आज इस्लाम धर्मावलम्बीले इद–उल–फित्र पर्व मनाउँदै
काठमाडौं । आज इस्लाम धर्मावलम्बीले इद–उल–फित्र पर्व मनाउँदै छन् । इस्लाम परम्परामा एकमहिने रमजान व्रत पूरा भएको भोलिपल्ट इद–उल–फित्र मनाउने परम्परा छ ।
इद इस्लाम परम्पराको यो मुख्य पर्व मानिन्छ । रमजान उर्दू (हिजरी)संवत्अनुसार नवौँ महिना हो । यसै महिनामा पवित्र इस्लाम ग्रन्थ कुरान पृथ्वीमा अवतरण भएको विश्वास गरिन्छ । यो महिनामा गरिने रोजा (व्रत)ले अल्लाह (ईश्वर)को कृपादृष्टि प्राप्त हुने धार्मिक मत छ । रमजान महिनामा दिनभरि अन्नजल केही नखाइ कठोर व्रत गरेपछि हिजरी संवत् परम्पराको १०औँ महिना सौव्वाल प्रारम्भ भएकै दिन इद मनाइन्छ ।
चन्द्रमाको गतिका आधारमा तय गरिने इदपर्व रमजान सकिएपछि सुरु हुने शुक्लपक्षमा पहिलोपटक चन्द्रमा देखिएपछि ९सामान्यत द्वितीयाका दिन० त्यसको भोलिपल्ट मनाइने इस्लाम परम्परा छ ।
सामान्यतया ३० दिन रोजा पूरा भएपछि मनाइने यो पर्वबारे तोकिएका क्षेत्रका मुख्य मौलाना ९धर्माधिकारी०ले चन्द्रमा देखिएको घोषणा गरेर भोलिपल्ट इद मनाउन आह्वान गरेपछि पर्व मनाइने हुँदा कहिलेकाहीँ फरक–फरक क्षेत्रमा दिन पनि फरक पर्ने गरेको छ ।
इदपर्वमा अल्लाह (ईश्वर)का नाममा विशेष नमाज (प्रार्थना) अदा (अर्पण)गर्ने इस्लाम परम्परा छ । इदका दिन कुरान (मुख्य धार्मिकग्रन्थ) मोल्वी (धर्मगुरु)ले वाचन गरेर सद्विचार र सत्कर्ममा रहन प्रेरित गर्छन् ।
धार्मिक परम्परामा यो मुख्य पर्व भएको हुँदा नयाँ लुगा लगाउने, सेवई (गहुँको पिठोबाट बनाइएको खाद्य वस्तु)को खिर र मिष्ठान्न परिकार खाने ख्वाउने चलन छ ।
पर्वमा बस्तीभित्रको मस्जिद (धार्मिक अनुष्ठानबाट पवित्र बनाइएको प्रार्थनास्थल)मा सबै पुरुष जम्मा भएर सामूहिक नमाज अदा गर्ने परम्परा छ । विगतका दुई वर्ष कोभिड–१९ महाव्याधि प्रकोपले सामूहिक तवरले इद मनाउन नपाएका इस्लाम धर्मावलम्बीले यसपालि बल्ल मन फुकाएर चाड मनाउन पाइएको बताएका छन् ।
इदमा इस्लाम धर्मावलम्बीले गरिब र असहायका लागि ‘जकात’ (आफ्नो कमाइको २.५ प्रतिशत कोषमा बुझाउने रकम)दिने परम्परा छ । प्रत्येक बस्तीमा रहेको मस्जिद व्यवस्थापनले यो कोष सञ्चालन गर्ने गरेको भङ्गाहा–४ रामनगरका ८० वर्षीय हाजी (मक्का मदिना गएर विशेष धार्मिक अनुष्ठान गर्नेलाई दिइने उपाधि) बिहारी अन्सारी बताउछन् । ।








