भारतमा रहेका आप्रवासी नेपाली कामदारको समस्या सम्वोधन गर्न अलग्गै नीतिमा जोड
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले भारतमा रहेका आप्रवासी नेपाली कामदारको समस्या सम्वोधन गर्न अलग्गै नीति बनाउनुपर्नेमा जोड दिएका छन् ।
अन्तर्राष्ट्रिय आप्रवासी दिवस, २०२१ को अवसरमा (आइओएम) द्वारा काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले भारतमा लाखौंको संख्यामा रहेका आप्रवासी नेपाली कामदारहरुको समस्यालाई सम्वोधन गर्न अलग्गै नीति, योजना र कार्यक्रम बनाउनुपर्ने आवश्यकता रहेको बताए ।
सरकारले आप्रवासी कामदारहरुको हितलाई केन्द्रमा राखेर विद्यमान वैदेशिक रोजगार नीतिलाई पुनरावलोकन गर्ने तयारी गरेको उनको भनाई थियो । वैदेशिक रोजगार नीति समय सापेक्ष बनाउन सरोकारवाला र विज्ञहरुबाट सुझाव संकलन भइरहेको मन्त्री श्रेष्ठको भनाई छ ।
अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको श्रम शक्तिलार्इ उत्पादनमूलक र प्रतिस्पर्धी बनाउँदै बैदेशिक रोजगारीबाट आर्जित पुँजी, प्रविधि, सीप र अनुभवलार्इ उत्पादनशील परिचालन गर्ने सरकारको नीति रहेको बताउँदै वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित, सरल तथा प्रतिफलमुखी बनाउन सरकारले नीतिगत तथा संरचनागत सुधार गरिरहेको बताए ।
कोभिड–१९ महामारी कारण अन्तर्राष्ट्रिय श्रम बजारमा नेपाली श्रमिकहरुले भोगेका बहुआयामिक समस्याको तत्काल सम्बोधन गरिने उनले बताए । साथै विभिन्न मुलुकबाट नेपालमा काम गर्न आउने आप्रबासीको संख्या पनि क्रमशः वृद्धि हुँदै गएकोले उनीहरुको हकहितको रक्षाका लागि समेत ध्यान दिनु पर्ने मन्त्री श्रेष्ठकाे भनाई छ ।








