१३ बैशाख २०८१, बिहिबार

रोल्पामा नेतृत्वको ‘ग्रुमिङ’ गर्दै एमाले

प्रकाशित मिति :  1 December, 2021 3:00 pm


काठमाडौं । गत वैशाख १० गते बसेको नेकपा एमाले महाधिवेशन आयोजक कमिटी बैठकले रोल्पा उवाका नवीन रोकामगरलाई इन्चार्जको जिम्मेवारी दियो ।

माओवादी खेमाका रामबहादुर थापा ‘बादल’समूहबाट एमालेमै रहेका नवीनले इन्चार्जको जिम्मेवारी पाए । अध्यक्ष केपी शर्मा ओलीले पूर्व माओवादी मात्रै भनेर इन्चार्जको जिम्मेवारी दिए वा थप बुझेर दिए त्यो स्पष्ट छैन तर नवीनको जिम्मेवारी रणनीतिक अर्थ बोक्थ्यो । रोल्पामा नेतृत्वको असन्तुलन छ । ‘माओवादीको आधार इलाका’ मानिएको रोल्पामा पश्चिम रोल्पा स्थायी ठेगाना भएको नेतृत्व हाबी छ ।

गत निर्वाचनमा संघीय र प्रदेशमा सबै माओवादी केन्द्रले जितेको छ र सबै नेतृत्वको ‘ओरिजिन’ पश्चिम रोल्पा अर्थात संघीय निर्वाचन क्षेत्र एउटै हुनुभन्दा पहिलेको निर्वाचन क्षेत्र नम्बर २ हो ।

रोल्पा क्षेत्र नम्बर १ बाट प्रतिनिधित्व गर्ने गर्ने माओवादीका नेता चुनाव लड्न कृष्णबहादुर महरा दाङ झरेपछि पूर्वी रोल्पा माओवादी ‘नेतृत्वविहीन’को अवस्थामा छ । माओवादी केन्द्रका स्थानीय नेताका अनुसार झक्कु सुवेदी, जोखबहादुर महरा ‘काठमाडौं मै हराए’पछि त्यसको अभाव पूर्वी रोल्पाले खेपिरहेको छ ।

मुख्य प्रतिस्पर्धी माओवादीमा यी पृष्ठभूमि मनोविज्ञान तयार भएका बेला एमालेले केन्द्रीय सदस्य र इन्चार्जको जिम्मेवारी पूर्वी रोल्पामा दियो भने अध्यक्ष पश्चिम रोल्पालाई । यी प्रयास हेर्दा प्रत्यक्षतर्फ रोल्पामा अहिलेसम्म रोल्पामा चुनाव जित्न नसकेको एमालेले केही फरक तरिका अपनाउन सुरु गरेको आकलन भएको थियो ।

पार्टी विभाजनले फेरिएको दृश्य

नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्ने सहमतिसहित मोर्चा बनाएर २०७४ को संघीय प्रदेश चुनाव लडे । एमालेले रोल्पामा सबै अर्थात १ संघीय र २ प्रदेशको सिट माओवादी केन्द्रलाई छोडिदियो । सबैमा माओवादी केन्द्र विजयी पनि भयो । जब सर्वोच्च अदालतले दुई पार्टीलाई साबिककै अवस्थामा फर्कायो तब रोल्पामा केही दृश्य फरक बन्यो ।

एमालेले रोल्पामा स्थानीय तहमै संगठन सुदृढीकरण अभियान चलायो भने पटक पटक स्थानीय तहमा कार्यक्रमहरू   गरिरहयो । काठमाडौंबाट अध्यक्ष केपी शर्मा ओलीले रोल्पामा चुनावी हाँक दिइरहे भने अहिलेका महासचिव र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले अब रोल्पा रुकुममा एमालेले चुनाव जित्ने भन्दै ओलीको बोलीमा बल दिए ।

सम्भवत : रोल्पा र रुकुममा एमाले राजनीतिक रूपमा आक्रमक बन्न खोज्नु माओवादीमाथि नैतिक दबाव हाल्न पनि हुनसक्छ । एमालेले चुनावमा जितिहाल्ने अवस्था तयार भयो त भन्न त अहिले नै गाह्रो छ  यद्यपि आफ्नो संगठन सुदृढीकरणसहित पहुँच बढाउने प्रयास स्पष्ट देखिन्छ ।

विगतमा कमजोर भूमिका

एमालेमा रोल्पाले केन्द्रीय तहमा भूमिका पाउन थालेको ८ औं महाधिवेशनबाट मात्रै हो । ८ औं महाधिवेशनबाट गोकुल घर्ती वैकल्पिक केन्द्रीय सदस्य बने ।

घर्ती नवौं महाधिवेशनबाट केन्द्रीय सदस्य र वैकल्पिक पोलिटब्यूरो सदस्य समेत बने । रोल्पामा संगठन विस्तार हुन नसक्नु, चुनाव जित्ने हैसियतमा नपुग्नु र माओवादीको जर्बजस्त प्रभाव हुने जस्ता कारणले पनि एमाले केन्द्रीय नेतृत्वको नजर रोल्पामा पुग्न सकेको थिएन अथवा हिनता बोध थियो ।

दशौं महाधिवेशनबाट निर्वाचित भएका केन्द्रीय सदस्य गोकुल घर्तीले भने,“हो रोल्पामा संगठन सानो हुनु, भनेजसरी विस्तार गर्न नसक्नु र प्रभाव कम हुने जस्ता कारणले केन्द्रमा रोल्पाको प्रतिनिधित्व कमजोर नै थियो, चाहेर पनि समेट्न नसक्ने अवस्था थियो ।”

संसदमा रिना नेपाली सांसदसम्म बनिन् भने घर्ती सचेतकसम्म भए । १० औं महाधिवेशनबाट एमालेको केन्द्रीय कमिटीमा रोल्पाको हैसियतमा केही बढोत्तरी भएको छ । पदाधिकारीमा लुम्बिनी प्रदेशको दबदबा रहँदा रोल्पाका ४ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् । जसमा पूर्वपत्रकार इश्वरी घर्ती केन्द्रीय कमिटीमै सबैभन्दा कम उमेर(३२)की केन्द्रीय सदस्य बनेकी  छन् ।

घर्तीले भने हो,“यसपटक रोल्पाबाट उपस्थिति राम्रो बनेको छ, पुरानो नेतृत्वको हिसाबले कुमार दसौंदी, युवा तथा महिलाबाट इश्वरी जी र पूर्वमाओवादीबाट नवीन जी रहनुभएको छ यो राम्रो हो ।”

नेतृत्वको ग्रुमिङ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोख्रेलले रोल्पा रुकुममा चुनाव जित्ने हाँक हालिसकेका छन् । यसका लागि सुदृढ संगठन र नेतृत्वको विकास एमालेका लागि रोल्पामा अनिवार्य थियो ।

उपराष्ट्रपति, दुईजना सभामुख, मुख्यमन्त्री, मन्त्रीहरू पार्टीमा समेत पकड जमाइरहेका माओवादी केन्द्रका नेतासँग टक्कर लिनका लागि एमालेले पनि रोल्पामा नेतृत्वको विकास गर्न आवश्यक थियो जुन केही ढिलो भएको स्थानीय नेताहरूको स्वीकारोक्ति छ । सायद यो कमजोरी १० औं महाधिवेशनबाट एमालेले सच्याउन सुरु गरेको छ ।

घर्ती भन्छन्,“ होे यसपटक केन्द्रीय नेतृत्वले रोल्पालाई ग्रुमिङ गर्न खोजेको देखियो जसका कारण ४ जना केन्द्रीय सदस्य निर्वाचित हुन सकेका छौं, पार्टी नेतृत्वले विश्वास गरेपछि अब हामीलाई पनि चुनौती थपिएको छ ।”

रोल्पामा पछिल्लो समय संगठन विस्तार हुनु, माओवादीबाट पनि एमालेमा कतिपय नेता कार्यकर्ता आउनु र क्रियाशीलता बढ्दै जानुले पनि अवसर तयार भएको घर्तीको आकलन छ ।



प्रतिक्रिया दिनुहोस !