नक्कली अन्तःशुल्क स्टिकर प्रयोग गरेका दुई उद्योग निलम्बनमा
काठमाडौं । आन्तरिक राजश्व विभाग तथा नियमनकारी निकाय राजस्व अनुसन्धान विभागले नक्कली अन्तःशुल्क स्टिकर प्रयोग गरी राजस्व चुहावट गर्ने दुई उद्योगलाई कारवाही गर्ने भएका छन् ।
भारतबाट नक्कली अन्तःशुल्क स्टिकर ल्याएर प्रयोग गर्ने यी क्रिस्टल बोटलर्स प्रालि र माउन्ट एभरेस्ट डिस्टिलरी प्रालि विरुद्ध राजस्व अनुसन्धान विभागले ५ करोड ५६ लाख रुपैयाँ बिगो मागदाबी गरेको हो ।
यी दुई उद्योगििवरुद्ध अनुसन्धानलगायतका प्रक्रिया सकिएपछि राजस्व अनुसन्धान विभागले जम्मा ५ करोड रुपैयाँको बिगोदाबीसहित राजस्व चुहावटको मुद्दा दायर गरेको छ । यता आन्तरिक राजस्व विभागले चाहिँ उनीहरुको लाइसेन्स नै निलम्बन गरेको छ ।
कात्तिक ३० गते राजस्व अनुसन्धान विभागले नक्कली अन्तःशुल्क स्टिकर प्रयोग गरेका दुई कम्पनीविरुद्ध बुटवल उच्च अदालतमा मुद्दा दायर गरेको थियो ।
क्रिष्टलले रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा उद्योग राखी मदिरा उत्पादन तथा बिक्री व्यवसाय सञ्चालन गर्दै आएको थियो। विभागले यस कम्पनीका संचालक फुलसिंह क्षेत्रीलाई अभियुक्त बनाएर मुद्धा दायर गरेको छ ।
यस्तै, माउन्ट एभरेष्ट डिष्टिलरीका सञ्चालक मृगेन्द्र गोविन्द श्रेष्ठ र रुपन्देही सिद्धार्थनगर नगरपालिका मोहम्मद सहिद अन्सारीलाई मुख्य अभियुक्त बनाइएको छ । कुल १२ जनाविरुद्ध विभागले उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा मुद्दा दायर गरेको हो।
यता आन्तरिक राजश्व विभागका महानिर्देशक शोभाकान्त पौडेलअनुसार यहि मंसिर १० गते गरेको निर्णयबमोजिम दुवै कम्पनीको लाईलेन्स नै निलम्बन गरिएको छ ।
दुई उद्योगले नक्कली अन्तःशुल्क स्टिकर प्रयोग गरी राजस्व छली गरेको विषयमा दुवै विभागले अनुगमन गरिरहेका थिए।








