२४ बैशाख २०८१, सोमबार

उच्च भयो मुद्रास्फीति

प्रकाशित मिति :  11 May, 2022 6:47 pm


काठमाडौं । चालू आर्थिक वर्षका नौ महिनामा उपभोक्ता मुद्रास्फीति गत वर्षको तुलनामा दोब्बर भएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको २०७८/७९ को पहिलो नौ महिनाको प्रतिवेदनामा समग्र मुद्रास्फीति ७.२८ प्रतिशत रहेका उल्लेख छ ।

राष्ट्र बैंकका अनुसार २०७७ चैत मसान्तसम्म ३.१० प्रतिशत रहेको समग्र मुद्रास्फीति चैत मसान्त सम्म थप बढेर ७.२८ प्रतिशत पुगेको छ । २०७८ फागुन मसान्तमा मुद्रास्फीति ७.१४ प्रतिशत थियो ।

खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति उच्च अंकले बढेसँगै समग्र मुद्रास्फीति पनि बढेको हो। २०७७ चैत मसान्तसम्म ३.४९ प्रतिशत मात्र रहेको खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २०७८ फागुन मसान्तमा आइपुग्दा ७.५१ प्रतिशत पुगेको थियो भने चैतमा ७.४० प्रतिशत पुगेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति पनि बढेका राष्ट्र बैंकको तथ्याकं छ । २०७७ चैत मसान्तसम्म गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.७९ प्रतिशत रहेकोमा २०७८ फागुन मसान्तमा आइपुग्दा ६.८४ प्रतिशत पुगेको उक्त समूहका मुद्रास्फीति चैत मसान्तमा आइपुग्दा थप बृद्धि भई ७.१८ प्रतिशत पुगेको राष्ट्र बैंकले जनाएको छ ।

२०७७ चैत महिनाको तुलनामा २०७८ चैत महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तथा तेल, दुग्ध पदार्थ तथा अण्डा, दाल तथा गेडागुडी र सुर्तीजन्य पदार्थ उपसमूहको मूल्यवृद्धि क्रमशः २८.३६ प्रतिशत, ११.५६ प्रतिशत, १०.५३ प्रतिशत र ८.९१ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांक छ ।

गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात, शिक्षा र विविध वस्तु तथा सेवा उपसमूहको मुद्रास्फीति क्रमशः २०.१६ प्रतिशत, ८.७९ प्रतिशत र ८.१७ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

चालू आर्थिक वर्षमा देशैभर मुद्रास्फीति बढेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । चालू आर्थिक वर्षको पहिलो नौ महिनामा काठमाडौं उपत्यकामा ६.२५ प्रतिशत, तराईमा ७.६१ प्रतिशत, पहाडमा ७.७९ प्रतिशत र हिमालमा ८.२५ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७७ चैतमा यी क्षेत्रहरुमा क्रमशः ३.२४ प्रतिशत, २.९२ प्रतिशत, ३.३८ प्रतिशत र १.५४ प्रतिशत मुद्रास्फीति रहेको थियो ।
राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षमा थोक मुद्रास्फीति पनि बढेको छ । २०७८ चैत महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति १४.४२ प्रतिशत छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.१४ प्रतिशतमात्रै थियो ।



प्रतिक्रिया दिनुहोस !