नेवार समुदायले आज योमरी पुन्हि मानाउँदै
काठमाडौं । नेवार समुदायले आज योमरी पूर्णिमा पर्व हर्षोल्लासका साथ मनाउँदैछन् । नेवार समुदायले योमरी पूर्णिमालाई योमरी पुन्हि पनि भन्ने गर्दछन् ।
नेवार समुदायको ठूलो चाडका रूपमा मनाइने यस चाडलाई खाद्य पदार्थको रसिलो चाडको रूपमा पनि लिइन्छ । योमरी नयाँ धानबाट बनेको चामलको पिठोमा, खुवा, चाकु र तिल राखि बनाइन्छ । नयाँ धान भित्र्याएको खुसीयालीमा नेवार समुदायले आज बिहान नुहाइधुवाइ गरी घरमा लिपपोत गरेर योमरी बनाउने चलन रहि आएको छ ।
योमरीमा दूधबाट बनेको खुवा र चाकु तथा तिल राखेर चामलको पिठोमा डल्लो पारेर बनाइन्छ । नयाँ धान भित्राए पछि मिठो परिकार स्वरुप बनाएको योमरी देउतालाई अर्पण गरे पश्चात खाने चलन नेवार समुदायमा रहि आएको भक्तपुरका नविन श्रेष्ठ बताउछन् ।
भर्खर बिबाह गरेकी चेलीलाई माइतीबाट उनीहरूको घरमा तिल र चाकु भरिएको योमरी सगुनका रुपमा उपहार पठाउने चलन पनि रहेको छ ।आजको दिन सबै आफन्त जम्मा भर्इ योमरी खाने चलन नेवार समुदायमा रहेको श्रेष्ठ बताउछँन् ।








