प्रधानन्यायाधीस राणालाई कोरोना संक्रमणपछि ‘सर्वोच्च संकट’ सकिएला ?
काठमाडौैं । चिकित्सकले बताए अनुसार सोमबार बिहान कार्यालय आउनु अघि सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा काठमाडौंको बलम्बु स्थित सशस्त्र प्रहरी बलले सञ्चालन गरिरेहेको अस्पतालमा पुगेका थिए, कोरोना संक्रमणको आशंका भएपछि ।
अस्पतालमा स्वाब दिएपछि सर्वोच्च अदालत आइपुगेका उनी साँझ फेरि अस्पताल फर्किए ।
कोरोना परिक्षणमा उनी पोजिटिभ देखिए । थप स्वास्थ्य परीक्षणका क्रममा उनलाई निमोनिया समेत भएको देखिएपछि अस्पतालमै भर्ना गरेर उपचार गरिरहेको डा. प्रविण नेपालले बताए ।
अहिलेसम्म अस्पतालले स्वास्थ्य र सुरक्षाको दृष्टिले उच्च प्राथामिकतामा राखिएका प्रधानन्यायधीशलाई कसरी कोरोना संक्रमणमा परे भन्ने विषयमा केही बताएको छैन । अन्य अस्पताल हुँदा पनि राणा आफैले किन सुरक्षा निकायले सञ्चालन गरेको अस्पताल रोजेकोमा केहीले आशंका समेत गरेका छन् ।
प्रधानन्यापधीश राणालाई कोरोना पुष्टि हुनु अगाडिदेखि नै उनले राजीनामा दिनुपर्ने दबाव झेलिरहेका छन् । बुधबारदेखि सर्वोच्चले गोला प्रथा मार्फत मुद्धा सुनुवाईको प्रक्रिया थालनी गर्दैछ । यो संगै कुन न्यायधीशलाई कुन मुद्दाको सुनुवाई गर्न दिने भन्ने प्रधान न्यायधीशमा निहीत अधिकारमा व्यापक कटौती भएको छ ।
सर्वोच्च प्रशासनले नियमावली संसोधन गरेर प्रधानन्याधीशको अधिकार कटौती भएको भएपनि आन्दोलनरत न्यायधीशले राणासंगै बसेर मुद्दाको सुनुवाई गर्न सहमत भएका छैनन् ।
नेपाल बार एसोसियसनसंग आवद्ध वकिलहरूको जस्तै राणाले पदबाट राजीनामा दिनुपर्ने न्यायाधीसहरूको अडान कायमै छ । यसले पनि प्रधानन्यायधीश माथि अत्याधिक दवाव परेको छ । उनी विकल्पहीन जस्तै बनेका छन् ।
ओली सरकारमा रहेको बेला विवादस्पद संवैधानिक परिषद ऐनलाई संसोधन गर्न ल्याएको अध्यायदेशलाई सदर गरेर सोही अध्यायदेश अनुसार आफनो कोटामा नजिकका नातेदारलाई नियुक्ति दिलाउन सफल राणाले उनी आफैले पुनस्र्थापना गरेको संसदबाट प्रधानमन्त्री बनेका देउवासंग पनि ‘बार्गेनिङ’ गरिरहे ।
फलस्वरुप, आफ्नो जेठान गजेन्द्र हमाललाई आपूर्ति मन्त्री बनाए । चर्को जनदबावसंगै हमालले पदबाट राजीनामा दिएपछि प्रधानन्यायधीश राणा थप संकटमा फसेका थिए ।
त्यस लगत्तै उनले हमाल आफ्नो जेठान रहेका समेत स्वीकारे । यसले उनलाई थप रक्षात्मक बनायो । अर्को तर्फ सहकर्मी न्यायाधीशले नै बेन्च बहिस्कार गरे । करिब तीन सातको बेन्च बहिस्कारपछि उनीहरू सर्त सहित नियमित काममा फर्किए ।
प्रधान न्यायधीश राणासंग एउटै बेन्चमा बसेर मुद्दाको सुनुवाई नगर्ने र जर्र्बजस्ती बेन्च तोकेमा चिट्ठा प्रणाली नमान्ने जस्ता सर्तले प्रधानन्यायधीसले विदामा बस्ने मनस्थिति बनाएका थिए । सर्वोच्च निकट श्रोतको अनुसार प्रधानन्यायाधीश राणाले निकै कमजोर महसुस गरिसकेका छन्, जारी आन्दोलन र चौतर्फी असहयोगका कारण ।
नेपाल बारले आन्दोलन जारी राखेको अवस्थामा सत्तारुढ गठबन्धनले राणालाई कि त बारलाई सहमतिमा लिन नभए राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरिसकेको छ । यस्तो बेलामा कोरोना संक्रमण भएका प्रधानन्यायधीश राणाले के गर्लान भन्ने चौतर्फी चासो छ ।
आन्दोलनरत बारका प्रतिनिधीहरू भने प्रधा न्यायधीश राणा फेरि सर्वोच्च अदालतमा नआउने र वरिष्ठ न्यायाधीशले सर्वोच्चको नेतृत्व सम्हाल्ने बताउँछन् । न्यायधीशहरूले पनि राणाले न्यायालयको गरिमा जोगाउन नसकेकाले मार्ग प्रशस्त गरेर वरिष्ठ न्यायधीशले न्यायालयको नेतृत्व लिनुपर्ने धारणा आन्तरिक रुपमा राख्दै आएका छन् ।
प्रधान न्यायधीशले गोला तानेर आफुसंगै सुनुवाई गर्न लगाए आफूहरूलाई मान्य नहुने न्यायाधीशको अडानले समेत वरिष्ठतम् न्यायाधीशले नेतृत्व लिए विद्यमान संकट सामाधान हुने संकेत गर्दछ ।
त्यसो भएको खण्डमा नेपाल बार एसोसियसन पनि नियमति काममा फर्कने वकिलहरूको भनाई छ । मंगलबार विज्ञप्ती जारी गर्दै नेपाल बार एसोसियसनले गोला प्रथा मार्फत उच्च र जिल्लामा पनि सुनुवाई गर्नुपर्ने माग गरेको छ ।
वरिष्ठ न्यायधीशले कायम मुकायम प्रधान न्याधीशको हैसियतमा पेशी तोकेमा न्यायाधीश र आन्दोलन वकिलहरु पनि इजलासमा फर्कन सक्ने बार प्रतिनिधीहरूको भनाई छ ।
“मेरो विचारमा प्रधान न्याधीश फेरि सर्वोच्च अदालतमा फर्कनु हुदैन,” वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले भने, “अब भोलि देखि वरिष्ठतम् न्यायधीशले सर्वोच्चको काम कारबाही अगाडि बढाउनु हुन्छ । प्रधानन्यायाधीश फर्किए त फेरि आन्दोलन भइहाल्छ ।”








