२१ बैशाख २०८१, शुक्रबार

बन्दकर्ताद्वारा दूध ढुवानी गाडीमा तोडफोड, क्षतिपूर्ति दिन नेपाल डेरी एसोसिएसन माग

प्रकाशित मिति :  28 February, 2022 2:33 pm


काठमाडौं । प्रतिनिधि सभाको आइतबारको बैठकले अमेरिकी सहयोग सम्झौता (एमसीसी) अनुमोदन गरेपछि ६ वटा कम्युनिष्ट पार्टी र २ वटा मोर्चाले आह्वान गरेको बन्दमा गाडी चलाएको भन्दै बन्दकर्ताले दूग्ध जन्य पदार्थ  ढुवानी भइरहेको गाडीमा तोडफोड गरेका छन् ।

बिहान काभ्रेको बनेपामा स्थित शुभारम्भ डेरीबाट दुग्ध पदार्थ बोकेर आएको  प्रदेश ३  ०१ ००३ क ४८२१ नम्बरको ट्याङ्करमा बिहान ६ बजे सुकेधारामा बन्दकर्ताले तोडफोड गरेका हुन् । बन्दकर्ताको तोडफोडले गाडीको अगाडीको सिसामा पूर्ण रुपमा क्षती पुगेको नेपाल डेरी एसोसिएसनका महासचिव प्रल्हाद दाहालले जानकारी दिए ।

दुग्ध क्षेत्र अति आवश्यक बस्तुको सुचीमा रहेको र विगतदेखि नै बन्द, हड्ताल, कोभिड वा अन्य जुनसुकै अवस्थामा पनि बिना रोकतोक ढुवानी भैरहेकोमा यसपटक गाडी तोडफोड एवं ढुवानीमा समेत अवरोध सृजना भएको भन्दै नेपाल डेरी एसोसिएसनले एक विज्ञप्ती जारी गर्दै तोडफोडको विरोध जनाएको छ ।

“राज्यले उच्च महत्त्वका साथ दूध तथा दुग्ध पदार्थ ढुवानीलाई एम्बुलेन्स सरह मान्यता हुने गरि बिगतको १८ दिने आम हडताल होस् या कोभिड , भुकम्प, सबै राजनीतिक दलका बन्द हडतालमा निर्वाध बिना रोकतोक दुध तथा दुग्ध बोकेका गाडी आवागमन भएकोमा यसपटक एमसीसी पास भएको बिरोधमा आठ राजनीति दलले गरेको बन्दमा काभ्रेको बनेपामा रहेको शुभारम्भ डेरीबाट बिहान दूध ढुवानीमा आउँदा काठमाडौंको सुकेधारामा बिहान ६ बजे तोडफोड गरिएको घटनाले नेपाल डेरी एसोसिएसन दुख ब्यक्त गर्दै उक्त घटनाको घोर भर्त्सना गर्दछ”, महासचिव दाहालद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

अत्यावश्यक बस्तु बोक्ने कुनै पनि सवारी साधन माथि तोडफोड नगर्न र आज तोडफोड गरिएको गाडीको क्षतिपूर्ति दिन समेत सम्बन्धित बन्द कर्ता राजनीतिक दललाई नेपाल डेरी एसोसिएसनले आग्रह गरेको छ ।

तत्कालीन प्रधानमन्त्री केपि शर्मा ओलीको पालामा राज्यले दुध तथा दुग्ध पदार्थ ढुवानीका सवारीलाई एम्बुलेन्स सरह मान्यता दिने भन्दै राष्ट्रिय दुग्ध विकास बोर्ड को नेतृत्वमा प्रतीक चिन्ह (लोगो) वितरण गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस !