५ जेष्ठ २०८१, शनिबार

नेपाल रेलवेमा तालाबन्दी

प्रकाशित मिति :  28 January, 2022 6:40 pm


काठमाडौं । नेपाल रेलवे कर्मचारी संघर्ष समितिले नेपाल रेलवे कम्पनीमा तालाबन्दी गरेको छ ।

पुराना कर्मचारीहरूलाई बिनाकारण निकालेको भन्दै रेलवे कर्मचारी संघर्ष समितिको तर्फबाट उनीहरूले तालाबन्दी गरेका हुन् ।

शुक्रबार मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित रेलवे कम्पनीको कार्यालयमा उनीहरुले तालाबन्दी गरे ।

दुई साता अघिदेखि आन्दोलनमा उत्रिएका पुराना कर्मचारीले बिहीबारदेखि सुरु गरेको दोस्रो चरणको आन्दोलन अन्तर्गत यो तालाबन्दी गरेको जनाएका हुन् । संघर्ष समितिमा आवद्धहरूले विगत १५ दिनदेखि धर्ना, प्रदर्शन गर्दै आए पनि सुनुवाइ नभएपछि तालाबन्दी गर्न बाध्य भएको उनीहरूले जनाएका छन् ।

जिल्ला प्रशासन कार्यालय धनुषामा ज्ञापनपत्र बुझाएका थिए । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले रेलवेका महाप्रबन्धक निरञ्जन झालाई कोरोना संक्रमण भएको जवाफ आलटाल गर्न दिएको भनी उनीहरूले आक्रोश पोखेका थिए ।

महाप्रबन्धक झाले रेल संचालनका लागि पुस २७ मा ५५ जना नयाँ कर्मचारीलाई दैनिक ज्यालादारीमा नियुक्त गरेयता विगतमा रेल सम्बन्धी तालिम लिएका कर्मचारीहरू चरणवद्ध रूपमा आन्दोलनमा उत्रेका हुन् ।

कम्पनीका पूर्व महाप्रबन्धक गुरुप्रसाद भट्टराईले रेल सञ्चालनका लागि भन्दै ज्यालादारीमा १ सय ५१ जना कर्मचारीलाई नियुक्त गरे । उनीहरूलाई तालिमसमेत दिन लगाएका थिए । सो तालिमका लागि रेलवे कम्पनीले झण्डै १ करोड १५ लाख रुपैयाँ खर्च गरेको थियो ।
पुराना कर्मचारीहरूले आफूहरूको पुनर्बहाली गर्नुपर्ने माग गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !