१३ बैशाख २०८१, बिहिबार

पार्टी र नेतालाई सोधौं, जनता बचाउने योजना के-के छन् ?

प्रकाशित मिति :  17 April, 2022 5:29 pm


 उद्धव अधिकारी

गत आर्थिक वर्ष ०७७/०७८ मा नेपालले ३ खर्ब २३ अर्बको कृषिजन्य वस्तुको आयात गरेको थियो। चालू आर्थिक वर्ष ०७७/०७८ को पहिलो आठ महिना अर्थात् फागुनसम्ममा कृषिजन्य वस्तुको आयात २ खर्ब ७६ अर्ब पुगिसकेको छ, यसमा खाद्यान्न मात्रै ५७ अर्बको छ।

२०७७ माघमा नेपालसँग भएको विदेशी मुद्रा सञ्चिति ११ महिना २७ दिन वस्तु र सेवाको आयात गर्नसक्ने अवस्थामा थियो तर २०७८ माघसम्म आइपुग्दा ६ महिना २१ दिनको मात्र आयात थेग्न सक्ने अवस्थामा आइपुग्यो। २०७८ साउनदेखि फागुनसम्म आठ महिनामा १३ खर्ब ८ अर्ब ७३ करोड बराबरको मालसामान आयात भएको छ।

आर्थिक वर्ष०७२/०७३ मा रु १ खर्ब ५ अर्ब हाराहारी कृषिउपज आयात भएको मुलुकमा पाँच वर्षभित्र आयात तेब्बर पुगिसकेको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष ०७७/०७८ मा नेपालले ३ खर्ब २३ अर्बको कृषिजन्य वस्तुको आयात गरेको थियो। चालू आर्थिक वर्ष ०७७/०७८ को पहिलो आठ महिना अर्थात् फागुनसम्ममा कृषिजन्य वस्तुको आयात २ खर्ब ७६ अर्ब पुगिसकेको छ यसमा खाद्यान्न मात्रै ५७ अर्बको छ।

के नेपालको कृषि ओरालो लाग्नुमा बीउ,मल, सिँचाइ, प्रविधिको असहजताले मात्रै हो त ? त्यसो हो भने सबैकुरा उपलब्ध भएका वर्षमा तीन बाली लाग्ने गल खेतहरू किन बाँझै छन् ? हिमाल, पहाड, तराईका जनताको जीविकोपार्जनको मुख्य आधार खेत बारीहरू दिनानुदिन कि त घडेरी या झाडीमा परिणत हुँदैछन आखिर किन ? 

एक दिन चाँडै रोप्यो भने चाँडै फल्छ र राम्रो मूल्य पाइन्छ भन्ने आसाले धान काटेकै भोलिपल्ट धान भित्र्याउने चटारोको बीचमा मल व्यवस्थापन, बीउको जोहो र खेतालाको बन्दोबस्त गरेर हाम्रातिर कार्तिक महिनामा केराउ (मटर कोसा ) रोप्ने गरिन्छ। अझ केराउ रोप्नकै लागि खेत हिलो नहोस् भनेर १०/१५ दिन अगाडि धान बारीमा जमेको पानीलाई खाँद काटेर बाहिर पठाउने, बाली भित्र्याउने र लगाउने समयमा जनशक्ति अभाव हुने हुँदा बर्खायाममा तैयार गरेको गोठेमललाई पहिले नै धान बारीमा लगेर एकै ठाउँमा थुप्रो लगाउने जस्ता तयारी गर्ने गरिन्छ। मल, बीउ व्यवस्थापन, जमिन‌को भाडा, खनजोतदेखि गोडमेल र टिपाइ सम्मको जनशक्ति, रोग-किरा नियन्त्रण र सिँचाइसम्म हुने खर्च र समयका हिसाबले करिब आधा वर्ष एउटै बालीलाई लाग्ने गर्दछ।

फागुनको पहिलो हप्ता बारीमा मटरकोसा तैयार भएपछि राम्रो मूल्य पाउने धेरै आशा र अगाडि देखापरेको गर्जो टार्ने थोरै अपेक्षासहित विगतका वर्षमाझैं बजारभाउ बुझ्न तरकारी बजार पुगें ! प्रांगारिक उत्पादन भएर पनि सबै अर्गानिक बजारमा खपत नहुने भएकोले अन्य बजारमा जानु मेरो बाध्यता थियो।

आफ्नो बारीको जस्तै मटरकोसातर्फ देखाउँदै मैले सोधें- “साहुजी ? एक किलो मटरकोसाको मूल्य कति हो ?” उत्साहित हुँदै हँसिलो मुद्रामा साहुजीले भने- ” १०० रूपैयाँ किलो ।” शब्द ‌सकिन‌ नपाउँदै फेरि थपे- “मिलाएर लानुहोस न हजुर ।”

” मिलाएर कति हो र ?” मैले सोधें । उनले प्रतिप्रश्न गर्दै भने -“कति लाने हो र ? एक ढक(२.५ के जी ),” मैले भनें । “त्यसो हो भने ९० रूपैयाँ किलो लानुहोस न,” साहुजी बोले। 

त्यसपछि मैले भनेँ- “ठ्याक्कै यस्तै मटरकोसा मैले तपाईँलाई बिक्री गरें भने मैले केजीको कति पाउछु साहुजी ? म किसान हुँ। मसँग ४/५ सय किलो‌ मटरकोसा छ, तपाई किन्नुहुन्छ कि? भनेर सोध्न खोजेको ।”

त्यसपछि उनको अनुहारमा एकाएक देखिएको जुन दृष्य थियो, त्यो कहिल्यैँ नबिर्सने खालको थियो। त्यस्तो अनुहार लगाउँदै उनले बोलेको शब्द र हाउभाउले मानौं मलाई त्यहाँ उसका अगाडि एउटा जघन्य अपराधी, जसले त्यो जिन्दगीमा गर्नै नहुने कुकृत्य कर्म गरेको छ, जसरी प्रस्तुत गरेको क्षण सम्झँदा म त के मेरो सात पुस्ताले पनि यो कृषि पेशा नगरोस्‌जस्तो अनुभूति लिन बाध्य भएको तीतो अनुभव मैले धेरै पटक गरेको छु। एउटा गैर-कलाकारले कसरी त्यो तहको एक्सप्रेसन गर्न सक्छ होला मेरो मनले मलाई नै सोधेको प्रश्न हो यो । 

उनले अलि टर्रो भाषामा भने “चाहिँदैन अहिलेलाई हामीसँगै छ।” मनले नमान्दा नमान्दै पनि मैले फेरl सोधेँ “भोलि अथवा पर्सिसम्म त चाहिन्छ होला नि?” उनी अलमलिए र मलाई सोधे- “कतिसम्ममा दिनुहुन्छ ?”

“मलाई के थाहा र ! तपाई नै भन्नुहोस् न,” मैले भनेँ।

आदेश मिश्रित ‌स्वरमा उनले भने – “३५/ ४० रूपैयाँमा हुन्छ भने ल्याउनु ।”

मेरा बारीमा जब केही फल्छ, म अपहेलित हुने दिन आइहाल्छ। म प्रतिनिधि पात्र मात्र हुँ । यो आम नेपाली उत्पादक किसानले भोग्नुपर्ने तीतो यथार्थ हो ।

किनेर खानेको अगाडि गरेर खानेको इज्जत नै होइन भनेझैं गर्छ, मेरो समाज । हजार दुःख-कष्ट सहेर गरेको उत्पादन जब बजार पुग्छ, अर्को एउटा दुःख थपिएर १००१ हुन पुग्दछ। घटेर ९९९ हुँदैन। जबकि आफ्नो पसिना बजार पुगिसक्दा उसका सबै दुःख सकिएर खुसीको क्षण प्राप्त हुनुपर्थ्यो।‌ कम्तिमा ३/४ महिना लगाएर गरिएको प्राकृतिक उत्पादनलाई बजारले गर्ने व्यवहार र उसले प्राप्त गर्ने मूल्यका कारण कृषिमा युवाको आकर्षण होइन विकर्षण पैदा हुने वातावरण सिर्जना हुँदै गएको छ। 

छिमेकी देशहरूले उत्पादन गरेका न्यून गुणस्तरीय कृषि उपजहरू सहज रूपमा नेपाली भान्सामा पुर्‍याउन व्यापारीहरूको बलियो सन्जालले काम गरिरहेको छ। यताको सामान उता, उताको सामान यता गर्ने व्यापारीहरू रातारात मालामाल हुने, ऊ कहिल्यै घाटामा जानु नपर्ने, नाफाको वस्तु बाहेक छुँदै नछोए पनि हुने। बिचौलियालाई न घाम-पानी , न हुरी-बतास तर आफ्नो लगानी नउठेर अपहेलित हुँदै किसान भने कृषि पेशाबाटनै पलायन हुनुपर्ने बिडम्बनापूर्ण अवस्थाले उत्पादक शक्तिको मनोबल कसरी बढ्न सक्छ ? उत्पादन कसरी बढ्छ ? आयात कसरी घट्छ? बाँझो जमिन कसरी घट्छ?

देश चलाउने नेतागणहरूले गोहीको आँशु चुहाउदै कृषिको बारेमा जति घोक्रो सुकाएर भाषण गरेता पनि एकपटक कृषि पेशामा आफ्नो भविष्य निर्माण गर्छु भनेर कम्मर कसेको कुनै पनि युवा पुन: कृषि पेशामा नफर्कने गरी बजारले गलहत्याइ रहेको भेउ नपाएझैँ गरिरहेका छन् । 

जबकि कृषिप्रधान मुलुकको युवा कृषिलाई आफ्नो आदर्श पेशा बनाउन तयार भएको बेला हरतरहले त्यहाँ उसको भविष्य सुनिश्चित गरिनु पर्थ्यो । तर, कृषिको प्रबर्द्धन गर्ने जिम्मेवारीप्राप्त निकायलगायत सम्बद्ध पक्षहरूले नै असहयोग र अपहेलित गर्दै उसले आत्मसात गरेको पेशाबाट जबरजस्ती बाहिर निकाली रहँदा त्यस देशको कृषिको भविष्य के होला ? 

युवालाई आफ्नो देशमा बस्न टिक्न नदिने अनी नेपालीलाई सुखी र नेपाललाई समृद्ध बनाउछु भन्दै भाषण ठोक्ने कुरा कसरी जायज मान्न सकिन्छ ! देशभित्रै अवसरहरूको सिर्जना गर्नु त कता हो कता आफ्नै बलबुतामा अवसर निर्माण गरिरहेका युवाहरूलाई कि त कार्यकर्ता बनाएर झण्डा बोकाउने कि जीविकोपार्जन गर्नकै लागि मरुभूमिमा जान बाध्य पार्ने नीतिको अन्त्य कहिले हुन्छ? आन्तरिक रोजगारमा रमाउन चाहने युवालाई निरुत्साहित गर्दै वैदेशिक रोजगार प्रबर्द्धनको नाममा युवा निर्यात गरिरहने अनि उनैले पठाएको विप्रेषणले किनेर खाइरहने श्रृंखलाको अन्त्य कहिले र कसले गर्ने हो ?

आसन्न स्थानीय निर्वाचनमा ५ वर्षपछि मत माग्ने र दिनेहरूको भेट हुँदैछ । मत माग्ने नेताहरूलाई मत दिने किसानले यतिखेर प्रश्न गर्नैपर्छ ? युवा शक्तिलाई उत्पादनमा जोड्ने योजनाहरू के के छन् ? उत्पादक र उपभोक्ता मारमा परिरहने र बिचौलिया सँधै मोटाइरहने अवस्थाको अन्त्य कसरी र कहिले हुन्छ ? कृषिप्रधान देशको उत्पादक शक्ति किसानको गिर्दो मनोबल उँचो राख्ने योजनाहरू के के छन् ? हाम्रो कृषि उपज फल्यो कि फाल्नुपर्ने तर हजारौं किलोमिटर टाढा विदेशबाट आएका उत्पादनहरूले सहजै नेपाली भान्छामा प्रवेश पाउने अवस्थाको अन्त्य कहिले हुन्छ ? 

(लेखक खाद्यका लागि कृषि अभियानका संयाेजक हुन्।)



प्रतिक्रिया दिनुहोस !