५ पुस २०८२, शनिबार

अख्तियारले मुद्दा दायर गरेपछि उद्योगीबीच चर्चा : ‘लेट सी हु इज द लक्की डग इन एफएनसीसीआई’ !

प्रकाशित मिति :  27 January, 2022 6:21 pm


काठमाडौं । “लेट सी हु इज द लक्की डग इन एफएनसीसीआई” अंग्रेजी बढी बोल्ने उद्योगी व्यापारीका एक नेताले नेपाल उद्योग वाणिज्य महासंघको अगामी दिनमा बन्ने डाइनामिक्सको बारेमा यस्तो बताएका छन् ।

उद्योगी व्यापारीहरूको राजनीति हुन्छ भन्ने कुरोको पुष्टि उद्योगी व्यापारीका दुईटा संस्था हुनुले नै गर्छ । तर यहाँको चर्चा छाता संगठनको रूपले विशेषरूपमा चिनिएको नेपाल उद्योग वाणिज्य महासंघको भविष्यबारे गरिएको टिप्पणी यो हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेसहित डेढ दर्जन सरकारी कर्मचारी तथा उद्योगी व्यापारीहरू विरुद्ध मुद्दा चलाउने गरेको निर्णयबाट उत्पन्न भएको चर्चा माझ राजधानीको कफी सपमा ती उद्योगी व्यापारीले अंग्रेजी उखानको हवाला दिँदै यस्तो बताएका हुन् ।

महानिर्देशक घिमिरेसहित उद्योगी र कर्मचारीले राज्यलाई १ अर्ब २४ करोड ४५ लाख २६ हजार ६ सय ४३ रुपैयाँ हानी नोक्सानी पु¥याएको माग दाबीसहित बुधबार विशेष अदातलत काठमाडौंमा सो मुद्दा दायर भयो ।

सो मुद्दाको घेरामा पर्ने उद्योगी व्यवसायीहरूमा नाम चलेका नै रहेकाले यो चर्चा विशेषरूपले चल्न थालेको हो ।

एफएनसीसीआईको राजनीतिलाई नियाल्नेहरूले नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा हालका विशिष्ठ सदस्य पशुपति मुरारका र पूर्व अध्यक्ष चण्डीराज ढकालबीचको प्रतिस्पर्धाले निर्माण गरेको क्षेत्रमिति डायनामिक्समा परिवर्तन आउने आंशकालाई अन्यथा लिँदैनन् ।

हालका विशिष्ठ सदस्य मुरारका अर्गनाइजेसनका निर्देशकसमेत रहेका पशुपति मुरारकाविरुद्ध अख्तियारले सबैभन्दा बढी ४९ करोड ४५ लाख माग दाबी सो मुद्दामा गरिएको छ ।

मुरारकाको कम्पनी सिद्धार्थ मिनरल्स उद्योगले अनुमतिपत्रभन्दा झन्डै १० लाख टन बढी चुनढुंगा उत्खनन गरेको अभियोग तय गरिएको छ ।

नाम चलेका उद्योगी व्यापारी अन्तर्गत एक्ला मुरारका नभइ यस प्रकरणमा सर्वोत्तम सिमेन्टका विष्णु न्यौपानेसँग १६ करोड ३१ लाख, मारुती सिमेन्टका शरद गोयलसँग २० करोड ५० लाख, अन्नपूर्ण क्वेरिजका ऋषि अग्रवालसँग ११ करोड १७ लाख बिगो भराउन दाबी गरिएको छ ।

यसैगरी महासंघकै कार्यकारिणी सदस्य उदयपुर मिनरल्स टेक प्रालिका प्रवलजङ्ग पाण्डेसँग १ करोड ७९ लाख, युनाइटेड सिमेन्ट्स प्रालिका नरेश दुगडसँग ९ करोड ६९ लाख , सोनापुर मिनरल्स एन्ड आयलका निपेस तायलसँग ६ करोड ९८ लाख, कञ्चन क्वेरिज प्रालिका भीमबहादुर थापासँग ३ करोड ८ लाख र डोलोमाइट चुनढुंगा उद्योगका मानबहादुर श्रेष्ठसँग ५ करोड ४३ लाख रुपैयाँ अख्तियारले बिगो भराइ पाउँ सहितको माग दाबी अख्तियारले सो मुद्दामा गरेको छ ।

मुद्दाको निर्णयले सफाइ दिए वा दागी बनाए त्यसको महत्वपूर्ण यी दुईका लागि अर्थहीन हुने देखिन्छ ।यो मुद्दाले नै पशुपति मुरारका र चण्डीराज ढकाल समूहको डाइनामिक्समा भने परिवर्तन आउने देखिन्छ । यस्तो अवस्थामा कोही न कोही भाग्यमानी व्यापारीको तालुमा आलु फल्ने सम्भावना देखेका अंग्रेजीमा बढी बोल्ने ती व्यापारीले अंग्रेजी उखानको सहारा लिँदै यस्तो भने ।

अंग्रेजीमा एउटा उखान छ “ एभरी डग ह्याज अ डे” यो अंग्रेजी उखानलाई हिन्दी सिनेमाको डायलग बनाउँदा “ हरेक कुत्तेका दिन आता है” लोकप्रिय भएको थियो । कुकुरसँग जोडेर हामी कहाँ उपमाको प्रयोग नीचरूपमा भनिएपनि अंग्रेजी भाषा बढी बोल्ने ती व्यापारीले यो उखानको सहारा लिँदै यस्तो भने “लेट सी हु इज द डग इन एफएनसीसीआई ।”

नेपाली समाजले मुद्दामा मामिलामा नाम आउने बित्तिकै नराम्रो भनी सोच्ने खालको छ । यति ठूला ठूला व्यापारीले यसलाई पन्छाउन नसक्नु वा तत्कालका लागि तह लगाउन नसक्नुले कतै न कतै मुरारका र ढकालको क्षेत्रमितिमा फेरबदल भएको   छ । तर कतातिर यो फेरबदल हुन्छ र यसको परिणाम आउँदा दिनमा देखिने भने पक्का हो उनले भने ।

तत्कालीन अध्यक्ष प्रदीपजंग पाण्डेलाई पुरानो मुद्दामा फसे पछि बाँकी कार्यकालका लागि अध्यक्ष बनेका मुरारकाले नै विस्तार गरेको डाइनामिक्स अनुसार वरिष्ठ उपाध्यक्षमा निर्वाचित शेखर गोल्छा महासंघको विधानअनुसार अहिले अध्यक्ष छन् । तिनै गोल्छाले गुन तिर्न शपथ लगत्तै मुरारकालाई विशिष्ठ सदस्यमा मनोनित गराउन सफल भएका थिए ।

ढकाल पाखा लगाइए । अब मुद्दाले मुरारकाले निर्माण गरेको डाइनामिक्स उनको नेतृत्वमा रहने हो वा परिवर्तन हुने त्यो त आउँदा दिनमा देखिनेछ ।



प्रतिक्रिया दिनुहोस !