२६ मंसिर २०८२, शुक्रबार

भानु जन्मस्थललाई साहित्यिक पर्यटकीय क्षेत्र बनाउने श्रममन्त्री श्रेष्ठको योजना

प्रकाशित मिति :  7 December, 2021 12:43 pm


काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले राष्ट्रिय विभूति तथा आदिकवि भानुभक्त आचार्य जन्मेको तनहुँको चुँदी रम्घालाई साहित्यिक तथा पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न योजना अघि बढाएका छन् ।

भानुभक्त तनहुँमा जन्मेका हुन् भनेर गौरव गर्नु बाहेक उल्लेखनीय काम हुन नसकेको भन्दै मन्त्री श्रेष्ठले चुँदी रम्घामा पुर्वाधार निर्माण, प्राकृतिक सौन्दर्यकरणको माध्यमबाट साहित्यिक तथा पर्यटकीय गन्तव्यका रुपमा अघि बढाउने योजना अघि बढाइएके बताएका छन् ।

तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य समेत रहेका मन्त्री श्रेष्ठले भानुजन्मस्थलको साहित्यिक र पर्यटकीय महत्व भएकाले यसको संरक्षण, सम्वर्द्धन र विकासका लागि सरोकारवालाहरुसँग छलफल गरी योजनावद्ध रुपमा काम अघि बढाइने बताए ।
चुँदी रम्घालाई आकर्षक पर्यटकीय स्थलको रुपमा विकास गर्ने मन्त्री श्रेष्ठको योजनालाई इन्ट्रा–नेसनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले सहयोग गर्ने जनाएको छ । फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीले रम्घामा आदिकवि भानुभक्तको विश्वकै ठूलो पूर्णकदको सालिक निर्माण गरिने बताए ।

मन्त्री श्रेष्ठको योजना सफल बनाउन आदिकवि जन्मघर शिखर कटेरीमा विश्वकै ठूलो पूर्णकदको सालिक निर्माण गर्न लागिएको उनले बताए ।

विकसित मुलुकका प्रतिष्ठित साहित्यकारहरुका स्मृतिलाई संरक्षण गर्ने गरिएको बताउँदै अधिकारीले भानुभक्तको परिचय र योगदानलाई जीवन्त राख्न पूर्णकदको सालिक बनाउन लागिएको बताए । तनहुँमा जन्मिएको भएपनि राष्ट्रकै गौरव भएकाले आदिकवि भानुभक्तको सम्झनामा पूर्णकदको सालिक निर्माणको योजना अघि बढेको उनकाे भनाइ   छ ।

पूर्णकदको सालिक निर्माणसँगै अन्य सम्पदाहरुको संरक्षण र विकासले चुँदी रम्घाको मुहार फेरिने र आकर्षक पर्यटकीय स्थलको रुपमा विकास हुने मन्त्री श्रेष्ठको विश्वास छ ।

आदिकवि भानुभक्त आचार्यको जन्म बि.सं. १८७१ असार २९ गते तनहुँको जिल्लाको चुँदी रम्घामा भएको हो । भानुभक्तले संस्कृत भाषामा रहेको रामायणलाई नेपाली भाषामा भावानुवाद गरी रामायणलाई पठनीय बनाएका थिए ।



प्रतिक्रिया दिनुहोस !