यस वर्ष रोल्पाका १४ वटा खोलामा पक्की पुल निर्माण हुने
उमा केसी
रोल्पा । रोल्पाका खोलामा पक्की पुल नहुँदा आवतजावतमा सास्ती भोग्दै आएका ग्रामीण क्षेत्रका जनताको यातायात सहजताका लागि एकै पटक ठूलो संख्यामा पक्की पुल निर्माण हुन थालेका छन् ।
खहरे खोलाको वाहुल्यता रहेको रोल्पाका भित्रि सडकमा समेत बाह्रै महिना यातायात सञ्चालन गर्न विभिन्न १४ वटा खोलामा पक्की पुल निर्माण गर्न थालिएको हो ।
संघ र प्रदेश सरकारको लागतमा निर्माण गर्न थालिएका पक्की पुल निर्माण संगै रोल्पाका भित्रि सडक सञ्चालनमा सहजता हुने देखिएको छ । लुम्बिनी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय र यातायात पूर्वाधार निर्देशनालयवाट गत वर्ष जिल्लाका विभिन्न ८ स्थानमा पुल निर्माणको योजना स्वीकृत भएको थियो ।
अघिल्लो वर्ष स्वीकृत योजना मध्ये २ वटा निर्माण सम्पन्न भई उद्घाटन समेत भई सकेका छन भने वाँकी ६ वटा निर्माण चरणमा रहेका छन् । चालु आर्थिक वर्षमा संघीय सरकारवाट एक र लुम्बिनी प्रदेश सरकारबटे ५ समेत थप ६ वटा पक्की पुल स्वीकृत भएका छन् ।
चालु आर्थिक वर्ष र अघिल्लो वर्ष समेत गरि जिल्लामा १४ वटा मध्ये २ वटा निर्माण सम्पन्न भएको र वाँकी १२ वटा निर्माणको चरणमा रहेको सडक पूर्वाधार विकास कार्यालय रोल्पाले जानकारी दिएको छ ।
प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय र यातायात पूर्वाधार निर्देशनालयद्धारा निर्माण गरिएका ती पुल सडक पूर्वाधार कार्यालय रोल्पावाट कार्यान्वयन भईरहेका छन् । जिल्लाका दश वटै स्थानीय तहमा पुल निर्माण कार्य भईरहेको छ ।
आफ्नो स्थानीय तह भित्र निर्माण गरिने पुल यथासिघ्र सम्पन्न गर्न स्थानीय सरकारहरुले पनि निगरानी गरिरहेका कारण सबै पुल समयमै निर्माण हुनेमा आफुहरू आशावादी रहेको स्थानी सरकारहरूको भनाई छ ।
परिवर्तन गाउँपालिकाको माडीचौर खोलामा निर्माणाधिन पुल असार मसान्तसम्म सकिने गरि काम अघि वढेको गाउँपालिका अध्यक्ष निमकान्त डाँगीको भनाई छ । अध्यक्ष डाँगी जस्तै अन्य स्थानीय सरकारहरूले पनि पुल निर्माणका लागी निरन्तर चासो राखेका कारण निर्माण व्यवसायीले समयमै काम गर्न बाध्य भएको बताईन्छ ।
अघिल्लो वर्ष स्वीकृत योजना मध्ये लुंग्री खोला र जीवे खोला पुल निर्माण सम्पन्न भई उद्घाटन समेत भई सकेका छन् । अघिल्लो वर्ष स्वीृकत भई निर्माणको क्रममा रहेका धांसीखोला, माडीचौरखोला,घोडाचौरखोला, उवाखोला पुल निर्माण अन्तिम चरणमा पुगि सकेका छन् ।
यस वर्ष स्वीकृत पाछावाङ खोला,बाजाबाङ खोला, जुतुङखोला,माडीखोला, तार्केवाङ,लोटचौर खोला र पैसी खोला पुल निर्माणको प्रारम्भिक चरणमा रहेको सडक पूर्वाधार विकास कार्यालय रोल्पाका प्रमुख दिपक डाँगीले जानकारी दिए ।
“सुनछहरी गाउँपालिकाको फुलिवन पहिरोका कारण उवाखोला पुल निर्माणमा समस्या देखिए पनि अरु योजनाहरूमा कुनै समस्या छैन,” कार्यालय प्रमुख डाँगीले भने ।
उवा खोला जानको लागि पहिरोले सडक अवरुद्ध भएका कारण पहिरो आउनु अघि भएको काममा थप काम गर्न नसकिएको उनको भनाई थियो । सो पुल निर्माणको काम पनि केही दिन भित्रै सुरु हुने डाँगीले जानकारी दिए । जिल्लामा एकै पटक ठूलो संख्यामा पुल निर्माण हुन लागेको बताउदै सवै पुलहरू तोकिएकै समयमा पुरा हुने डाँगीको विश्वास छ ।