१६ चैत्र २०८०, शुक्रबार

एक प्रतिशतको कब्जामा सेयर बजार

प्रकाशित मिति :  21 November, 2021 1:10 pm


अम्बिका शर्मा

हिजोआज तरकारी पसल होस् या किराना पसल यात्रा गर्दा होस् या घरमा जमघट हुँदा होस् जहाँ पनि सेयर बजारकै चर्चा छ सेयरकै कुरा छन् । अहिले वास्तवमै सेयर बजार यिनै टोले हल्ला चर्चा र गसिपमै हल्लिरहेको छ भन्दा फरक नपर्ला । सेयर बजारसँग सम्बन्धित कुनै पनि संस्थाले गर्ने निर्णयले बजारलाई वास्तविक असर कत्तिको पार्छ भनेर सोच्ने अध्ययन गर्नु भन्दा हल्लाको पछाडि लाग्ने झुण्ड बढ्दो छ, जसले सेयर बजारलाई जोखिमपूर्ण बनाएको छ ।

नेपाली सेयर बजार कम्पनीको प्रगति र उनीहरूको वित्तीय सूचकका आधारमा भन्दा पनि नीतिगत तथा राजनीतिक घटनाका कारण छिटो उतारचढाव देखिने गरेको मानिए पनि केही लगानीकर्ताले आफ्नो स्वार्थमा बजारमा चलखेल गर्दै बजार घटाउने तथा बढाउने गरेको पाइएको छ।

पछिल्लो समय नेपाल राष्ट्र बैंकले एक व्यक्ति वा संस्थाले एउटा वित्तीय संस्थाबाट ४ करोड रुपैयाँ र वित्तीय प्रणालीबाट १२ करोड रुपैयाँसम्म मात्र सेयर धितो कर्जा सीमा राखेपछि बजारमा सामान्य प्रभाव देखिएको थियो । धेरै लगानीकर्ता यसका पक्षमा देखिए पनि बजारका केही लगानीकर्ताहरूले यसको विरोधमा आन्दोलन नै घोषणा गरेपछि बजारमा उच्च अंकको उतारचढाव आएको थियो ।

सेयर बजारमा मार्जिन प्रकृतिको सेयर धितोमा कर्जाभन्दा ओभरड्राफ्ट कर्जा (ओडी) बढी रहेको अवस्थामा १२ करोड सेयर धितो कर्जा सीमाले बजारमा खासै असर नपर्ने केही विज्ञले बताउँदै आएका छन् । एकाघर परिवारका सदस्यलाई एउटै ऋणीका रूपमा मानिएकाले सो घरपरिवार (एक सदस्य वा धेरै) ले एक संस्थाबाट बढीमा ४ करोड र सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट बढीमा १२ करोड रुपैयाँभन्दा धेरै सेयर धितोकर्जा लिन नपाइने व्यवस्था गरिएको राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले जानकारी दिए ।

“हामीले सेयर बजारलाई प्रभावित पार्ने गरेर बनाएको नीति हैन,” प्रवक्ता ढकालले भने “हामीले त बैंक–वित्तीय संस्थामा कर्जा कुन क्षेत्रमा गएको छ, धेरै क्रेडिट जोखिम कहाँ छ त्यो जोखिम न्यूनीकरण गर्नको लागि उपकरण प्रयोगमा ल्याएको हो ।”

प्रवक्ता ढकालका अनुसार १२ करोड भन्दामाथि मार्जिन प्रकृतिको सेयर धितोमा कर्जा लिने १६२ जना, ४ करोडभन्दा माथि कर्जा लिने ६३६ जना रहेका छन् भने अहिलेसम्म कुल संख्या ८ हजार ५६४ जना ऋणीले १ खर्ब ४ अर्ब ३७ करोड ७ लाख ७२ हजार ३ सय ६२ रुपैयाँ मार्जिन प्रकृतिको सेयर धितोमा कर्जा लिएका छन् ।

राष्ट बैंकले सेयर धितोमा कर्जा सीमा प्रावधान लागु भएपछि बजारमा सामान्य प्रभाव देखिएपनि बजारका केही लगानीकर्ताहरूले यसको विरोधमा गर्भनरको राजीनामा माग गर्दै आन्दोलन गर्ने, धर्ना दिने कामसमेत गरे ।

राष्ट्रबैंकले मौद्रिक नीति मार्फत् ल्याएको १२ करोड सेयर धितोमा कर्जा सीमालाई लिएर धेरै ठूलो विषय बनाइ बजार विचलित हुनुपर्ने अवस्था नभएको नेपाल धितोपत्र बोर्डका कार्यवाहक अध्यक्ष निरज गिरी बताउँछन् ।

“योभन्दा पहिला पनि प्रमोटर सेयर पब्लिकमा परिर्वतन गर्न दिने भन्ने कुरा आएको थियो, बजारमा ५१ प्रतिशतसम्म आउँछ भन्दा त्यतिखेर पनि बजारमा निकै हल्ला भयो तर अलि समय बजार घट्यो तर पछि नियन्त्रणमा आयो,” गिरीले भने “यो राष्ट्र बैंकको आफ्नो नीति हो । मार्जिन प्रकृतिको लगानी ४ र १२ करोडको सीमामा आउन १ वर्षको समय दिएको छ अब आजको भोलि नै ४ करोड र १२ करोडमा झार्नुपर्ने भनेको भए बल्ल बजारमा ‘प्यानिक’ हुनुपर्ने अवस्था हुने थियो, लगानीकर्ताले बिस्तारै सेयर बेचेर तोकिएको सीमामा आउन सक्ने समय भएको हुँदा अहिलेको बजार प्रभावित हुनुपर्ने अवस्था होइन ।”

अध्यक्ष गिरीका अनुसार पुँजी बजार भनेको सूचनाको बजार हो, बजारको उतार–चढाव सूचनाको आधारमै हुने हो । सेयर बजारमा एउटा घटाउने समूह र अर्को बढाउने समूह हुन्छन् त्यसैले कुन बेला कुन हावी हुन्छ, कुन बेला कुन, जसकारण बजार तलमाथि हुन्छ, बजार तलमाथि हुनु पनि राम्रै कुरा भएकोले लगानीकर्ताले आफूले किन्न लागेको सेयरको वित्तीय अवस्था राम्रोसँग अध्ययन गरेर लगानी गर्दा डराउनु पर्दैन ।

अहिले सेयर बजारबारे सामाजिक सञ्जालहरू, विशेषतः क्लब हाउसदेखि अन्य विभिन्न ग्रुपहरूमा छलफलमा सहभागी हुनु राम्रै कुरा भएको भन्दै गिरीले थपे “यहाँबाट सही सूचना मात्रै लिने गर्नुपर्छ सामाजिक सञ्जालमा आउने सूचना गलत हो कि सही स्वयं छुट्याउन सक्नुपर्छ ।”

गत भदौ २० गते आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक हालसम्मकै भारी अंक १०८ अंकले घटेर २८१८.७२ अंकमा झरेको थियो । २१ गते सोमबार फेरि १६१.९४ अंकले बढेर लागेर २९८०.७९ अंकमा पुग्यो भने, त्यसयता पनि बजार घट्ने क्रम जारी छ । भदौ महिनाको अन्तिमसम्म पनि बजारमा निकै उतारचढाव आयो । अघिल्लो दिन भारी अंकले घटेको बजार भोलिपल्ट भने अर्थमन्त्रीले गभर्नरसँग छलफल गरेको समाचारले पुनः भारी अंकले फर्किएको थियो । एक दिनको अन्तरालमा नै उच्च उतारचढावमा बजार हल्लाले भूमिका खेलेको विश्लेषकहरू बताउँछन् ।

पुराना, ठूला र संस्थागत लगानीकर्ताले सेयर बजारमा कर्जा लिएरै सेयर कारोबार गर्ने हुनाले राष्ट्र बैंकको १२ करोड कर्जा सीमाले बजारलाई प्रभावित पार्ने नेपाल पुँजी बजार संघकी अध्यक्ष राधा पोखरेलल बताउँछिन् ।

“राष्ट्र बैंकले बेला बेलामा नीतिहरु परिर्वतन गर्ने भएको बजारमा प्रत्यक्ष असर पर्ने गर्दछ,” अध्यक्ष पोखरेल भन्छिन् “कहिले लघुवित्तलाई सीमा (क्याप) लाइदिन्छ, कहिले लगानीकर्तालाई कर्जा सीमा लगाउँछ, राष्ट्र बैंकले छुट्टाएको ४० प्रतिशत सेयर धितो कर्जामा २० प्रतिशत पनि सेयर बजारमा आएको छैन, बैंकहरूले पनि कसलाई कति ऋण दिँदा हुन्छ बुझ्ने कुरा हो, अब राष्ट्र बैंकले १२ करोड सीमा तोक्नुु भनेको सेयर बजार प्रभावित पारेर ठूला लगानीकर्तालाई बजारबाट निकाल्न खोज्नु हो ।”

“राष्ट्र बैंकको यो नीतिले लगानीकर्तालाई हातखुट्टा बाँधेर पौडी खेल भनेर छोड्दिएको जस्तै हो,” पोखरेलले थपिन्।

कति लिए लगानीकर्ताले सेयर धितोमा कर्जा ?

राष्ट्र बैंकको तथ्यांकअनुसार गत आर्थिक वर्षको असार मसान्तसम्म विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबाट लगानीकर्ताले १ खर्ब ४ अर्ब ३७ करोड ७ लाख ७२ हजार ३ सय ६२ रुपैयाँ मार्जिन प्रकृतिको सेयर धितोमा कर्जा लिएका छन् ।

कुल ऋणीमध्ये ६ हजार ९१० जनाले १ करोड भन्दा कम कर्जा लिएका छन् भने १ करोड रुपैयाँदेखि ४ करोड रुपैयाँसम्म १ हजार १४३ जनाले गरी ४ करोडको सीमाभित्र ८ हजार ५६४ जनाले ४१ अर्ब ४४ करोड ६३ लाख रुपैयाँ सेयर धितोमा कर्जा लिएका छन् ।

त्यस्तै, ३८० जनाले १२ करोड रुपैयाँको सीमाभित्र रहेर २५ अर्ब ९५ करोड १४ लाख रुपैयाँ बढी सेयर धितोमा कर्जा लिएका छन् ।

यस्तै, ६३ जनाले राष्ट बैंकले तोकेको ४ र १२ करोडको कर्जा सीमाभन्दा माथि ९ अर्ब ५८ करोड ३० लाख रुपैयाँ कर्जा लिएका छन् ।

त्यस्तै ५८ जनाले २० करोड देखि ५० करोडसम्म सेयर धितोमा कर्जा लिएका छन् । यसरी ५० करोड सम्म ऋण लिने ५८ जनाले १७ अर्ब ९ करोड ७ लाख रुपैयाँ कर्जा लिएका छन् । ५० देखि १ अर्ब रुपैयाँसम्म ६ जनाले ४ अर्ब ३९ करोड ७९ लाख रुपैयाँ बढी सेयर धितोमा कर्जा लिएका छन् ।

यसैगरी, १ अर्ब माथि २ जनाले ऋण लिएका छन् । एक जना लगानीकर्ताले १ अर्ब ३४ करोड ९१ लाख ८३ हजार रुपैयाँ, अर्का लगानीकर्ताले १ अर्ब ३४ करोड ९१ लाख रुपैयाँ र अर्का दुई लगानीकर्ताले डेढ अर्बमाथि सेयर धितोमा कर्जा लिएका छन् । अर्का एक लगानीकर्ताले १ अर्ब ५० करोड रुपैयाँ र एक अर्ब ७५ करोड ३५ लाख ३४ हजार रुपैयाँ अर्का लगानीकर्ताले आफ्नो सेयर धितो राखेर बैंकबाट कर्जा लिएका छन् ।

यी हुन् सेयर बजारका ठूला खेलाडीहरू 

नेपालको सेयर मार्के ट केही सीमित व्यक्तिको हातमा चले जस्तो देखिन्छ । सेयर बजारमा १२ करोड माथि लगानी गर्ने केही सीमित व्यक्तिहरू रहेका छन् । जसमध्ये निर्मल प्रधान निरन्जनकुमार टिवरेवाला, शंकरलाल अग्रवाल, रमेश अग्रवाल, ज्ञानेन्द्रलाल प्रधान र राजाराम जोशीलगायत रहेका छन् । नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल, पूर्वअध्यक्षहरू अम्बिकाप्रसाद पौडेल र छोटेलाल रौनियार, राकेश अडुकिया पनि ठुला लगानीकर्तामै गनिन्छन् । त्यस्तै हाथवे इन्भेस्टमेन्ट, परर्शुराम कुँवर, चन्द्र ढकाल, पवन गोल्यान, विशाल गु्रप, राजेन्द्र खेतान, दुगड ग्रुप तथा अन्य ठु्ला व्यावसायिक घरानाहरूले सेयर बजारमा ठुलै लगानी गर्ने गरेका छन् ।

नेपालको सेयर बजारमा सबैभन्दा धरै उपस्थिति मारवाडी समुदायको छ भने उनीहरूको बैंक तथा वित्तीय क्षेत्र, बिम(ालगायत क्षेत्रमा लगानी र उपस्थिति बलियो रहेको छ ।

यसमा सेयर बजारका नामुद खेलाडी मानिने अग्रवाल, सांघाइ गु्रप, खेतान, टिवडेवाल समूहको लगानी उच्च रहेको छ ।

राष्ट्र बैंकको उक्त तथ्यांकअनुसार ४ र १२ करोड सेयर धितो कर्जा प्रावधानले प्रभाव पार्ने भनेको यिनै सीमित व्यक्तिहरूलाई मात्रै हो । यो नीतिले दोस्रो बजारमा सेयर कारोबार गर्ने ९ लाख लगानीकर्तामध्ये १२ करोड माथि कर्जा लिएर कारोबार गर्न १३१ जनालाई मात्र समस्या पर्ने देखिन्छ । जसले गर्दा सेयर धितो कर्जा सीमाका कारण अहिलेको सेयर बजारमा ठुलै प्रभाव पर्नुपर्ने कारण केही देखिदैन ।

बैंक तथा वित्तीय संस्थाहरूले प्रवाह गरेको सेयर धितोमा कर्जा 

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई मार्जिन प्रकृतिको सेयर धितो कर्जा प्राथमिक पुँजीको ४० प्रतिशत मात्रै दिने व्यवस्था गरेको छ, जसअनुसार बैंक तथा वित्तीय संस्थाहरूले गत आर्थिक वर्षको अन्त्यसम्म प्राथमिक पुँजीको १६.९३ प्रतिशत मार्जिन प्रकृतिको सेयर धितो कर्जामा लगानी गरेका थिए । गत वर्षको अन्त्य सम्ममा बैंक तथा वित्तीय संस्थाको प्राथमिक पुँजी ६ खर्ब २७ अर्ब ६५ करोड रहेकोमा १ खर्ब ६ अर्ब २८ करोड मार्जिन प्रकृतिको सेयर धितो कर्जामा लगानी गरेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकले प्राथमिक पुँजीको १६.३१ प्रतिशत, विकास बैंकहरूले ३०.०५ प्रतिशत र वित्त कम्पनीहरूले ९.९३ प्रतिशत मार्जिन प्रकृतिको सेयर धितो कर्जामा लगानी गरेका छन् ।

विकास बैंकहरूले औसतमा प्राथमिक पुँजीको ३०.०५ प्रतिशत, वाणिज्य बैंकले १६.३१ प्रतिशत र वित्त कम्पनीले ९.९३ प्रतिशतसम्म कर्जा लगानी गरेका छन् ।

वित्त कम्पनीहरू 

२०७८ असार मसान्तसम्ममा वित्त कम्पनीहरूले कुल कर्जाको ३.९६ प्रतिशत कर्जा मार्जिन प्रकृतिको सेयर धितोमा लगानी गरेका छन् । ०७८ असार मसान्तसम्म वित्त कम्पनीहरूले कुल ७१ अर्ब ५४ करोड कर्जा लगानी गरेकोमा २ अर्ब ८३ करोड लगानी मार्जिन प्रकृतिको सेयर धितोमा गरेको देखिन्छ ।

विकास बैंक 

२०७८ असार मसान्तमा विकास बैंकहरूले लगानी गरेको कुल कर्जामा मार्जिन प्रकृतिको सेयर धितो कर्जाको हिस्सा ३.२७ प्रतिशत रहेको छ । यस अवधिमा १८ वटा विकास बैंकले कुल ३ खर्ब ८३ अर्ब ४८ करोड कर्जा लगानी गरेकोमा मार्जिन प्रकृतिको सेयर धितो कर्जामा १२ अर्ब ५३ करोड लगानी गरेका छन् ।

गत आर्थिक वर्षको नाफा समायोजन गर्न बाँकी रहेको अवस्थामा ३ वटा बैंकले राष्ट्र बैंकले तोकेको प्राथमिक पुँजीको ४० प्रतिशत सीमा नाघेर सांग्रिला डेभलपमेन्ट बैंकले प्राथमिक पुँजीको ३८.५८ प्रतिशत र कामना सेवा विकास ३२.०७ प्रतिशत सबैभन्दा ध ेरै मार्जिन प्रकृतिको सेयर धितो कर्जा प्रवाह गरेका छन् ।

कुल १८ वटा विकास बैंकमध्ये १२ वटा विकास बैंकले मार्जिन प्रकृतिको सेयर धितोमा कर्जा लगानी गरेका छन् भने १२ विकास बैंकले लगानी गरेका छैनन् ।

वाणिज्य बैंक

२०७८ असार मसान्तको तथ्यांकअनुसार वाणिज्य बैंकहरूले कुल कर्जा लगानीका २.४५ प्रतिशत कर्जा मार्जिन प्रकृतिको सेयर धितोमा कर्जा लगानी गरेका छन् । यस अवधिमा वाणिज्य बैंकहरूले कुल ३७ खर्ब १५ अर्ब ५८ करोड कर्जा लगानी गरेका छन् । जसमध्ये ९० अर्ब ९२ करोड मार्जिन प्रकृतिको सेयर धितोमा लगानी गरेका छन् ।

कुल २७ वटा वाणिज्य बैंकमध्ये २५ वटाले सेयर धितोमा कर्जा लगानी गरेका छन् ।

(टक्सार म्यागजिन, असाेज २०७८ मा प्रकाशित) 



प्रतिक्रिया दिनुहोस !