रोल्पामा बालविवाह मुद्दाका फरार प्रतिवादी पक्राउ
प्रकाशित मिति : 9 December, 2021 5:32 pm
उमा केसी
रोल्पा । रोल्पामा बालविवाह मुद्दाका फरार दुई प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा रोल्पा नगरपालिका वडा नंं २ का दिलपुरी खड्का र वडा नंं १ का ईन्दिरा पुनमगर रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
पक्राउ परेकी खड्काले २०७५ साल वैशाख १९ गते आफ्नो १९ वर्षीय छोरा राजकुमार खड्कासंग रोल्पा नगरपालिका वडा नंं १ वस्ने १५ वर्षीया ईन्दिरा पुनमगरसंग बालविवाह गराएको अभियोगमा मुद्दा दर्ता भएको थियो ।
मुद्दा दर्ता भई अनुसन्धान प्रकृया पश्चात उनीहरूलाई रोल्पा जिल्ला अदालतले २०७५ असोज ७ गते जनही ३ महिना कैद र ५० हजार जरिवानाको फैसला गरेको थियो ।
अदालतको फैसलासंगै फरार रहेका दिलपुरी र ईन्दिरालाई बुधवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक सन्तोषकुमार केसीले जानकारी दिए ।








