छैनन् ।
२०६९ सालमा पार्टी विभाजन हुँदा बैद्य नेतृत्वको पार्टीमा गएकी घर्ती पछि फेरि प्रचण्ड नेतृत्वकै पार्टीमा फर्किएकी थिइन् ।

पार्टी विभाजन हुँदा अलग भएर फेरि फर्किएका धेरै जसो नेताले पटक पटक अवसर पाइसकेका छन् । पार्टीमा रहेका रोल्पाकै धेरैजसो नेताले सबैभन्दा बढी अवसर पाउने गरेका छन् । केही समय पहिले पार्टीभित्र कार्यविभाजनमा घर्तीले केन्द्रीय विभागको जिम्मेवारी समेत पाइनन् ।

विभागको जिम्मेवारी नपाउनु, सिनियर हुँदाहुँदैपनि वर्तमान मन्त्रिपरिषद्मा समेत अवसर नपाएपछि उनी असन्तुष्ट भएको उनी निकट स्रोतले दाबी गर्छ । उनी निकट स्रोत भन्छ,“उहाँले रोल्पाकै वरिष्ठ नेताको चुपुवामा परेको अनुभूति गर्न थाल्नुभएको छ, आफू निरन्तर जिल्लाकै नेताबाट पेलिन थालिएको हो कि झै महसुस गर्नुभएको हो कि जस्तो लाग्छ ।”

घर्तीले सुनिलस्मृति गाउँपालिका छनौट गर्नुको अर्थपनि रणनीतिक हिसाबले हेरेको कतिपयको आँकलन छ । संघीय संरचनामा जानुअघि रोल्पा २ वटा निर्वाचन क्षेत्र थियो । घर्ती साविक निर्वाचन क्षेत्र नम्बर-१ बाट प्रत्यक्षतर्फ संविधान सभा चुनाव जितेकी थिइन् । घर्तीले आफू सांसद हुँदा निर्वाचन क्षेत्र नम्बर १ मा स्वास्थ्य शिक्षा लगायतका पूर्वाधारमा महत्वपूर्ण काम गरेको बताउने गरेकी छिन् ।

माओवादीको आधार मानिने रोल्पामा प्रभावशाली नेता धेरै छन् । एउटा मात्रै संघीय निर्वाचन क्षेत्र भएपछि व्यवस्थापनमा समस्या छ । गत निर्वाचनमा माओवादी केन्द्रभित्र रोल्पाका सबैभन्दा सिनियर कृष्णबहादुर महरा दाङ निर्वाचन क्षेत्र नम्बर २ मा झारेर अर्का प्रभावशाली नेता वर्षमान पुनलाई रोल्पाबाट उठाइएको थियो ।

आगामी चुनावमा प्रतिनिधि सभा सदस्यका लागि रोल्पामा माओवादी केन्द्रभित्रै कडा प्रतिस्प्रधा हुने अनुमान छ । महरा आफै रोल्पामा सकृय देखिन्छन् भने पुन आफ्नो निर्वाचन क्षेत्र भएकाले सकृय स्वभाविक छ ।

पूर्वसभामुख ओनसरी घर्तीको व्यस्थापन अर्को चुनौती छ । लामो समय माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रमुख स्वकीय सचिव रहेका रोल्पाकै जोखबहादुर महरा केही समय अघि मात्रै ‘फिल्ड राजनीति’मा उत्रिएका छन् । लुम्बिनी प्रदेशका अहिलेका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ अर्का आकांक्षी हुन । पेलाईमा परेको अनुभव गरेकी जयपुरी घर्तीको व्यवस्थापन बढी जटिलता बन्ने छ ।

स्रोतका अनुसार घर्तीले संघीय संसदका लागि प्रत्यक्षतर्फ आफ्नो दाबी कायम रहने आफू निकट नेता कार्यकर्तासँग बताउने गरेकी छन् । महरा दाङबाटै उठ्दापनि त्यति जोखिममा छैनन् । रोल्पा रुकुमबाट बासाइँ सरेका वासिन्दाको बाहुल्य दाङ क्षेत्र नम्बर २ मा अन्य नेता उठ्दा भने अफ्ठेरो पर्न सक्ने माओवादी केन्द्रकै बुझाइ छ ।

त्यसैले सम्भवत घर्तीले जिल्लामा आफ्नो प्रभाव बढाउने वा कुनै ढंगबाट प्रभाव पार्ने प्रयास हुन सक्ने आँकलन छ । रोल्पाकै कतिपय नेताहरू पनि नेतृ घर्ती व्यवस्थापन नगरे चुनौती हुन सक्ने अनुमान गर्न थालेका छन् ।

रोल्पाका स्थानीय एक नेताले भने,“उहाँ व्यक्तिगत स्वार्थ नै राखेर पार्टीलाई अफ्ठेरो पार्ने मान्छे त होइन तर जिल्लाकै अन्य नेताहरूले धेरै अवसर पाउँदा पनि माननीय ज्यूले कम अवसर पाएको साँचो हो, यसको प्रभाव भोलीका दिनमा जिल्लामा नपरोर भनेर सचेत भने हुनुपर्छ ।”

घर्तीले पनि जिल्लामा सधै यस्तै रहे कसैका लागि पनि सहज नहुने बताउन थालेकी छन् । आफू निकट नेता कार्यकर्तासँग‘पार्टी,बिचार संगठन, सहकर्मी, अग्रज भनेर कुनै स्वास्र्थ नराखेर काम गर्दापनि अवस्था यस्तै हो सधै सहेर मात्रै बस्ने कुरा त कसरी हुन्छ’ भनेर गुनासो गर्न थालेकी छिन् ।

रोल्पामा यसपटक छलफलमा बसेका माओवादी केन्द्रका कतिपय स्थानीय नेताले नेतृ घर्तीले जिल्लामा ‘नयाँ अभियान’ सुरुवात गर्न खोजेको अनुभूति गरेको दाबी गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !