७ जेष्ठ २०८१, सोमबार

कोभिड– १९ : प्यूठानमा जोखिम हुन नदिन तयारी तीब्र

प्रकाशित मिति :  27 March, 2020 1:35 pm


प्युठान, १४ चैत्र ।
कोरोना भाइरसको जोखिम बढेपछि प्यूठान भित्रिनेको सङ्ख्यामा वृद्धि भएको छ । गत आइतबार विपद् व्यवस्थापन समितिको बैठकले जिल्ला भित्रिनेको लागत सङ्कलन गर्न पालिकाहरुलाई आग्रह थियो । पालिकाहरुले दिएको जानकारी अनुसार करीब दुई हजार पाँच सय जिल्ला भित्रिएको बताइएको छ ।

झिमरुक गाउँपालिकामा तथ्याङ्क सङ्कलन जारी रहेको अध्यक्ष तिलक जिसीले जानकारी दिनुभयो । “ तथ्याङ्क सङ्कलन जारी रहेको छ ”, उहाँले भन्नुभयो, “ गाउँ भित्रिनेले आफ्नो स्वास्थ्य परीक्षण गर्नुपर्छ । यसका लागि आवश्यक व्यवस्था मिलाएका छौ ।” नौ बहिनी र मल्लरानी गाउँपालिकाले अन्यत्रबाट आएकाको तथ्याङ्क सङ्कलन गरिरहेको जनाएका छन् ।

कोभिड–१९ को सम्भावित जोखिम रोकथाम र नियन्त्रण गर्न यहाँका नौवटै स्थानीय तहले आफ्नो तयारी तीव्र पारेका छन् । स्थानीय प्रहरी प्रशासनले विदेशी भूमिबाट जिल्ला भित्रिएका सबै जनालाई कम्तीमा १४ दिनसम्म क्वारेन्टाइनमा रहन आग्रह गरेको छ ।

प्यूठान नगरपालिका–५ का वडाध्यक्ष लक्ष्मण भण्डारी अन्यत्रबाट गाउँ आउनेलाई अनिवार्य सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गर्दै यसका लागि सहयोग गर्न तयार रहेको बताउनुभयो ।



प्रतिक्रिया दिनुहोस !