१३ बैशाख २०८१, बिहिबार

काँग्रेसको लुम्बिनी प्रदेश सभापतिमा अमरसिंह पुन विजयी

प्रकाशित मिति :  6 December, 2021 7:51 am


बुटवल । नेपाली काँग्रेस लुम्बिनी प्रदेश सभापतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका अमरसिंह पुन विजयी भएका छन्। सोमबार बिहान सकिएको मतगणनाअनुसार पुनले ८५२ मत पाएर सभापति निर्वाचित भएका छन् । पुनका निकटतम प्रतिस्पर्धी सभापति शेरबहादुर पक्षका भरतकुमार शाहले ७६७ मत ल्याएका छन्।

पुनले शाहलाई ८५ मतान्तरले पराजित गर्दै पुन लुम्बिनीको पहिलो सभापति बनेका छन् । प्रदेश कार्यसमितिका पदाधिकारीमा एक उपसभापति बाहेक सबै पुन प्यानलका उम्मेदवार विजयी भएका छन् । सभापतिमा निर्वाचित पुन पूर्व राज्यमन्त्री, संविधान सदस्य एवं नेपाली कांग्रेस रोल्पाका निवर्तमान सभापति हुन् ।

शाह संघीय संसदको सार्वजनिक लेखा समिति सभापति हुन्। उनलाई गृहमन्त्री बालकृष्ण खाण, पुर्व गृह राज्यमन्त्री देवेन्द्रराज कँडेल, किशोर सिंह राठौर समर्थन गरेका थिए।

पुन समूहलाई केन्द्रीय सदस्य चन्द्र भण्डारी, दिपक गिरी लगायतले समर्थन गरेका थिए। उपसभापतिमा पुन समूहका भुवनप्रसाद श्रेष्ठ र शाह समूहका राजु खनाल निर्वाचित भएका छन्।

श्रेष्ठले ८४७ मत प्राप्त गरेका छन भने खनालले ७९२ मत प्राप्त गरेका छन्। महामन्त्रीमा पनि पुन समूहकै बिक्रम खनाल र सुरेन्द्रराज आर्चाय निर्वाचित भएका छन्। खनालले ८४४ र आर्चायले ८३९ मत प्राप्त गर्दै विजयी भएका छन् ।

सहमहामन्त्रीमा पनि पुन प्यानलकै बिष्णु खनाल मुस्कान र खगराज पाण्डेय विजयी भएका छन्। खनालले सर्वाधिक ८६९ मत प्राप्त गरेका छन् भने पाण्डेयले ७७६ मत प्राप्त गरेका छन्।

महिला सहमहामन्त्रीमा पनि पुन प्यानलकै निमा गिरी विजयी भएकी छन्। उनले ८३० मत प्राप्त गरेकी छन्। ​निर्वाचनमा १६ सय ३१ मत खसेको थियो ।

 



प्रतिक्रिया दिनुहोस !