१५ चैत्र २०८०, बिहिबार

कांग्रेस अधिवेशनः प्रदेश नं १ का सभापतिमा थापा, बागमतीमा बानियाँ

प्रकाशित मिति :  6 December, 2021 7:12 am


काठमाडौं ।नेपाली कांग्रेसको प्रथम प्रदेश नं १ अधिवेशनबाट सभापति पदमा उद्धव थापा निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनबाट उनले ८४४ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी गुरुराज घिमिरेले ८४० मत प्राप्त गरेका छन् ।

उपसभापतिमा टङ्कप्रसाद राई र रमेशजङ्ग रायमाझी, महामन्त्रीद्वय उमेश थापा र भूपेन्द्र राई, सहमहामन्त्रीमा प्रमिलाकुमारी गच्छदार, खड्ग फागो र विनोदकुमार बस्नेत विजयी भएको कांग्रेस मोरङले जनाएको छ । अन्य पदको मतगणना जारीे छ ।

त्यसैगरी नेपाली कांग्रेसको प्रथम बागमती प्रदेश अधिवेशनबाट सभापति पदमा इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन् । आइतबार सम्पन्न निर्वाचनबाट उहाँले एक हजार ८५ मत प्राप्त गरेका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी जगदिश्वरनरसिंह केसीले ९२७ मत प्राप्त गरेको निर्वाचन अधिकृत केशव काफ्लेले जानकारी दिए । १३ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।

यसअघि शनिबार सम्पन्न मतदानबाट कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेपछि बागमतीमा आइतबार पुनः मतदान भएको थियो । पहिलो निर्वाचनमा बानियाँले ९९२ मत र केसीले ८७७ मत प्राप्त गरेका थिए ।

कांग्रेसको विधानमा कुनै पनि उम्मेदवारले कूल खसेका मतमा ५१ प्रतिशतभन्दा कम प्राप्त गरेमा पुनः निर्वाचन गर्नुपर्ने प्रावधान छ ।
रासस



प्रतिक्रिया दिनुहोस !