१२ श्रावण २०८१, शनिबार

काेरोना पुष्टि भएकी युवतीसँगै नेपाल आएका १२५ जनाको पहिचान

प्रकाशित मिति :  24 March, 2020 6:57 pm


काठमाडौं, ११ चैत । 

फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी कोरोना भाइरस संक्रमित १९ वर्षीया युवतीसँगै विमानमा यात्रा गरेका १२५ जना यात्रुको पहिचान भईसकेको नेपाल प्रहरीले जनाएकाे छ। चैत ४ गते कतार एयरवेजको विमानमार्फत् कारोना संक्रमित युवतीसँगै काठमाडौं उत्रिएका उनीहरुको पहिचान गरिएको नेपाल प्रहरीका प्रवक्ता शैलेश थापा क्षेत्रीले जानकारी दिए।

युवतीसँगै आएका अन्यको विवरण प्रहरीले अध्यागमनसँग मागेको थियो। त्यहि अनुसार अध्यागमनले १५८ जनाको नामकाे सूची पठाएको उनले बताए। ती मध्येमा १२५ जनाको ठेगाना प्रहरीले पहिचान गरिसकेको हाे। सोही ठेगानाअनुसार स्थानीय प्रहरी र प्रशासनको सहयोगमा सेल्फ क्वोरेन्टाइनमा राख्ने तयारी भइरहेको छ’ प्रवक्ता क्षेत्रीले भने, सेल्फ क्वारेन्टाइनमा बसे वा नबसेको अनुगमनम प्रहरी र स्थानीय प्रशासनले गर्छ ।

दोहा हुदै चैत ४ गते काठमाडौं उत्रिएकी ती युवतीको चैत ९ गते कारोना संक्रमण भएको पुष्टि भएको थियो। त्यसपछि सक्रियता देखाएको सकरकारले आजदेखि लागू हुनेगरी एक हप्तासम्मका लागि लकडाउनसमेत गरेको छ।

यता, प्रहरीले सक्रियता पूर्वक सबै १५८ जनाकै ठेगाना खोज्न सुरु गरेको छ। सबैको ठेगाना पत्ता लगाउने कोसिसमा रहेकाे प्रहरीले जनाएकाे छ। कोरोना संक्रमित युवतीसँगै विमानमा आएका कोही व्यक्ति भए नजिकैको प्रहरी कार्यालय तथा स्वास्थ्य संस्थामा समेत सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ।

युवतीमा कारोना संक्रमण पुष्टि भएपछि प्रहरीले त्यसदिनको कतार एयरवेजकाे सबै उडानको विवरण माग गरेको थियो। उक्त दिन कतार एयरले भरेका तीनवटै उडानको विवरण प्रहरीलाई उपलब्ध गराएको थियो।



प्रतिक्रिया दिनुहोस !