पूर्व माओवादीहरूलाई ओलीले दिएको विश्वास संकटमा
काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनमा निर्विरोध निर्वाचित पदाधिकारी र बाँकी केही पदमा भइरहेको राजनीतिले एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्व माओवादी पार्टीका नेतालाई दिएको विश्वासमा चुनौती थपिदिएको छ ।
ओलीको उत्तराधिकारीको रूपमा बरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखरेल निर्वाचित भइसकेका छन् ।
उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरूङ र विष्णु रिमालविरूद्ध पनि कुनै उम्मेदवारी परेको छैन् ।
हुनत एमाले अध्यक्ष ओली आफैले चुनौतीको सामना गर्न उम्मेदवारी दिएका छन् । भीम रावलले अध्यक्षको पदमा उम्मेदवारी दिएपछि ओलीलाई उम्मेदवार दिन परेको हो ।
एमाले पसेका पूर्व माओवादी नेताहरूसमेतलाई पदाधिकारीमा स्थान दिएर केन्द्रीय समितिको सूचीलाई चुनौती परेपछि ओलीको बोली संकटमा परेको हो ।
पूर्व माओवादी निकट एक नेताका अनुसार ओलीले निर्विरोध सूची सार्वजनिक गर्छु भनी पूर्व माओवादीहरूलाई विश्वास दिलाएका थिए । तर त्यसो गर्न नसकेपछि ओलीको विश्वास संकटमा परेको हो ।
सबै पूर्व माओवादी नेताहरूलाई केन्द्रीय समितिको पदाधिकारीमा भने बमोजिमको स्थान दिन नसकिएको हो । तर अब दिइएको पदमा चुनौती थपिएको छ । महाधिवेशन प्रतिनिधिहरूले ओलीको भनाइ नमानी आवश्यक बहुमत माओवादी नेताहरूको पक्षमा नआउने संकट रहेको छ ।
यसअघि आइतबार राति अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मतिका लागि उनीहरूको नाम बन्दसत्रमा पेस गरेका थिए ।
यी पाँच जनाबाहेक अरू पदाधिकारीमा भने चुनाव हुने भएपछि पूर्व माओवादीहरूको पदमा निर्वाचन हुन लागेको हो ।
ओलीले विष्णु पौडेल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा, सुवासचन्द्र नेम्वाङलाई सर्वसम्मत उपाध्यक्ष बनाउन प्रस्ताव गरेका थिए। उनीहरूविरूद्ध उपमहासचिव घनश्याम भुसालले सोमबार उम्मेदवारी दिएका छन्। यसबाट घनश्याम भुसालले रामबहादुर थापाका लागि चुनौती थपेको देखिएको छ ।
सचिवमा पनि चुनाव हुँदा त्यहाँ रहेका पूर्व माओवादीहरूलाई चुनौती थपिएको हो ।सचिवमा ओलीले टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्याललाई प्रस्ताव गरेका थिए।
ओलीको प्रस्तावमा असहमति जनाउँदै भीम आचार्य र टंक आचार्यले उम्मेदवारी दिएपछि पूर्व माओवादीहरूका लागि चुनौती थपिएको हो ।
ओलीले दिएको विश्वास अनुसार सबै पूर्व माओवादीहरू तत्पदमा निर्वाचनमा जिताएर ल्याउन नसकिए उनले विश्वासघात गरेको ठहर्छ ।
तर ओली पक्षीयको बहुमत रहेकाले पूर्व माओवादीहरूले निर्वाचनमा जित्ने विश्वास गरिएको छ ।








